नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा चार रसियाली फिल्म प्रदर्शन हुने भएका छन्।
चैत १९ देखि २३ गतेसम्म हुन लागेको निफमा ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रमअन्तर्गत चार रसियाली फिल्म प्रदर्शन गर्न लागेको आयोजकले बताएको छ। निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रिसियन हाउसमा फिल्महरू ‘अगस्ट’, ‘द च्यालेन्ज’, ‘द डिनो फ्यामिली’ र ‘अल रङ गर्ल’ स्क्रिनिङ गर्न लागिएको अध्यक्ष केपी पाठकले जानकारी दिए ।
नेपाल र रुसबीच सांस्कृतिक आदनाप्रदानलाई प्रवर्द्धन र अर्को उद्योगसँग नेपाली चलचित्रकर्मीको सम्बन्ध विस्तार गर्ने उद्देश्यले निफमा ‘रसियन फिल्म डेज’ कार्यक्रम राखिएको पाठकको भनाइ छ। ‘नेपाली दर्शक र चलचित्रकर्मीले रिसियन चलचित्र, कला, प्रविधिबारे ज्ञान तथा त्यहाँका मेकरहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर पाउनेछन् भनेर यो कार्यक्रम समावेश गरिएको हो,’ उनले भने।
उनका अनुसार, नेपाल र रुसबीच दौत्य सम्बन्ध स्थापित भएको ७०औँ वर्ष पूरा भएको अवसर पारेर निफमा रसियाली फिल्म स्क्रिनिङ गर्ने निर्णय भएको हो।
त्यस्तै, निफको अन्तर्राट्रिय चलचित्र प्रतिस्पर्धामा अर्को एक रसियाली फिल्म ‘द पोएट’ पनि सहभागी भएको छ। फेलिक्स उमारोभ निर्देशित फिल्म ‘द पोएट’ लोकप्रिय रुसी कवि अलेक्जेन्डर पुश्किनको जीवनीमा आधारित छ।
यो फिल्म चैत २३ गते बिहान ११ बजे ठमेलस्थित छाया सेन्टरको हलमा प्रदर्शन हुनेछ। निफमा ४० देशका ८८ फिल्म देखाइने भएका छन्।
Shares

प्रतिक्रिया