एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा पाँचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु हुन लागेको हो।
प्रतियोगिताको पहिलो खेल बिहान १० बजेबाट सुरु हुनेछ। प्रतियोगितामा सहभागी हुने एक विदेशी टोली आउन ढिलाइ भएका कारण ट्राई सिट निकाल्न ढिलाइ भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए।
भारतको सुनिल भलिबल क्लब आउन ढिलाइ हुँदा ट्राई सिट बनाउन ढिलाइ भएको हो। ट्राई सिट आजै सार्वजनिक हुने प्रतियोगिता संयोजक ज्ञवालीले बताए।
प्रतियोगिताको उद्घाटन खेल भने दिउँसो साढे २ बजेबाट सुरु हुनेछ। उद्घाटन खेल महिलातर्फ आयोजक टोलीले खेल्नेछ। अरुणा शाहीको कप्तानीमा रहेको आयोजक टोलीमा ल्याइल्यान्डका ३ खेलाडी अनुबन्ध भएका छन्। विपक्षी टोलीको भने टुङ्गो लागेको छैन। पहिलो दिन ३ खेल हुनेछन्।
प्रतियोगितामा २ विदेशी टोलीसहित ६-६ टोलीले सहभागिता जनाएका छन्। विदेशी टोलीका रूपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन्। पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता हुँदैछन्।
महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन्। यसपालि आयोजकले छुट्टै महिला टिम सहभागी बनाएको छ। प्रतियोगितामा सहभागी हुन अधिकांश टोली पोखरा आइसकेका छन्। शनिबारबाट सुरु हुने पाँचौँ संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ।
प्रतियोगिताको खेल हेर्नका लागि इसेवामार्फत अनलाइनबाट टिकट काट्न सकिनेछ।
Shares

प्रतिक्रिया