‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा उत्कृष्ठ प्रदर्शन गरेकी निरुता ठगुन्नालाई सशस्त्र प्रहरीले एक तह बढुवा गरेको छ।
निरुतालाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको सह प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेले बुधबार दज्र्यानी चिन्ह प्रदान गरेका हुन्।
यसअघि २२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नती गरिएको थियो।
‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लवका तीन जना महिला भलिबल खेलाडीहरुलाई सशस्त्र प्रहरीले सम्मान गरेको छ।
बुधबार प्रधान कार्यालयमा आयोजित कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका हुन्।
सम्मानित हुनेहरुमा सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट छन्।
महानिरीक्षक अर्यालले लामो समयदेखि नेपाल एपीएफ क्लवमा आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरी देश र संगठनको छवी उच्च राख्न खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन्।
काभा वुमन्स भलिबल नेसन्स लिग साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न भएको थियो्।
नेपाल फाइनलमा भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो।
Shares
प्रतिक्रिया