नेपाल प्रिमियर लिग (एनपीएल) को १४औँ खेलमा बिहीबार पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर फरक निर्णय लिए। जनकपुर बोल्ट्सविरुद्ध कुशलले पहिले ब्याटिङ गर्ने निर्णय गरे। उनको यो निर्णय अपेक्षित थिएन।
किनभने, यसअघिका १३ खेलमा टस जित्ने टोलीले पहिले बलिङ रोजेका थिए। पोखराले पनि दुवै खेलमा टस जितेको थियो र बलिङ नै रोजेको थियो। सायद बिहीबार कुशललाई यो निर्णयसँगै नतिजा पनि बदल्नु थियो।
यसअघि समान दुई खेल खेलेका दुवै टोली जितविहीन थिए। आज एउटा टोलीले लगातार तेस्रो हार व्यहोर्दा, अर्को टोलीले पहिलो अंक जोड्ने निश्चित थियो।
कप्तान कुशलको गोल्डेन डकआउटका बाबजुद पोखराले एक सय ५५ रन बनायो। सुरुको १० ओभर जुन रफ्तारमा थियो पोखराको ब्याटिङ, पछिल्लो १० ओभर त्यसरी चलेन। त्यही भएर मध्यम लक्ष्य प्रस्तुत गर्यो।
दोस्रो इनिङ्स पोखरा साविक विजेता जनकपुरलाई एक सय ५५ अगाडि नै रोक्ने लक्ष्यसहित जितको खोजिमा उत्रियो।
कुशलले सुरुमा टस जितेर ब्याटिङ रोज्ने निर्णय मात्रै फरक लिएनन्, दोस्रो इनिङ्समा अर्को फरक निर्णय थियो २८ वर्षीय बलर विपिन खत्रीलाई पहिलो बल थमाउनु। यसअघिका दुवै खेलमा पोखराका लागि पहिलो बलर थिए आकाश चन्द।
आकाशले विराटनगर किंग्सविरुद्ध चार ओभर बलिङ गर्दा एक विकेट लिँदै ४८ रन खर्चिएका थिए। जुन खेलमा विपिन टोलीमै परेनन्। दोस्रो खेल सुदूरपश्चिम रोयल्ससँग खेल्यो। यो खेलमा विपिन टोलीमा त थिए तर ओपनर बलर भने आकाश नै थिए।
आकाशले चार ओभरमा ४४ रन खर्चिएर दुई विकेट लिए। तीन ओभर बलिङ गर्न पाएका विपिनले २३ रन मात्रै दिए पनि विकेट लिन सकेका थिएनन्। सुदूरपश्चिमले दिएको एक सय ९४ रनको लक्ष्य पछ्याएको पोखरा १८ रनले पराजित हुन पुग्यो।

एनपीएलमा पोखराविरुद्ध नै सबैभन्दा बढी रन बनेको थियो। यसअघि पहिले बलिङ रोज्दा दुवै लक्ष्य भेटाउन पोखरा असफल थियो। त्यही भएर यो खेलमा पहिले ब्याटिङ गर्ने निर्णय लियो।
अघिल्लो खेलमा कम रन खर्चिएकै कारण विपिनले बिहीबार पहिलो ओभर नै मौका पाएका थिए, सायद। देब्रे हाते स्पिनर विपिनलाई कप्तान कुशलले बल थमाए। विपिनको पहिलो बलमा जनकपुरका ओपनर माज सदाकतले लेग साइडमा छक्का प्रहार गरे।
दोस्रो बलमा सदाकतले रन लिन सकेनन्। तेस्रो बलमा एक रन लिँदै आसिफ शेखलाई स्ट्राइक दिए। आसिफ नेपाली राष्ट्रिय टिमका पनि ओपनर हुन्।
विपिनको पहिलो बलमै आसिफ गोल्डेन डक आउट भए। अघि बढेर ब्याट चलाएका आसिफले बल छुन सकेनन्, विकेट किपर आडम रसिङटोनले विना गल्ती स्टम गरे र आसिफलाई पेवेलियनको बाटो देखाए।
मिडल स्टमको केहीमाथिबाट गएको बलमा आसिफले छक्का हान्ने कोसिस गरेका थिए। यसअघि पोखरा कप्तान कुशल पनि गोल्डेन डकआउट नै भएका थिए। कुशल र आसिफ राष्ट्रिय टोलीका ओपनर जोडी हुन्।
आसिफ आउट भएपछि सिजनको पहिलो खेल खेल्न जनकपुरका शुभ कंशकार आए। उनले आफ्नो पारीको पहिलो बलमा चौका प्रहार गरे। अन्तिम बललाई पनि त्यही गतिमा हान्न खोज्दा विपिनले क्लिन बोल्ड गरे।
यसरी पहिलो ओभरमै विपिनले दुई विकेट लिएपछि जनकपुर दबाबमा पर्यो। यो लयले जनकपुर जोगिएर खेल्ने दबाबमा विकेट गुमाउँदै गयो। रन बन्न सकेन।
विपिनको पहिलो ओभरले नै पोखरालाई पहिलो जितको बाटो देखायो। खेलपछि विपिनले पनि यही क्षण स्मरण गरे। ‘एउटै ओभरमा दुई विकेट गएपछि अर्को टिम ब्याकफुटमा गएको हो, त्यसलाई उत्कृष्ट मान्न सकिन्छ,’ उनले भने।

