मालदिभ्सलाई पराजित गर्दै भुटानले साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको समूह बी को खेलमा भुटानले मालदिभ्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको भुटानले दोस्रो हाफमा १ गोल खाँदा १ गोल फर्कायो।
पहिलो हाफको २१ औँ मिनेटमा भुटानले सुरुवाती अग्रता बनाएको थियो। दोर्जीको गोलमा भुटानले अग्रता लिएको थियो।
खेलको खेलको ५१ औँ मिनेटमा भुटान १० खेलाडीमा समेटियो। भुटानी गोलरक्षकले डिबक्स एरिया नजिक हातले बल छोएपछि सिधै रातो कार्ड खाँदै मैदान छाडे।
च्याम्पियनसिपमा भुटानले लगातार दोस्रो खेलमा रातो कार्ड पाएको हो। यसअघि भारतविरुद्धको खेलमा पनि भुटान १० खेलाडीमा समेटिएको थियो।
खेलको ५३ औँ मिनेटमा इसाबु फिराकको गोलमा मालदिभ्स खेलमा फर्किएको थियो। तर खेलको ८९ औँ मिनेटमा वाङ चेपोलको गोलमा भुटानले मालदिभ्सविरुद्ध पुनः अग्रता बनायो।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा भुटानले पहिलो जित निकालेको हो। जितका बावजुद पनि भुटानलाई सेमिफाइनल पुग्न अर्को खेलको नतिजामा भर पर्नु पर्ने भएको छ।
भुटानविरुद्धको हारसँगै मालदिभ्सलाई समूह चरणको दोस्रो खेलमा भारतविरुद्ध जित्नै पर्ने दबाब बढेको छ। भारतविरुद्धको खेलमा मालदिभ्स पराजित भए भुटान सेमिफाइनलमा पुग्नेछ। मालदिभ्स भने समूह चरणबाटै बाहिरिनेछ।
च्याम्पियनसिपमा भोलि बिहीबार समूह ए को अन्तिम खेलमा घरेलु टोली नेपाल र बंगलादेश भिड्नेछन्। नेपाल र बंगलादेश दुबैले सेमिफाइनलमा स्थान बनाइसकेका छन्। यो खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।
लगातार दुई खेलमा पराजित भएको श्रीलंका भने समूह चरणबाटै बाहिरिसकेको छ।
Shares

प्रतिक्रिया