ad ad

खेल


सिंगापुरसँग लज्जास्पद हारसँगै नेपाल ग्लोबल छनौटमा पुग्न असफल

सिंगापुरसँग लज्जास्पद हारसँगै नेपाल ग्लोबल छनौटमा पुग्न असफल

नेपालखबर
साउन १२, २०७६ आइतबार ४:३४,

त्योसँगै नेपालको टि २० विश्वकप खेल्ने सपना पनि तुहिएको छ। नेपाललाई पराजित गर्दै सिंगापुर असोजमा हुने ग्लोबल छनौटमा पुगेको छ। 

ग्लोबल छनौटमा १४ टोलीको प्रतिस्पर्धा हुनेछ। त्यसको शीर्ष ६ टोली २०२० मा हुने टि २० विश्वकप खेल्नेछन्।

सिंगापुरविरुद्ध नेपालको बलिङ र ब्याटिङ दुबै कमजोर देखियो। बलरहरुले आशातित प्रदर्शन गर्न नसकेपछि सिंगापुरले नेपालसामु १ सय ९२ रनको विशाल लक्ष्य बनाएको थियो। 

उक्त लक्ष्य पछ्याउने दबाबमा ब्याट्सम्यानहरुले समेत लगातार विकेट गुमाउँदा १५ ओभरमा नै नेपाल १ सय ९ रनमा अलआउट भयो। नेपालका ७ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। ज्ञानेन्द्र मल्लले ३९, दीपेन्द्रसिंह ऐरी २३ बाहेक कसैको प्रदर्शन सम्झन लायक रहेन्। 

तेस्रो ओभरको पहिलो बलमा स्ट्रेटमा लामो सट हिर्काउँने क्रममा मिडवनमा नेपालका कप्तान पारस क्याच हुन पुगे। १० बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गर्दै १२ रन जोडे।

छैटौं ओभरको पहिलो चार बलमा ज्ञानेन्द्र मल्लले अम्जद मोहबुबलाई दुई छक्का र दुई चौका प्रहार गर्दै नेपालको ५० रन पूरा गरे। तर अर्को ओभरमा ज्ञानेन्द्र बोल्ड हुन पुगे। ज्ञानेन्द्रले २१ बलमा ४ चौका र ३ छक्का हिर्काउँदै ३९ रन जोडे।

आठौं भएमा नेपालले अर्का भरपर्दा मानिएका शरदलाई पनि गुमायो। शरदलाई बाउन्ड्रीमा जनक प्रकाशले उत्कृष्ट क्याच समाते। ११ बल खेलेका शरदले ७ रनमात्रै जोड्न सके।

शरदको स्थानमा क्रिजमा आएका रोहितकुमार पौडेलपनि धेरैबेर क्रिजमा टिक्न सकेनन्। ४ बल खेलेका रोहितले सजिलै बलर विजयकुमारलाई क्याच दिदै कट एण्ड बोल्ड भए। रोहितले ५ रनमात्रै जोड्न सके।

१० ओभरमा नेपालले ४ विकेट गुमाएर ७७ रन जोडेको थियो। तर ११औं ओभरमा नेपालले दुई विकेट गुमाएसँगै नेपाल संकटमा पर्यो। विजयकुमारको दोस्रो बलमा विनोद भण्डारीलाई बाउन्ड्रीमा पारामको हातबाट क्याच गराए। विनोदले ७ बलमा ९ रनमात्रै जोड्न सके।

सोही ओभरको चौथो बलमा करण केसी खाता नै खोल्न नपाई पवेलियन फर्किए। लगअनमा छक्का प्रहार गर्ने धुनमा करण बाउन्ड्री नजिकै चेतन सुर्यावंशीले क्याच समाते।

करणका रुपमा नेपालले छैटौं विकेट गुमाउँदा नेपाललाई जितका लागि ५६ बलमा १ सय ११ रन आवश्यक थियो। क्रिजमा दीपेन्द्रसिंह ऐरी ७ रनमा खेलिरहेका थिए भने सोमपाल कामी भर्खरै क्रिजमा आएका थिए।

