खेल


विश्वकप लिग–२ सिरिजमा नेपाल जितविहीन

विश्वकप लिग–२ सिरिजमा नेपाल जितविहीन

तस्बिरः नेपाल क्रिकेट संघ (क्यान)


लक्ष्मी जि.सी
कात्तिक १९, २०८२ बुधबार १९:९, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो हार भोग्दै आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएई भ्रमण सकाएको छ। 

युएईको घरेलु मैदानमा भएको अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको बुधबार भएको अन्तिम खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४ विकेटले पराजित भएको हो। 

नेपाल यूएईसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो।

त्यस्तै अमेरिकासँग नेपाल पहिलो खेलमा १ सय ६ रन र दोस्रो खेलमा ४ विकेटले खेल पराजित भएको थियो। 

आजको खेलमा नेपालले दिएको २ सय ४० रनको लक्ष्य युएईले ५ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। 

युएईका लागि मुहम्मद सहदादले सर्वाधिक ९६ रनको योगदान दिए। मुहम्मदले १ सय २३ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दा करण केसीको बलमा विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट भए। 

मुहम्मद वसिम ७६ रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भए। सोहेब खान २९ रन बनाउँदा ललित राजवंशीको बलमा एलबीडब्लु धरापमा परे। 
हर्षित कौशीक १३ रन बनाउँदा करण केसीको बलमा विकेटकिपर आशिफ शेखको हातबाट क्याच आउट भए। 

ध्रुव परासर २ र जाइद अलि १ रनमा अविजित रहे। 

नेपालका लागि करण केसीले ३ विकेट झारे। सन्दीप लामिछाने, ललित राजवंशी र नन्दन यादवले समान एक विकेट लिए। 

सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै ३५ रन खर्चेर १ विकेट झारे। ललित राजवंशीले १ मेडन राख्दै ४८ रन दिए। 

त्यसअघि दुबईको आईसीसी एकेडेमीमा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३९ रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि भिम सार्कीले सर्वाधिक ४८ रनको योगदान दिए। ६८ बलमा ७ चौका सहयोगमा ४८ रन बनाएका भीम  परासरको बलमा क्याच आउट भए। 

ओपनर आशिफ शेख ४८ बलमा ४ चौका सहयोगमा ३४ रन बनाउँदा रन आउट हुन पुगे। ४३ बलमा ३ चौका र १ छक्का सहयोगमा ३७ रन बनाएका दीपेन्द्रसिंह ऐरी पनि रन आउट हुन पुगे। 

आरिफ शेखले ५३ बलमा २ चौका सहयोगमा ३० रन बनाए। 

त्यसअघि दोस्रो ओभरको पाचौँ बलमा ओपनर कुशल भुर्तेल ९ बलमा २ रन बनाउँदा जाहिद अलीको बलमा विकेटकिपर आर्यान्स शर्माको हातबाट क्याच आउट हुन पुगे। 

कप्तान रोहित पौडेल ७ बलमा २ रन बनाउँदा क्याच आउट नै भए। यूएईविरुद्ध २ रन बनाएसँगै कप्तान रोहितले ७६ खेलमा २ हजार रन पूरा गरेका छन्। नन्दन यादव १ रनमा बोल्ड भए। करण केसी शून्य रनमा नै पेभेलियन फर्के। 

कुशल मल्ल अन्तिम बलअघि ४६ रनमा बोल्ड भए। उनले ५१ बलमा १ चौका र ३ छक्का प्रहार गरे। कुशलले ४५ ओभरको पहिलो बलमा जीवनदान पाए। जुनैद सिद्दीकीको बलमा कुशलको प्रहार विकेटकिपरले क्याच ड्रप गर्दा जोगिएका थिए। 

सन्दीप लामिछाने १५ र ललित राजवंशी ४ रनमा नटआउट रहे।

यूएईका लागि ध्रुव परासरले २ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र २८ रन खर्चे। जुनैद सिद्दीकी र मुहम्मद जावादुल्लहले पनि समान २ विकेट लिए। जहिद अलीले एक विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad