कञ्चनपुरलाई क्रिकेटको उर्वर थलो नै मानिन्छ। यहाँका खेलाडीले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो जादुमय खेल कौशलले सबैको ध्यान तान्ने गरेका छन्।
नेपाली क्रिकेट टिममा कञ्चनपुरका थुप्रै खेलाडीले स्थान बनाउने गर्छन्। देशका लागि थुप्रै खेलाडी जन्माएको छ, कञ्चनपुरले।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनबाट खेलाडी छनोट गरिएको छ। कञ्चनपुरका १० खेलाडी यसपटकको एनपीएलमा छुट्टा छुट्टै टिमबाट क्रिकेट खेल्दैछन्।
नेपाली युवा अलराउण्डर दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सका कप्तान छन्। सुदूरपश्चिम रोयल्समा विनोद भण्डारी पनि ‘रिटेन’ भएका छन्।
कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने नेपाली राष्ट्रिय टोलीका भीम सार्की र सन्दिप जोरा पनि एनपीएलमा निरन्तरता पाएका छन्। सार्की काठमाडौं गोर्खाज र जोरा लुम्बिनी लायन्समा आबद्ध छन्।
भीमदत्त नगरपालिकाका हेमन्त धामी सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने छन्। राइट आम मिडियम फास्ट बलर धामीलाई १० लाखमा किनेको हो। उनले १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट नेपालका लागि खेलिसकेका छन्।
भीमदत्त नगरकै मिलन बोहरा पनि सुदूरपश्चिम रोयल्सबाट एनपीएलमा सहभागी हुँदैछन्। सुदूरपश्चिम प्रादेशिक क्रिकेट टोलीबाट उनले खेल खेलिसकेका छन्। दायाँ हाते तीव्र गतिका बलर आकाश चन्द पोखरा एभेन्जर्समा आबद्ध छन्।
भीमदत्त नगरका चन्दले १९ वर्षमुनिको नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। पोखरा एभेन्जर्समै किरन कुमार ठगुन्ना आबद्ध छन्। दायाँ हाते ब्याट्सम्यान ठगुन्नाले नेपाली राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन्।
युवा क्रिकेटर आदित्य महता र विकास आग्री जनकपुर बोल्टसमा आबद्ध भएका छन्। कृष्णपुर नगरका महतालाई जनकपुरले ५ लाखमा किनेको हो। उनले सुदूरपश्चिमको प्रादेशिक टोलीबाट क्रिकेट खेलेका छन्।
आग्रीलाई जनकपुरले २ लाखमा किनेको छ। उनले पनि सुदूरपश्चिमको प्रादेशिक टोलीबाट क्रिकेट खेलिसकेका छन्।
Shares

प्रतिक्रिया