खेलाडीहरू जित्नलाई मात्रै खेल्दैनन्, केही न केही कीर्तिमान रच्न पनि खेलिरहेका छन्। कीर्तिमानले उनीहरूको खेल करिअरमा थप उचाइ त दिन्छ नै, सँगसँगै राम्रा खेलाडीको पहिचान गर्न र उनीहरूको प्रदर्शनलाई दस्ताबेजीकरण गर्न पनि मद्दत गरिरहेको छ।
हाल काठमाडौँमा जारी नेपाल प्रिमियर लिगकै कुरा गरौँ न, मैदानमा उत्रिएका ८ वटा फ्रेन्चाइज टिमले उनीहरूको खेल रेकर्डकै आधारमा नेपाली तथा विदेशी खेलाडीहरू अनुबन्धित गरेका थिए।
सोमबारबाट एनपीएलको समूह चरणका खेलहरू सकिएका छन्। यसबीचमा ८ वटै टिमले एकअर्कासँग खेले। कतिपयको प्रर्दशन सानदार रह्यो, कतिपयको बिर्सनलायक। बुधबारबाट एनपीएल प्लेअफ चरणमा पुगेको छ। चार टिम बाहिरिए, चार टिम प्लेअफमा पुगेका छन्। फाइनलमा पुग्दासम्म अब चार खेल हुनेछन्।
अहिलेसम्म यो लिगमा खेलाडीहरूले केही यस्ता कीर्तिमान बनाएका छन्, जसलाई बिर्सन त नसकिएला तर फाइनलसम्म तोडिने सम्भावना भने कायमै छ। हामीले यहाँ अहिलेसम्म एनपीएलमा बनेका १० महत्त्वपूर्ण र रोचक कीर्तिमानको चर्चा गरेका छौँ :
सबैभन्दा उच्च स्कोर
समूह चरणका खेल सकिँदासम्म यो एनपीएलमा सबैभन्दा बढी टार्गेट रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले दिएको छ। लुम्बिनीले विराटनगरलाई १९२ रनको टार्गेट दिएको थियो।
विराटनगरले उक्त टार्गेट ८ विकेटको क्षतिमा १९.५ ओभरमा भेटाउँदै १९३ रन हान्यो। एनपीएलबाट बाहिरिए पनि यो रनसँगैको जित नै अहिलेसम्म एनपीएलको सबैभन्दा ठूलो स्कोर हो। समूह चरणमा अन्य कुनै पनि टिमले यति धेरै रन हान्न सकेनन्।
सर्वाधिक रनमा रोहित नै अगाडि
एनपीएलमा उनले ७ खेल खेल्दा २६ चौका र ११ छक्कासहित २७९ रन हानेका छन्। उनको यो कीर्तिमानलाई २३३ रनसहित चितवन राइनोजका रवि बोपराले पछ्याइरहेका छन्। चितवनकै कुशल मल्ल पनि २०२ रन पुर्याएर चौथो स्थानमा छन्।
यो एनपीएलमा यदि नेपाली खेलाडी लिगकै उत्कृष्ट घोषणा भए शारदा समूहले कार उपहार दिने घोषणा गरेको छ। बोपरा र मल्ल दुवैको टिम चितवन राइनोज हो। चितवन प्लेअफमा पुगेकाले उनीहरूसँग रोहितको यो रेकर्ड तोड्ने मौका छ। मल्लले नै रेकर्ड तोडे भने बलिङमा पनि ८ विकेट लिइसकेका उनले कार जित्ने सम्भावना पनि कायमै छ।

अहिलेसम्म एकमात्रै शतक
यो एनपीएलमा अहिलेसम्म एकजना मात्रै खेलाडीले शतक हान्न सकेका छन्। ती हुन्, अमेरिकाका विकेटकिपर ब्याटर आन्द्रेस गौस। पोखरा एभेन्जर्सबाट खेलेका उनले लुम्बिनीविरुद्धको खेलमा जादुमयी प्रर्दशन मात्रै गरेनन्, १०४ रन हान्दै नटआउट खेले। यो खेल पोखराले १० विकेटले जितेको थियो। लुम्बिनीका रोहितले सोही खेलमा ९५ रन हानेका थिए तर शतक पुर्याउन सकेनन्। रोहितको ९५ नै आन्द्रेसपछिको दोस्रो ठूलो स्कोर हो।