१४औं ओभरमा फेरि नेपालले २ विकेट गुमायो। दोस्रो बलमा सोमपाल दोस्रो रन लिने क्रममा रनआउट भए। दीपेन्द्र दोस्रो रनका लागि अघि नबढेपनि सोमपाल भने क्रिजमा पुग्न लागेका थिए। उनी फर्कदासम्म स्टम्प ढलिसकेको थियो। सोमपालले ८ बलमा ११ रन जोडे।

सोही ओभरको पाँचौं बलमा सन्दीप लामिछानेको ब्याडको एज लाग्दै बल विकेटकिपरको हातमा गयो। सन्दीपले खाता खोल्न पाएनन्।

अर्को ओभरमा दीपेन्द्र समेत आउँट भएपछि नेपाल ग्लोबल छनोटमा पुग्न असफल रह्यो। दीपेन्द्रले २२ बलमा २३ रनमात्रै बनाउँन सके।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो।

सिंगापुरका ब्याट्सम्यानहरुले पहिलो ओभरमा पीचको व्यबहार बुझ्दै एक रनमात्रै जोडे। तर त्यसपछिका प्रत्येक ओभरमा कम्तिमा २ बाउन्ड्री प्रहार गर्दै ९ को माथि रनरेट राखे।

दोस्रो ओभरको दोस्रो र चेस्रो बलमा करण केसीलाई सुरेन्द्रन चन्द्रमोहन लगातार २ चौका प्रहार गरे। तेस्रो बलमा पनि ठूलो सट खेल्ने क्रममा उनी ज्ञानेन्द्र मल्लको हातबाट क्याच भए।

तर त्यसले सिंगापुरको ब्याट्सम्यानहरुलाई केही फरक पारेन्। दोस्रो विकेटका लागि रोहन रंगराजन र टिम डेविडले आक्रामक खेल्दै ८९ रनको साझेदारी गरे। जसले सिंगापुरलाई ठूलो स्कोर तर्फ अघि बढायो।

४ ओभरमा २० रनमात्रै बनाएको सिंगापुरलाई उनीहरुले १० ओभरमा ९६–१ को बलियो स्थितिमा पुर्‍याए।

पहिलो ओभरमा १४ रन ब्यहोर्दै महँगा भएका अभिनाश बोहराले रोहन रंगराजनलाई ११औं ओभरको चौथो बलमा शरद भेषावकरको हातबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए। रंगराजनले ३३ बलमा ४ छक्का र ३ चौकासहित ४९ रन बनाए।

रंगराजन पवेलियन फर्किएपनि टिम डेविड रोकिएनन्। १३औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेलाई छक्का प्रहार गर्दै डेविडले २९ बलमा अर्धशतक पूरा गरे।

१८औं ओभरको दोस्रो बलमा अभिनाशले ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराउँदै डेविडलाई पवेलियन फर्काए। त्यसबेलासम्म उनले ७७ रन जोड्दै सिंगापुरलाई ठूलो स्कोरतर्फअघि बढाइसकेका थिए। डेविडले ४३ बलमा ८ चौका र ३ छक्कासहित ७७ रन जोडे।

१९औं ओभरको चौथो बलमा आउँट भएका मनप्रितले आक्रामक ४२ रन जोडे। २७ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे।

नेपालका अभिनाश बोहराले ४ विकेट लिए। ४ ओभरमा उनले ३५ रन खर्चे। यस्तै करण केसीले ३ ओभरमा २६ रन खर्चदै ३ विकेट लिए। बसन्त रेग्मी सर्वाधिक महँगा भए। उनले ४ ओभरमा ५४ रन खर्चिए। यस्तै सन्दीप लामिछानेले समेत ३ ओभरमा ३४ रन खर्चे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .