खेल


मुम्बईको वानखेडेमा नेपाल गुन्जियो, चौका–छक्का बर्सियो

सुपर ८ मा पुग्न नसके पनि विश्वकपमा बने यस्ता कीर्तिमान
मुम्बईको वानखेडेमा नेपाल गुन्जियो, चौका–छक्का बर्सियो

दशौँ संस्करणको विश्वकप नेपाली समर्थकका लागि यादगार बन्यो (सरोज नेपाल)


लक्ष्मी जि.सी
फागुन ८, २०८२ शुक्रबार १८:४६, काठमाडौँ

समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराउँदै नेपालले आईसीसी टी–२० विश्वकप २०२६ को यात्रा टुङ्ग्याएको छ।समग्रमा तेस्रो र लगातार दोस्रोपटक विश्वकप खेलेको नेपाली टोलीले २ अंकमा समूह सीको पुछारमा रह्यो। 

समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई हराएपछि नेपालले दशौँ संस्करणको विश्वकप नेपाली समर्थकका लागि यादगार बनायो।

पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएपछि हारका बाबजुद पनि नेपाली समर्थकले जितकै खुसी मनाए। २ पटकको च्याम्पियन इंग्ल्यान्डलाई मैदानमा कडा चुनौती दिएको भन्दै खेलाडीहरुको प्रंशसा भयो। 

तर दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार व्यहोरेपछि नेपाली टोलीको चर्को आलोचना भयो। खराब ब्याटिङ गरेको नेपाली टोली १ सय २३ रनमा नै अलआउट भयो। 

बलिङ र ब्याटिङ दुवैमा नेपाली खेलाडी चल्न नसक्दा पहिलोपटक विश्वकप खेलेको इटालीसँग लज्जास्पद हार भोग्न पुग्यो।

तेस्रो खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजसँग नेपाली टोली ९ विकेटले पराजित भयो। लगातार तीन खेलमा हार भोगेपछि नेपाल एक खेलअगावै समूह चरणबाट बाहिरियो। 

अन्तिम खेलमा स्कटल्यान्डसँग सानदार प्रदर्शन गरेको नेपाली टोलीका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे। विश्वकपमा तीन खेलमा टस हारेको नेपाली टोलीले खेल पनि गुमायो। अन्तिम खेलमा नेपालले टस मात्र जितेन, खेल पनि आफ्नो पक्षमा पार्न सफल भयो। 

नेपालले समूह चरणका चारै खेल मुम्बईको वानखेडे स्टेडियममा खेल्यो। तर त्यसको फाइदा भने लिन सकेन। वानखेडे स्टेडियममा नेपालको खेल हुँदा कीर्तिपुरको टीयू मैदानको झल्को दिइरहेको थियो। 

वानखेडेमा गुन्जिएको ‘नेपाल.. नेपाल..’को नारा र ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो...’ कालजयी गीतले नेपाली समर्थकहरु उत्साही थिए। लाखौँ खर्च गरेर मुम्बई पुगेका समर्थक नेपाली झण्डासहित टोलीलाई समर्थन गर्न पुगेका थिए। 

समूह चरणका दुई खेलमा आफ्नो प्रदर्शनले समर्थकलाई निराश बनाए पनि नेपाली टोलीले अन्तिम खेलमा भने जितको खुसी दिन सफल भयो। 

विश्वकपमा ‘डेब्यु’ गरेका नन्दन यादवले सर्वाधिक ५ विकेट आफ्नो नाममा गरे। सोमपाल कामीले ३ तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए। रोहित पौडेल, कुशल भुर्तेल, शेर मल्ल र सन्दीप लामिछानेले समान एक विकेट लिए। 

करण केसी विकेटविहीन रहे। तीन खेलमा मौका पाएका करणले ७ ओभरमा ६८ रन खर्चिँदा विकेटविहीन रहे। सन्दीप लामिछानेले चार खेलको १३ ओभरमा १ विकेट लिँदा १ सय २३ रन खर्चे। इंग्ल्यान्डसँगको खेलमा प्लेइङ ११ मा स्थान बनाउँदै शेर मल्लले नेपालका लागि टी–२० आई क्रिकेटमा डेब्यु गरे। उनले आफ्नो डेब्यु खेलमा नै विकेट लिए। 

नन्दन यादव, लोकेश बम, शेर मल्ल र आरिफ शेखले पहिलो पटक विश्वकपमा डेब्यु गरे। बसिर अहमदले भने विश्वकप खेल्ने मौका पाएनन्।