बढी अर्धशतक हान्ने खेलाडी
एनपीएलमा बढी अर्धशतक हान्ने खेलाडीको कीर्तिमान पनि अहिलेसम्म राष्ट्रिय टोलीका समेत कप्तान रहेका रोहितकुमार पौडेलकै नाममा छ। उनले यो एनपीएलमा पोखरा र चितवनविरुद्धको खेलमा गरेर दुई अर्धशतक हानेका छन्। उनले पोखराविरुद्ध ९५ र चितवनविरुद्ध ८० रन हानेका थिए।
चितवनका रवि बोपराले पनि दुई अर्धशतक हानिसकेका छन्। कर्णाली र पोखराविरुद्धको खेलमा उनले अर्धशतक हानेका थिए। कर्णालीविरुद्धको उनले ५९ रन र पोखराविरुद्ध ५१ रन हानेका थिए। तर, ब्याटिङ स्ट्राइक रेटका आधारमा रोहित अग्रस्थानमा छन्।

बढी छक्का हान्ने खेलाडी
क्रिकेटमा छक्काको बेग्लै महत्त्व छ। यसले रन मात्रै बढाउँदैन, दर्शकमा खेलप्रतिको रोमञ्चकता पनि बढाइरहेका छन्। त्यसैले त कीर्तिपुरमा मैदानमा यतिखेर आफूले समर्थन गरेको टिमले छक्का हान्दा, प्रशंसकहरू जोडजोड चिच्याइरहेका छन्, टिमको समर्थनमा हुटिङ गर्दै ‘सेलिब्रेट’ गरिरहेका छन्।
अहिलेसम्म छक्काको बढी सेलिब्रेसन जनकपुर बोल्ट्सका प्रशंसकहरूले गर्न पाएका छन्। कारण, सबैभन्दा बढी छक्का जनकपुरबाट खेलिरहेका न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमले हानेका छन्। उनले ६ खेलमा १५ छक्का हानेका छन्। छक्काको यो कीर्तिमानमा उनलाई पछ्याइरहेका छन्, चितवनका कुशल मल्ल। उनले ७ खेलमा १४ छक्का हानेका छन्।
सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीको रन बहिखातामा पनि ११ छक्का छ। यी तीनैजनाको टिम प्लेअफमा पुगेकाले पनि यो रेकर्डमा फेरबदल हुनसक्ने सम्भावना प्रबल छ।
सर्वाधिक विकेटटेकर
अहिलेसम्म एनपीएलमा सर्वाधिक विकेट लिने खेलाडीमा सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका न्युजिल्यान्डका स्कट कुगलाइन अगाडि छन्। उनले ७ खेलमा १५ विकेट लिएका छन्। पोखराविरुद्धको खेलमा मात्रै उनले एक्लै ५ विकेट लिएर टिमलाई रोमाञ्चक जित दिलाएका थिए। कुगलाइनपछि जनकपुर बोल्ट्सका ललित राजवंशी १३ विकेटसहित दोस्रो स्थानमा छन्। सुदूरपश्चिमले पोखरासँग खेल्नुअघिसम्म ललित नै सर्वाधिक विकेटकर्ताको अग्रस्थानमा थिए।
तेस्रो स्थानमा भने चितवन राइनोजका रिजन ढकाल छन्। उनले पनि १३ विकेट लिएका छन्। यि तीनजनाकै टिम प्लेअफमा पुगेकाले सर्वाधिक विकेटको रेकर्ड तोड्ने अवसर प्रशस्तै छ।
धेरै क्याच गर्ने खेलाडी
