पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई सहयोग गर्न पोखरामा भलिबल प्रतियोगिता भइरहेको छ।
पश्चिमाञ्चल क्षेत्रीय भलिबल, जिल्ला भलिबल संघ कास्कीको आयोजनामा प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको पहिलो दिन आज बाग्लुुङ, पर्वत, स्याङजा, कास्की र नवलपुर जिल्ला भलिबल संघका पुरुष टोलीले प्रतिस्पर्धा गर्दै छन्।
खेलमा भोलि महिलातर्फ विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ तथा होङ्ग्वान्जी न्यु डायमण्ड क्लबले प्रतिस्पर्धा गर्नेछन्।
चोटका कारण झण्डै एक वर्षदेखि कोर्टबाहिर रहेकी राष्ट्रिय महिला भलिबल टोली तथा न्यु डायमन्डकी महत्त्वपूर्ण सदस्य प्रतिभा माली कोर्ट फर्किने तयारीमा छिन्।

गत वर्ष माघ १० गते पाँचौँ संस्करणको आरबीबी एनभीए क्लब च्याम्पियनसिपमा नेपाल एपीएफ क्लबविरुद्धको फाइनलका दौरान प्रतिभाले बायाँ घुँडामा चोट बोकेकी थिइन्।
झण्डै १ वर्ष मैदानबाहिर रहेकी प्रतिभा यही खेलबाट कोर्टमा पुनरागमन गर्नेछिन्। स्पाइक प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनको घुँडामा चोट लागेको थियो।
मैदानमा लडेको केही समयपछि नै उनलाई ब्लु क्रस अस्पताल लगिएको थियो। शल्यक्रियापश्चात् निरन्तर फिजियोमा व्यस्त रहेकी प्रतिभा गत असोजदेखि कोर्टमा फर्कने प्रयासमा थिइन्।
विस्तारै प्रशिक्षणमा खेल्न सुरु गरेकी प्रतिभा अहिले प्रतिस्पर्धा नै खेल्न सक्ने अवस्थामा पुगिसकेकी छिन्।
प्रतियोगिताको टिकटबाट उठेको रकम अरुणालाई भोट गर्नका लागि खर्च गरिने नेपाल भलिवल संघका सचिव डीबी नेपालीले जानकारी दिए। अरुणालाई भोट गर्न हालसम्म ४ लाखभन्दा बढी रकम सकंलन भइसकेको छ।
एनएसजेएफले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्र्पोर्टस् अवार्डको पिपुल्स च्वाइस अवार्डमा मनोनयनमा परेका भलिबल खेलाडीले बाजी मार्दै आएका छन्।
अवार्डको यो संस्करणमा पिपुल्स च्वाइस अवार्डतर्फ भलिबलकी अरुणा शाही, बास्केटबलकी अरुणा शाही, फुटबलकी सावित्रा भण्डारी, पौडीकी गौरिका सिंह र करातेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन्।

प्रतिक्रिया