गण्डकी प्रदेशलाई पराजित गर्दै मधेस प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा चौथो जित दर्ता गरेको छ।
बिहीबार भएको खेलमा मधेसले गण्डकीलाई डीएलएस मेथडमा १८ रनले हराउँदै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। चार खेलमा जित र एक खेलमा हार भोगेको मधेश ९ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।
पराजित भएको गण्डकी पाँच अंकमा तालिकाको आठौँ स्थानमा छ। गण्डकीले दुई खेलमा जित र चार खेलमा हार भोग्दै पाँच अंक बनाएको छ।
मधेसले दिएको १७३ रनको लक्ष्य पछ्याएको गण्डकीले ब्याटिङ गरिरहँदा पानी परेपछि खेलको निर्णय डीएलएस मेथडबाट लिइएको हो। वर्षाका कारण खेल रोकिँदा अर्जुन कुमाल ४९ र सन्देश पन्थी शून्यमा नटआउट रहे। दिपक डुम्रे १३ रनमा क्याच आउट भए।
त्यसअघि वर्षाका कारण खेल ३५ ओभरमा छोट्टाइएको थियो। विरगञ्जको नारायणी क्रिकेट मैदानमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेस १७२ रन बनाउँदा अलआउट भयो।
मयन यादव ४३ र विशाल शुस्सिङले ४० रन थपे। कप्तान अनिल साह ३६ रन बनाए। विशाल पटेल १८ र पवन सर्राफ ११ रन थपे।
गण्डकीका लागि सुवास भण्डारी र अपराजित पौडेलले समान तीन विकेट लिए। अंकित न्यौपाने, सिवरिन श्रेष्ठ, कमल परियार र सन्देश पन्थीले समान एक विकेट लिए।
Shares

प्रतिक्रिया