खेल


त्रिविमा प्यारापिट निर्माण अन्तिम चरणमा, फ्लड लाइटको काम सुस्त

ठेकेरदार भन्छन्- ५५ प्रतिशत काम भयो, अब २ महिना लाग्छ
त्रिविमा प्यारापिट निर्माण अन्तिम चरणमा, फ्लड लाइटको काम सुस्त

लक्ष्मी जि.सी
साउन १२, २०८२ सोमबार २०:८, काठमाडौँ

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट निमार्णको काम सकिन लाग्दा फ्लड लाइटको काम भने सुस्त देखिएको छ।

फ्लडलाइट निर्माण गरिरहेको विशाण-ईश्वरी जोइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर सौरभ शाहले अहिलेसम्म ५५ प्रतिशत काम सकिएको दाबी गरे। निर्माण सम्पन्न गर्न अझै २ महिना समय आवश्यक पर्ने शाहको भनाइ छ।

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै केपी शर्मा ओलीले पहिलो निर्णय नै ३०० दिनभित्रमा त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट निर्माण भन्ने थियो। तर, फागुन २० गते ९० दिनमा सक्ने गरी दुवै कामका लागि छुट्टाछुट्टै कम्पनीसँग सम्झौता भयो। 

त्यो अवधिमा काम सम्पन्न नभएपछि प्यारापिट र फ्लडलाइटका लागि वैशाख २४ गतेदेखि असार मसान्तसम्मको समय थप गरिएको थियो। यो अवधिमा दुवै कम्पनीले काम सकेनन्।
 
निमार्ण कम्पनीले असार मसान्तसम्म पनि काम नसकेपछि अझै दुई महिना थप गर्न सरकारसँग माग गरेका थिए। तर, सरकारले म्याद थप नगरेर हर्जना लगाउने निर्णय गर्‍यो। योसँगै निर्माण कम्पनीले कुल सम्झौता रकमको ०.०५ प्रतिशत दैनिक हर्जना तिर्ने गरी काम गरिरहेका छन्।

अहिले प्यारापिटको काम अन्तिम चरणमा पुग्दा फ्लड लाइट जडानको काम भने ५५ प्रतिशत मात्र सकिएको छ। विशाण–ईश्वरी जोइन्ट भेन्चरले २७ करोड ४० लाख रूपैयाँमा फ्लड लाइट जडानको ठेक्का पाएको थियो। फ्लड लाइटका लागि अहिलेसम्म ३ वटा पोलहरू मात्र निर्माणस्थलमा ल्याइएको छ। 

अझै ३ वटा पोल आउनै बाँकी छ। अबको हप्ता १० दिनमा बाँकी तीन वटा पोलहरू ल्याउने शाहले बताए। नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘हाम्रो सबै सामान देश बाहिरबाट ल्याउने भएकाले काम नभएजस्तो देखिएको हो। तर काम भैरहेको छ। काम ढिला भइरहेको भनेको लाइटको कारणले हो। पोलहरू सबै आइसकेपछि लाइट जडानको काम पनि सुरु हुन्छ।’

फ्लड लाइट जडानका लागि लाइटहरू इटालीबाट ल्याउने तयारी रहेको विशाण-ईश्वरी जोइन्ट भेन्चरले जनाएको छ। 

‘फ्लड लाइटका लागि इटालीबाट लाइट ल्याउने तयारी भैरहेको छ। लाइट ल्याउने प्रक्रिया लामो हुन्छ। सर्टिफिकेट र तेस्रो पक्षको कामहरू सकिएपछि लाइट ल्याउने हो, प्रक्रिया पूरा भएपछि लाइट जडानको काम सुरु हुन्छ। लाइट आएपछि एउटा पोलको काम सक्न तीनदेखि चार दिनको समय लाग्छ’, शाहले भने, ‘इटालीबाट लाइट आएपछि २० देखि २५ दिनमा जडानको सबै काम सकिन्छ। लाइट जडानअघि तारहरू जोड्ने काम हुन्छ। तार र जेनेरेटर जोड्नका लागि अर्को ठेकेदारलाई जिम्मा दिने हो। त्यो काम सकिएपछि जेनेरेटर इन्स्टल गर्छौँ।’

