आशिफ शेखको अर्धशतक र सन्दीप लामिछानेको घातक बलिङका बाबजुद अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो हार व्यहोरेको छ।
सोमबार भएको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मेलवर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको छ। सिरिजको पहिलो खेलमा नेपाल एनटीएससँग ४२ रनले पराजित भएको थियो। दोस्रो खेलमा बंगलादेश ‘ए’ टोलीसँग ३२ रनले हार भोगेको थियो।
मेलवर्नले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४४ रन मात्र बनाउन सक्यो।
नेपालका लागि ओपनर आशिफ शेखले ५३ रनको सर्वाधिक योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। उनले ४९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दा रन आउट हुन पुगे।
अर्का ओपनर कुशल भुर्तेलले १३ बलमा ४ चौका सहयोगमा २५ रन बनाउँदा क्याच आउट भए।
कप्तान रोहित पौडेल ३१ बलमा ३ चौका सहयोगमा ३३ रन बनाउँदा क्याच आउट नै हुन पुगे। कुशल मल्ल ११ रन बनाउँदा पेभेलियन फर्के। दीपेन्द्रसिंह ऐरी १ रनमा बोल्ड आउट हुँदा भीम सार्की पनि १ रनमा नै एलबीडब्लु धरापमा परे।
गुल्सन झा २ रनमा बोल्ड आउट भए। आरिफ शेख ८ रनमा अविजित रहे।
त्यसअघि अस्ट्रेलियाको डार्विनस्थित टीआइओ स्टेडियममा टस जितेर ब्याटिङ गरेको मेलवर्नले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रनको योगफल तयार पारेको थियो।
नेपालविरुद्ध मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए। थोमस रोजर्सले ६५ रन थपे।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा २६ रन खर्चे। सोमपाल कामी र शाहव आलमले समान एक विकेट लिए।
Shares

प्रतिक्रिया