नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक विशाल योगफल खडा गरेको छ।
विभागीय डर्बीमा पुलिस क्लबले एपीएफ क्लबविरुद्ध ३५५ रनको विशाल योगफल तयार पारेको हो। मुलपानी क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३५५ रनको योगफल तयार पारेको हो।
कीर्तिमानी लक्ष्य दिने क्रममा पुलिस क्लबका चार खेलाडीले अर्धशतक पूरा गरे। शंकर रानाले ५४ बलमा ५ चौका र ४ छक्का सहयोगमा ६१ रन बनाउँदा अमर राउटेलाको बलमा क्याच आउट हुन पुगे।
त्यस्तै, दिनेश खरेलले ५२ बलमा ६ चौका र ४ छक्का सहयोगमा ६० रन बनाउँदा अमर राउटेलाकै बलमा विकेटकिपर आशिफ शेखको हातबाट आउट हुन पुगे।
यसैगरी, ३० बलमा ५ चौका र ३ छक्का सहयोगमा दिलसन अलीले ५१ रन बनाउँदा अविजित रहे। कप्तान आरिफ शेखले ४२ बलमा ५ चौका र २ छक्का सहयोगमा अर्धशतक बनाए।
रसिद खान ४४, अमृत श्रेष्ठ ३९ र गुल्सन झा २३ रन बनाउँदै पेभेलियन फर्के। करण केसीले ६ र कुशल भुर्तेलले ४ रन बनाए। ललित राजवंशी शून्यमै रनअउट भए।
एपीएफका लागि अमर राउटेला र कमल ऐरीले समान २ विकेट लिए। नन्दन यादव, रोहित पौडेल र युवराज खत्रीले समान एक विकेट आफ्नो नाममा गरे। एपीएफले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
आजै तल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशसामु २९५ रनको लक्ष्य प्रस्तुत गरेको छ। बागमतीले ५० ओभरमा ८ विकेटको क्षतिमा २९४ रनको योगफल तयार पारेको हो।
बागमतीका इशान पाण्डेले सर्वाधिक ७१ रनको योगदान दिए। उनले ६१ बलमा ४ चौका र २ छक्का प्रहार गरे। आशुतोष धिरैयाले ५९, शुभ कंसाकारले ४४ रन थपे। उत्तम मगरले ३०, विवेक मगरले २७ र कप्तान सन्दीप लामिछानेले २६ रन बनाए।
Shares

प्रतिक्रिया