क्रिकेट ब्याटिङ र बलिङको मात्रै खेल होइन, फिल्डिङको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ। फिल्डिङ रेकर्डअन्तर्गत अहिलेसम्म जनकपुर बोल्ट्सका कप्तान अनिल साहले सबैभन्दा बढी खेलाडीलाई क्याच आउट गरेका छन्। उनले अहिलेसम्म १२ क्याच गरेका छन्। त्यसपछि सुदूरपश्चिम रोयल्सका नरेश बुढायर छन्। उनले ९ क्याच गरेका छन्।
सबैभन्दा ठूलो साझेदारी
यो एनपीएलको सबैभन्दा ठूलो साझेदारीको रेकर्ड पनि पोखराकै खातामा छ। लुम्बिनी लायन्सविरुद्धको खेलमा पोखराका ओपनर्स आन्द्रेस गौस र दिनेश खरेलले १७६ रनको ब्याटिङ पार्टनरसिप गरेका थिए। उनीहरू दुवै नटआउट हुँदै पोखरालाई १० विकेटले जित दिलाएका थिए।
त्यतिबेला लुम्बिनीले १७१ को टार्गेट दिएको थियो। एनपीएलमा उनीहरूले राखेको यो कीर्तिमान आगामी खेलमा पनि तोड्न सहज छैन।

एक बलमा १५ रन
यो एनपीएलमा एउटा अनौठो कीर्तिमान बन्यो। एक बलमा १५ रन बन्यो। झट्ट सुन्दा पत्याउन गाह्रो होला तर यो एनपीएलमा यस्तै भइदियो।
विराटनगर किंग्स र चितवन राइनोजबीचको खेलमा एकै बलमा १५ रनको कीर्तिमान बनेको हो। चितवन राइनोजका बलर अमर सिंह रौटेलाले एकै बलमा १५ रन खर्चिंदै विराटनगरका बसिर अहमदलाई यो अनौठौ कीर्तिमान बनाउन सघाएका हुन्। चितवन राइनोजका बलर राउटेलाको ओभरमा विराटनगरले एकै बलमा १५ रन जोडेको हो। उनले फ्याँकेको ओभरको अन्तिम बलले यो रन बनाउन सघाएको हो।
रौटेलाको अन्तिम बलमा बसिरले छक्का हाने। उक्त बल ‘नो बल’ भयो। जम्मा सात रन आयो। त्यसपछि रौटेलाले फेरि बलिङ गर्नुपर्यो। त्यसमा बसिरले २ रन जोडे तर फेरि ‘नो बल’ नै भयो। ‘नो बल’सहित जोड्दा फेरि तीन रन आयो। रौटेलाले फेरि बल फ्याँक्नुपर्यो। त्यो बल पनि ‘वाइड’ भयो। वाइड हुँदा थप १ रन आयो। दुईपटक ‘नो बल’ र एकपटक वाइड फालेपछि चौथो प्रयासमा मात्रै उनले सही बल फाले। तर त्यो पनि बलमा पनि बसिरले चौका हान्दिए। यसरी एकै बलका लागि रौटेलाले चारपटक बलिङ गर्नुपरेपछि बसिरलाई चिठ्ठा नै पर्यो। अर्थात्, एक बलमै उनले १५ रन जोड्न सफल भए।
१८ बलमै अर्धशतक
यो एनपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीको सूचीमा अहिलेसम्म जनकपुर बोल्ट्सका अलराउन्डर जिमी निसमको नाम अग्रपंक्तिमा छ। उनले चितवन राइनोजविरुद्धको खेलमा ४ चौका र ५ छक्काको मद्दतमा १८ बलमै अर्धशतक प्रहार गरे। उनले बासिल हमिदले बलिङ गर्दा एकै ओभरमा ४ चौका र १ छक्का २४ रन हानेका थिए।
यो कीर्तिमान यसअघि पोखरा एभेन्जर्सका आन्द्रेस गौसको नाममा थियो। उनले २० बलमा अर्धशतक हान्दै कीर्तिमान बनाएका थिए। फाइनल खेलसम्म फेरि पनि यो कीर्तिमान नतोडिएला भन्न सकिन्न।
Shares

प्रतिक्रिया