विश्व फुटबल महासंघ (फिफा)का पूर्वअध्यक्ष सेप ब्ल्याटर र मिचेल प्लाटिनीले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन्।
स्विट्जरल्यान्डस्थि बेसेलनजिकैको म्युटेन्जमा रहेको एक पुनरावेदन अदालतले मंगलबार दुवैलाई सफाइ दिएको हो।
उनीहरुविरुद्ध सन् २०११ मा भ्रष्टाचार गरेको आरोप थियो। २० लाख स्विस फ्रांक ब्ल्याटरले प्लाटिनीलाई दिएको आरोप थियो। यी दुवैले सन् २०२२ मा ठगीमा उन्मुक्ति पाइसकेका थिए। तर त्यसविरुद्ध स्विस संघीय अभियोजनकर्ताहरुले पुनरावेदन गरेका थिए।
सन् २०१५ मा फिफा भ्रष्टाचारको दलदलमा फसेको भन्दै त्यसयता मुद्दामामिलामा फसेको थियो। खासगरी सरकारी विभाग र खेल अधिकारीबीच घुसखोरी र भ्रष्टाचार मौलाएको, सम्पत्ति शुद्धीकरण गरेकोजस्ता आरोप लागेको थियो।
त्योसँगै ब्लाटरले पदबाट राजीनामा दिएका थिए भने त्यसपछिको वरीयतामा रहेका प्लाटिनीले फिफा अध्यक्ष बन्ने मौका गुमाउनुपरेको थियो। त्यसपछि स्विस अभियोजनकर्ताले ब्ल्याटरले प्लाटिनीलाई अवैध रुपमा पैसा दिएको अभियोग दायर गरेका थिए।
यद्यपि उनीहरुले त्यसलाई अस्वीकार गर्दै फिफाका लागि तत्कालीन यूईएफए अध्यक्ष प्लाटिनीले सल्लाहकारी भूमिका निर्वाह गरेकाले दिइएको भुक्तानी भनेका थिए। ब्ल्याटरले प्लाटिनीलाई सन् १९८८ मा आफ्नो सल्लाहकार बन्न अनुरोध गरेको र त्यतिखेर फिफाले प्लाटिनीको मागअनुसारको १० लाख स्विस फ्रांक भुक्तानी गर्नसक्ने अवस्था नरहेको बताएका थिए।
त्यसपछि वार्षिक रकम ३ लाख फ्रांकमा घटाइएको थियो भने बाँकी पछि भुक्तानी गरिएको उनीहरुको दाबी थियो। स्विट्जरल्यान्डको संघीय फौजदारी अदालतले उनीहरुबीच ‘जेन्टलमेन्ट अग्रिमेन्ट’ भएको भन्दै सफाइ दिएको थियो। तर अभियोजनकर्ता यसविरुद्ध पुनरावेदनमा गएका थिए। त्यसपछि पुनः उक्त प्रकरणमा सुनुवाइ भइरहेको थियो।
मंगलबारको फैसलापछि ब्ल्याटरले अदालतले न्याय दिएको बताए। त्यसैगरी प्लाटिनीले अब यसबारेको मुद्दा सकिएको बताउँदै धेरै खुसी भएको प्रतिक्रिया दिएका थिए। बीबीसीबाट
Shares

प्रतिक्रिया