पहिलो ओभरमा दुई विकेट लिँदा खुशी लागेको उनले सुनाए। ‘विकेट टु विकेट बल राख्दा विकेट आयो। खुशी लाग्यो,’ उनले भने।
विपिनकै बलमा जनकपुरका कप्तान अनिल पेभेलियन फर्किए। आठ बल खेलेका अनिल मात्रै एक रन जोडेर क्याच आउट भए।
रन नबन्दा उनीमाथि दबाब बढ्दो देखिन्थ्यो। दबाब कम गर्न स्वीप प्रहार गर्ने क्रममा साह सातौँ ओभरको तेस्रो बलमा तृतराज दासको हातबाट क्याच आउट भए। जारी एनपीएलमा अनिलको खराब ब्याटिङ दोहोरियो।
यस्तो नतिजाले विपिन भने उत्साहित थिए। कप्तान भुर्तेलले नवौँ ओभर पनि उनैलाई थमाए।
उनी नवौँ ओभर लिएर आउनु अघि लोफिट इटन र जनकपुरका ओपनर माज सदाकत आउट भइसकेका थिए। यी दुवैलाई सुमित बर्माले नै आउट गरेका थिए।
त्यसपछि फेरि चम्किए विपिन। अनिललाई टोलीको पाँचौँ तथा आफ्नो तेस्रो विकेटका रुपमा आउट गरेका विपिनले आफ्नो चौथो विकेटका रुपमा मयन यादवलाई पेबेलियनको बाटो देखाए। नवौँ ओभरको पहिलो बलमा मयन पनि तृतराजकै हातबाट क्याच भए।
जतिबेला जनकपुरले ४३ रन मात्रै बनाएको थियो। आफ्ना प्रमुख ब्याटर आउट भइसकेका थिए। चार ओभर बलिङ गर्दा चार विकेट लिएका विपिनले मात्रै १५ रन खर्चिए।
लगातार विकेट गुमाउँदा पनि पूरै ओभर खेलेको जनकपुरले नौ विकेटको क्षतिमा एक सय ३० रन बनायो। पोखरा २५ रनले विजयी हुँदा २ अंक जोड्न सफल भयो। पोखरालाई यो जितले यसअघिको हार बिर्साउन मात्रै होइन, यही लय कायम राखे उपाधि यात्रासम्म डोहोर्याउन सक्छ।
विपिनलाई पोखराले यो सिजनका लागि रिटेन (टोलीमा सुरक्षित) गरेको थियो। गत सिजन उनी लक्की ड्र मार्फत १० लाख रुपैयाँमा पोखरामा आबद्ध भएका थिए।
‘सुरुवात राम्रो भएपनि मिडिल अर्डर कोल्याप्स भयो। त्यसपछि फिनिस राम्रो हुँदा रन जोड्न सक्यौँ’, विपिनले भने, ‘यो विकेटमा एक सय ५६ रन बनाउन गाह्रो थिएन। सुरुवातमा विकेट गयो भने रोक्न सक्छौँ भन्ने थियो, त्यस्तै भयो। सुरुवातमा विकेट लिँदा अर्को टिमलाई प्रेसर भयो र हामीलाई सजिलो भयो।’
पोखराका लागि प्रतिस्पर्धात्मक रन बनाउन भने सुमित बर्माको भूमिका महत्त्वपूर्ण रह्यो। उनले २९ बलमा ५० रन बनाउँदै नटआउट रहे। बलिङतर्फ तीन ओभरमा दुई विकेट लिएर १९ रन खर्चिए।
अब पोखराले अर्को खेल शनिबार लुम्बिनीसँग र मंगलबार कर्णालीसँग खेल्नेछ। पाँचौँ खेल काठमाडौँसँग र लिग चरणको अन्तिम खेल अर्को शनिबार चितवनसँग खेल्नेछ।
Shares

प्रतिक्रिया