तेस्रो पटक नेपालले विश्वकप खेल्दा वानखेडेमा बनेका केही कीर्तिमानको चर्चा यहाँ गरिएको छ। 

१२ वर्षपछिको जित
समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपाली टोलीले विश्वकपमा १२ वर्षपछि पहिलो जित दर्ता गर्यो।

स्कटल्यान्डले दिएको १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले ४ बल अगावै ३ विकेटको क्षतिमा भेट्टायो। नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा विश्वकप खेल्दा समूह चरणमा दुई जित दर्ता गरेको थियो। 

नेपालले हङकङलाई ८० र अफगानिस्तानलाई ९ रनले हराएको थियो। त्यो समय नेपाल नेट रनरेटमा पछि पर्दै समूह चरणबाट अघि बढ्न सकेन। त्यसपछि नेपाललाई विश्वकप खेल्न नै १० वर्ष लाग्यो। 

दीपेन्द्रको लगातार दुई अर्धशतक/करियरको २ हजार रन पूरा 
राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले विश्वकपमा लगातार दुई अर्धशतक पूरा गर्ने नेपाली खेलाडीको कीर्तिमान आफ्नो नाममा राख्न सफल भए। 

दीपेन्द्रले स्कटल्यान्ड र वेस्ट इन्डिजविरुद्ध लगातार दुई अर्धशतक हाने। समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध रनका लागि संघर्ष गरिरहँदा दीपेन्द्रले टोलीका लागि अर्धशतक पूरा गरेका हुन्। 

वेस्ट इन्डिजविरुद्ध दीपेन्द्रले ४४ बलमा ३ चौका २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। सो खेलमा उनले ४७ बलमा ३ चौका ३ छक्का सहयोगमा ५८ रन बनाए। 

स्कटल्यान्डविरुद्ध उनले २३ बलमा ४ चौका र ३ छक्का सहयोगमा अन्तिम ओभरको पहिलो बलमा अर्धशतक पूरा गरे। सो खेलमा उनी ५० रनमा अविजित रहे। 

नेपालले खेलेको तीन विश्वकपमा अर्धशतक पूरा गर्ने दीपेन्द्र दोस्रो खेलाडी हुन्। यसअघि २०१४ मा ओपनर सुवास खकुरेलले अर्धशतक पूरा गरेका थिए। 

विश्वकपमा लगातार दुई अर्धशतक पूरा गर्नुअघि दीपेन्द्रले टी–२० आई करियरमा आफ्नो २ हजार रन पूरा गरेका थिए। उनले इंग्ल्यान्डविरुद्धको खेलमा २ हजार रन पूरा गरेका थिए। टी–२० आईमा २ हजार रन पूरा गर्ने दीपेन्द्र पहिलो नेपाली ब्याटर हुन्। 

सोमपालको ३ विश्वकप/एकै खेलमा ३ विकेट
इंग्ल्यान्ड र इटालीविरुद्धको खेलमा बेन्चमा रहेका तीव्र गतिका बलर सोमपाल कामीले पछिल्ला दुई खेलमा प्लेइङ ११ मा स्थान बनाए।

वेस्ट इन्डिजविरुद्धको खेलमा स्थान बनाएसँगै सोमपाल नेपालले खेलेका तीनवटै विश्वकप खेल्ने एक्ला खेलाडी बनेका छन्। सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपको टोलीबाट दोस्रो र तेस्रो विश्वकप खेल्ने सोमपाल एक्ला खेलाडी हुन्। 

सोमपालले तीन विश्वकपमा आफ्नो ८ खेलमा १० विकेट लिए। 

वेस्ट इन्डिजविरुद्ध २ ओभर बलिङको मौका पाएका सोमपालले २३ रन खर्चे। स्कटल्यान्डविरुद्ध सोमपालले आफ्नो स्पेलमा २५ रन दिएर ३ विकेट आफ्नो नाममा गर्दै वानखेडेमा सनसनी मच्चाएका थिए। 

लोकेशको आक्रामक ब्याटिङ
विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध ४ रनको हार व्यहोरेपछि लोकेश बमको चर्चा अझ चुलियो। 

पहिलोपटक विश्वकप खेलेमा लोकेशले डेब्यु खेलमा नै सनसनी मच्चाए। २० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३९ रनको अविजित पारी खेले।

उनैले नेपाललाई जित नजिक पुर्याएका थिए। तर नेपाल अन्तिम ओभरमा सम्हालिन नसक्दा हार भोग्न बाध्य भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad