खेल


दसौँ राष्ट्रिय खेलकुद : पूर्वाधार निर्माण खर्चको जोहो गरिँदै

दसौँ राष्ट्रिय खेलकुद : पूर्वाधार निर्माण खर्चको जोहो गरिँदै

नेपालखबर
फागुन २०, २०८१ मंगलबार २०:१६, काठमाडौँ

कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको पहिलो बैठक मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले चार बुँदै निर्णय गरेको छ।

बैठकले दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सुर्खेतमा यहि फागुन २५ स्थापना गर्ने, दसौं राष्ट्रिय खेलकुदको सह–आयोजकको रुपमा कर्णाली प्रदेश सरकार रहने व्यवस्था भएकोले सो कार्य सम्पादनका लागि अनुरोध गर्ने निर्णय गरेको छ।

त्यस्तै दसौं राष्ट्रिय खेलकुद सम्पन्न गर्नका लागि पूर्वाधार निर्माण एवं स्तरोन्नित कार्यमा खर्च गर्ने गरी खेलकुद परिषद्अन्तर्गत खर्च नहुने पूँजीगत रकममध्येबाट कर्णाली प्रदेशलाई बजेट रकम हस्तान्तरणका लागि नेपाल सरकार अर्थ मन्त्रालयमार्फत आवश्यक प्रक्रियाका लागि अनुरोध गर्ने र दसौं राष्ट्रिय खेलकुद तथा प्रथम राष्ट्रिय पारा खेलकुद सञ्चालन तथा व्यवस्थापनसम्बन्धि (पूर्व तयारी, उद्घाटन एवं खेल सञ्चालन र समापन) कार्ययोजना पेस गर्न कार्यसम्पादन समितिलाई निर्देशन दिने निर्णय गरेको छ।

सो अवसरमा राखेपका सदस्य-सचिव टंकलाल घिसिङले दसौं राष्ट्रिय खेलकुदको शीर्षकगत खर्चको विवरणलगायतका विषयमा जानकारी गराएका थिए। 

खेलकुद मन्त्री चौधरीले दसौं राष्ट्रिय खेलकुद अब कुनै हालतमा नसर्ने बताउदै सम्बन्धित सबैलाई तयारीमा जुट्न आग्रह गरे।

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले दसौं राष्ट्रिय खेलकुद कर्णालीका लागि पनि गौरवको विषय भएकाले यसलाई सफल पार्न कर्णाली प्रदेश सरकारले सरोकारवालसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए।

बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिका सभापति अम्बरबहादुर थापा, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका बोर्ड सदस्य, विभिन्न राष्ट्रिय खेल संघका, होटल एसोसिएसन नेपालका, उद्योग वाणिज्य महासंघका, विभागीय टोली, ओलम्पियन एसोसिएन अफ नेपाल, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

यहि फागुन १५ गते बसेको राखेपको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad