खेल


सुशासन स्थापित गर्न एन्फा अध्यक्ष असफल भएको वरिष्ठ उपाध्यक्ष खड्काको आरोप

सुशासन स्थापित गर्न एन्फा अध्यक्ष असफल भएको वरिष्ठ उपाध्यक्ष खड्काको आरोप

नेपालखबर
असोज २७, २०८२ सोमबार १८:५२, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले आफ्ना अध्यक्ष पञ्कजविक्रम नेम्वाङसँग फुटबलप्रति आस्था र चिन्ता नभएको भन्दै राजीनामा दिनुपर्ने बताएका छन्।

सोमबार नक्सालमा पत्रकार सम्मेलन आयोजना गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काले वर्तमान अध्यक्ष नेम्वाङको राजीनामा माग गरेका हुन्। फुटबलमा सुशासन कायम गर्न असफल भएको र यसको विकासमा काम गर्न असमर्थ रहेकाले अध्यक्ष नेम्वाङले राजीनामा दिनुपर्ने वरिष्ठ उपाध्यक्ष खड्काको माग छ। 

वर्तमान अध्यक्ष पञ्कजविक्रम नेम्वाङको नेतृत्वमा ५ शुक्रहरू समर्थक शक्ति, सामथ्र्य सदस्य संस्थाहरू, सामूहिक विश्वास, सम्पत्ति, खेलाडी र सुशासन प्रतिवद्धता भन्ने एजेण्डासहित गत निर्वाचनमा होमिएको उल्लेख गरे। यही सूत्रमा निर्वाचित भएपनि त्यसअनुरूप काम गर्न नसकिएको उनको भनाइ छ।
 
खेलाडी र समर्थकहरू लिग गर्न मागसहित एन्फामा आएपनि नेतृत्व भागिरहेको वरिष्ठ उपाध्यक्ष खड्काको आरोप छ। उनले आफूहरूको जानकारी बिना नै ठूलो रकमको खेल सामग्री खरिद गरेको बताएका छन्। 

विश्वकप क्वालिफायरअन्तर्गत नेपाल बहराइनसँग ५-० ले पराजित भएको थियो। होम म्याच भए पनि नेपालले बहराइनको भूमिमा नै त्यो खेल खेलेको हो। तर खेलको टिकट विक्रीबाट उठेको २० हजार डलर अहिलेसम्म नेपालीलाई प्राप्त नभएको एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का बताउँछन्। त्यसैले एन्फामा अहिले सुशासन कायम हुन नसकेको उनको आरोप छ।

साथै उनले फिफाले नेपालमाथि लगाएको कन्ट्रोल फन्डिङ पनि नहटेको उनी बताउँछन्। एक लाखभन्दा मुनिको रकम मात्र एन्फाले खर्च गर्न पाउने र त्योभन्दा माथिको रकमका लागि फिफाबाट स्विकृति लिनुपर्ने अवस्था खेपिरहेको एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काले उल्लेख गरेका छन्। 

उनले जसरी पनि शहीद स्मारक ‘ए’ लिग गर्नुपर्ने औंल्याएको छ। लिग आयोजनाको दायित्व आफूहरूको पनि रहेकाले यसको आयोजना गर्नबाट नभाग्ने बताउँछन्। लिगको तयारी गर्नुपर्ने अवस्थामा अध्यक्ष नेम्बाङ विदेश पलायन भएको उनले उल्लेख गरे। यदि फुटबलप्रति आस्था र चिन्ता नभए राजीनामा दिन पनि उनले आग्रह गरेका छन्। 

अध्यक्षले बाटो खुला गरिदिए आफूहरू त्यसमा काम गर्न तयार रहेको वरिष्ठ उपाध्यक्ष खड्काको दाबी छ। आफ्नो नेतृत्वमा पछिल्लो लिग गरेको र यसपल्ट पनि लिग गर्न तयार रहेको उनी बताउँछन्। आफूले काम गर्न नसकेको अवस्थामा फुटबल छाड्न तयार रहेको वरिष्ठ उपाध्यक्ष खड्काल बताए। उनले लिगको तयारीका लागि क्लवलाई पनि आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन्। बाधा फुकुवा गर्न नसके अर्ली चुनाव गर्नुपर्ने उनको धारणा छ। 

एन्फाका सदस्य रोबिन चन्दले पनि आफू रहेको समितिबाट बजेटबारे कुनै छलफल पनि नगरेको बताएका छन्। उनले वर्तमान लिगको संरचना पनि परिवर्तन गर्नुपर्ने धारणा राखेका छन्। पटकपटक आवाज उठाउँदा पनि सुनुवाई हुन नसकेको उनको आरोप छ। एन्फाले आन्तरिक श्रोत जुटाउन नसक्दा नै लिग गर्न नखोजिएको उनी बताउँछन्। आफूलाई बाइपास गरेर एन्फा नेतृत्वले काम गरिरहेको उनले बताए।

उक्त पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्ष विराटजंग शाही र सदस्य रूपेश अधिकारी उपस्थित थिए। उनीहरूले लिग गराउने विषयमा आफूहरू सबै एक हुने पनि धारणा राखेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad