नेपाल सुपर लिग (एनएसएल)को तेस्रो सिजनमा पहिलोपटक ‘मिनी अक्सन’ हुने भएको छ। एनएसएलले विज्ञप्ति जारी गरी भोलि शनिबार मिनी अक्सन हुने बताएको हो।
यसलाई खेलकुदमा नयाँ उपलब्धिको रुपमा लिइएको एनएसएलले दाबी गरेको छ। यससँगै पहिलोपटक खेलाडीको रिटेन र रिलिज नीति लागू हुँदैछ।
अक्सनका लागि सात फ्रेन्चाइज टोलीहरूलाई निश्चित मापदण्डअनुसार खेलाडी रिटेन गर्ने सुविधा दिइएको छ। प्रत्येक टोलीले ‘क्याटेगोरी ए’ बाट एक खेलाडी र ‘क्याटेगोरी बी’ बाट दुई खेलाडीसम्म रिटेन गर्न सक्नेछन्। तर ती खेलाडीहरू दोस्रो सिजनमा उनीहरूसँग अनुबन्ध भएको हुनुपर्नेछ। बाँकी खेलाडीहरू अक्सनमार्फत नै समावेश हुनेछन्।
नेपाल सुपर लिगको सञ्चालक निकाय (एनएसईएम)ले अक्सनका लागि दर्ता भएका खेलाडीको नाम फ्रेन्चाइज टोलीहरूलाई दिइसकिएको जनाएको छ। अक्सन चार घन्टाभित्र सकिने र अक्सनको नेतृत्व देवेन्द्र सुवेदीले गर्ने बताइएको छ।
मिनी अक्सनको सुरुवातसँगै एनएसएलको संरचनालाई अझ बलियो बनाउने तथा खेलाडी र समर्थकहरूका लागि रोचकता थप्ने लक्ष्य राखिएको छ। नयाँ खेलाडी रिटेन प्रणालीले आगामी सिजनमा रणनीति र प्रतिस्पर्धाको बाटो खुल्ने एनएसएलले जनाएको छ।
Shares

प्रतिक्रिया