खेल


नेपाल कबड्डी लिगको ड्राफ्टमा ६ टिममा ८४ खेलाडी

नेपाल कबड्डी लिगको ड्राफ्टमा ६ टिममा ८४ खेलाडी

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार २२:११, काठमाडौँ

नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि टिमका प्रशिक्षक, मार्की खेलाडीको घोषणासँगै खेलाडीको ड्राफ्ट गरिएको छ। ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी छनोट गरेका छन्।

एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन्।

विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमान्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन्। बुटवलको हिमालयन रेइडर्सले दुई जना प्रशिक्षक राखेका छन्। जसमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमार छन्।

१९ औं एसियाली खेलकुदमा नेपाली महिला टिमले कांस्यपदक जित्दाकी प्रशिक्षक पार्वतीले पुरुष टिम सम्हाल्ने सम्भवत: पहिलो नेपाली प्रशिक्षक बन्ने अवसर पाएकी छन् भने भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन्।

प्रशिक्षकपछि मार्की खेलाडी घोषणा गरिँदा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा, काठमान्डुमा घनश्याम रोका मगर र पोखरामा प्रदीप मिजार परेका छन्। भारतको प्रो कबड्डी लिगमा आबद्ध घनश्याम नेपाली राष्ट्रिय टिमका कप्तान पनि हुन्।

प्रशिक्षक र मार्कीको छनोटपछि एनकेएलमा खेलाडीको ड्राफ्ट गरियो। ड्राफ्टमा ९२ जना नेपाली र २५ बिदेशी गरी कुल १ सय १७ खेलाडी रहेका थिए। बिदेशी खेलाडीमा थाइल्यान्ड, श्रीलंका, बंगलादेश र केन्याका थिए।

प्रशिक्षकहरूले आ–आफ्नो रणनीतिअनुसार ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी लिएका छन्। जसमा ६६ नेपाली र १८ जना बिदेशी खेलाडी छन्। प्रत्येक टिममा १४ खेलाडी छन्। हरेक टिमले २ देखि ४ जनासम्म बिदेशी खेलाडी लिएका छन्।

कार्यक्रमका प्रमुख अथितिका राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले भने, ‘निजी क्षेत्रबाट देशको खेलकुदको लागि ठूलो योगदान भइरहेको छ। ठूला कार्यक्रम आइरहेका छन्। यसमा एनकेएल पनि आएको छ। एनकेएलको सुरुआतले कबड्डीलाई नेपालमा विकास, विस्तार र व्यावसायिकताको मार्गमा लाने विश्वास छ।’

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित बेगानीले भने, ‘मधेशमा निक्कै लोकप्रिय खेलको रुपमा रहेको कबड्डीलाई हामीले नयाँ उचाई दिनको लागि एनकेएल ल्याएका छौं। यसले कबड्डी खेलेरै पनि खेलाडीले केही गर्नसक्छ भन्ने देखाउन चाहान्छौं। वास्तवमै हामी कबड्डीलाई एनकेएलमार्फत् व्यावसायिक खेलको रुपमा स्थापित गर्न चाहान्छौं।’

नेपाल कबड्डी लिग (एनकेएल)
विराटनगर ब्यान्डिट्स- प्रशिक्षक लोकबहादुर विष्ट, मार्की- कल्याण भुजेल
जनकपुर नाइट्स- प्रशिक्षक पार्वती राई, मार्की रामु टमाटा
काठमान्डु माभरिक्स- प्रशिक्षक सरोजकुमार सिंह, मार्की घनश्याम रोका मगर
पोखरा लेकर्स- प्रशिक्षक विष्णुदत्त भट्ट, मार्की प्रदीप मिजार
हिमालयन रेइडर्स- प्रशिक्षक सन्दीप पन्त/पोथुगान्ती सतिशकुमार, मार्की गणेश पार्की
धनगढी वाइल्डक्याट्स- प्रशिक्षक  महेश बोहोरा, मार्की पदमबहादुर विष्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad