एन्फा महिला लिगमा बागमती प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले दोस्रो जित दर्ता गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबारको दोस्रो खेलमा पुलिस क्लबले बागमती प्रदेशमाथि १–० को साँघुरो जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो।
खेलको ६५ औँ मिनेटमा पुलिस क्लबले सुरुवाती अग्रता बनाएको थियो। वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी निर्मला उपाध्यायको गोलमा पुलिस क्लबले अग्रता बनाएको थियो।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा पुलिस क्लबले दोस्रो जित निकालेको हो।
पहिलो हाफको १७ औँ मिनेटमा पुलिस क्लबकी कप्तान निरु थापाको पेनाल्टी प्रहार बारमा लाग्दै बाहिरिएपछि पुलिस क्लबले अग्रता बनाउने उत्कृष्ट मौका गुमायो।
बागमतीकी खेलाडीले गोललाईनमा हातले छुँदै बल जोगाएपछि पुलिस क्लबले पेनाल्टीको मौका पाएको थियो। जुन अवसरलाई अनुले सदुपयोग गर्न सकिनन्।
आइतबार नै भएको पहिलो खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशमाथि ४–० को फराकिलो जित दर्ता गर्यो।
कोसीका लागि पूर्णिमा राईले दुई तथा समिक्षा मगर र प्रतिक्षा राईले समान एक गोल गरे।
लिगमा अपराजित रहेको कोशी प्रदेशले लगातार तेस्रो जित निकाल्दै ९ अंकमा तालिकाको शीर्ष स्थानमा छ। ७ अंक भएको पुलिस क्लब दोस्रो स्थानमा यथावत छ।
Shares
प्रतिक्रिया