फ्लड लाइट जडानका लागि ठूला क्रेनहरू चाहिने र अहिले वर्षाको समयमा अफ्ठ्यारो होला भनेर पहिला तारहरू जोड्ने कामदेखि लिएर अन्य काम गरिरहेको शाहले दाबी गरे। अहिले प्यानल हाउस र जेनेरेटरका लागि कामहरू भैरहेको र त्यो काम सकिँदासम्म लाइटहरू आइपुग्ने उनले बताए। 

‘अहिलेलाई प्यानल हाउसको कामहरू भैरहेको छ। वायरहरू अन्डरग्राउण्ड लैजाने काम भैरहेको छ। वर्षाका कारण डिलाइ भएको हो’, शाहले भने। 

तर वर्षा कै समयमा पनि १० हजार सिट क्षमताको प्यारापिट निमार्णको काम भने द्रुत गतिमा अगाडि बढेको छ। प्यारापिटको पश्चिमतर्फको ६ वटा ब्लकमध्य तीन वटा ब्लकको माथिल्लो भागको काम पनि अन्तिम चरणमा पुगेको छ। थपिएको समयमा यो काम पनि माथिल्लो भागको ६ वटै ब्लकमा बाँकी थियो। 

तर यो अवधिमा प्यारापिटको कामले गति लिएको छ। अन्य ब्लकमा पनि फिनिसिङको काम भैरहेको छ। प्यारापिट निर्माणको ठेक्का पाएको बीकेओआई–केसीडीसी–बीजी जेभीले साउन मसान्तसम्म काम सक्ने दाबी गरेको छ। 

तर फ्लड लाइट जडानका लागि भने वर्षा बाधक बनिरहेको ठेकेदार कम्पनी बताउँछ। फ्लड लाइटका लागि इटालीबाट ४ सय २० वटा लाइट आउँदैछ। निर्माण कम्पनीले एउटा पोलमा ७० वटा लाइट जडान हुन्छ। ती लाइट जडान गर्नका लागि प्राविधिकहरू कम्पनीबाट नै आउने शाहले बताए। उनीहरूको निर्देशनमा नै काम अघि बढ्ने उनले बताए।
 
फ्लड लाइटमा जडान गर्न जेनेरेटर भारतबाट ल्याइएको छ। यो प्रविधिको जेनेरेटर नेपालमा पहिलो पटक ल्याएको दाबी शाहले गरे। उनले भने, ‘यस्तो किमिसको जेनेरेटर नेपालमा पहिलो पटक ल्याएको हो। यसले पोलुसन कम गर्छ, डिजेलबाट चल्ने यो जेनेरेटरमा इन्धन पनि खपत पनि कम हुन्छ।’

साउनको २० गतेसम्ममा पोल आउने र भदौको तेस्रो साता वा अन्तिम सातासम्म काम सकेर टेस्टिङमा जाने कम्पनीको योजना छ। 

शाहले भने, ‘हामीले सोचे अनुसारको प्रक्रिया छिटो भयो भने त्योभन्दा अगाडि नै काम सकिन्छ। सामानहरू आइसकेपछि १५-२० दिनमा काम सकिन्छ। त्यसैले सामानहरू छिटो ल्याउने प्रक्रियामा छौँ। अबको १ महिनामा जडानको काम सकेर टेस्टिङको काम सक्ने र दशैँ अघि नै हस्तान्तरण गर्ने योजनामा छौँ।’ 

शहरी विकास मन्त्रालयले दुवै कम्पनीलाई अर्जना लाग्ने जानकारी गराइसकेको छ। तर कामको प्रक्रिया नै झन्झटिलो भएकाले हर्जना छुटका लागि आग्रह गर्ने निर्णण कम्पनी बताउँछ। 

‘अब हामी कामको प्रोगेस हेरेर फाइन कम गर्न आग्रह गछौँ। काम नगरेर ढिला भएको भन्दा पनि कागजी प्रक्रियाको कारण ढिला भएको हो,' उनले भने, 'त्यो उहाँहरूलाई पनि थाहा नै छ। त्यसैले अहिले हामी फाइनतिर धेरै नसोचेर कामलाई छिटो सक्ने भनेर लागेका छौँ।'

तस्बिरहरू- क्यान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad