प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ।
मंगलबार भएको खेलमा गण्डकी प्रदेशलाई १७० रनले पराजित गर्दै बागमती प्रदेशले दोस्रो खेलमा आएर जित दर्ता गरेको हो। बागमतीले दिएको २९५ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी ३१.५ ओभरमा १२४ रनमा अलआउट भयो।
गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ७४ रनको योगदान दिए। उनले ९० बलमा ११ चौका प्रहार गरे। सुवास भण्डारीले २९ रन थपे। उनले ४८ बलमा एक चौका र एक छक्का प्रहार गरे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
गण्डकीलाई कम स्कोरमा रोक्न रिजन ढकालले ३ विकेट लिए। उनले ८ ओभरमा २ मेडन राख्दै ३१ रन खर्चे।
सन्दीप लामिछाने र इसान पाण्डेले समान २ विकेट लिए। दयानन्द मन्डल र सुवास खत्रीले समान एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि तल्लो मुलपानी क्रिकेट मैदानमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बागमती प्रदेशले ५० ओभरमा ८ विकेटको क्षतिमा २९४ रनको योगफल तयार पारेको थियो।
बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ७१ रनको योगदान दिए। उनले ६१ बलमा चार चौका र दुई छक्का प्रहार गरे। आशुतोष धिरैयाले ५९, शुभ कंसाकारले ४४ रन थपे। उत्तम मगरले ३०, विवेक मगरले २७ र कप्तान सन्दीप लामिछानेले २६ रन बनाए।
Shares

प्रतिक्रिया