खेल


जो अति छिटो ब्याट, बल छाडेर बिदा भए

जो अति छिटो ब्याट, बल छाडेर बिदा भए

यज्ञराज जोशी
पुस २६, २०७७ आइतबार १४:४८,

राष्ट्रिय क्रिकेट टोलीको पहिलो रोजाईका तीब्र गतिका बलर हुन् सोमपाल कामी। तिनै सोमपालले दुई वर्षअघि भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ का कुन्दन सिंहलाई बोल्ड गरेका थिए।

प्रदेश २ लाई नेपाली क्रिकेटको उर्वरभूमि मानिन्छ। यसै प्रदेशबाट पूर्वकप्तानत्रय उत्तम कर्माचार्य, विनोद दास र पवन अग्रवाल जन्मिए भने अहिले पनि त्यहिँकै आधा दर्जन खेलाडीले राष्ट्रिय टोलीमा नेपालको प्रतिनिधित्व गर्छन।

भारतसँग सीमा जोडिएका कारण पनि यस प्रदेशमा क्रिकेट लोकप्रिय भयो। क्रिकेट लोकप्रिय भएकाले प्रदेशको टोलीमा पर्न पनि संघर्ष हुन्थ्यो। सानैमा आमाबुबा बितेपछि मामाघरमा हुर्किएका कुन्दन त्यही संघर्षमा हुर्कदै क्रिकेटमा आफ्नो पहिचान बनाउँदै थिए।

अहिलेको प्रदेश २ तत्कालीन नेपाल क्रिकेट संघ(क्यान)को क्षेत्र नम्बर ७ मा पथ्र्यो। इन्टरस्कुल क्रिकेटबाट अलराउण्डरका रुपमा उदाएका कुन्दनले क्षेत्र नम्बर ७ बाट यू–१६, यू–१९ राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए।

क्यान इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसीसी)को निलम्बनमा परेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रधानमन्त्री कपका रुपमा एकदिवसीय राष्ट्रिय प्रतियोगिता आयोजना सुरु गर्यो।

Cricketer KundanSinghRajput 1

उमेर समूहमा उम्दा प्रदर्शन गरेकै कारण प्रदेश २ को प्रतिनिधित्व गर्दै कुन्दनले २०१८ मा भएको पहिलो प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएका थिए।

सोही प्रतियोगिताको पहिलो खेलमा प्रदेश २ ले राष्ट्रिय टोलीका खेलाडीले भरिएको त्रिभुवन आर्मी क्लबको सामना गरेको थियो। प्रदेश २ का कप्तान महबुब आलमले कुन्दनलाई ओपनर ब्याट्सम्यानका रुपमा मैदानमा उतारेका थिए। तर अनुभवी सोमपाल कामीले कुन्दनलाई शुन्य रनमै बोल्ड पारे।

त्यही शुन्य रनमा बोल्ड भएको दुई वर्षपछि आइतबार बिहान २३ वर्षे कुन्दन आफ्नो जीवनरुपी खेलबाटै बिदा भएका छन।

पछिल्लो एक वर्षयता दुवै मिर्गौला फेल भएर स्वास्थ्यसँग संघर्ष गरिरहेका उनले मंगलबार महोत्तरी जिल्लाको जलेश्वर ९ फुल्हट्टा गाउँस्थित आफ्नो घरमा अन्तिम सास फेरे।

कुन्दनको निधनको खबर सुन्दा राष्ट्रिय क्रिकेट टोलीका सिनियर खेलाडी तथा कुन्दनलाई विश्वास गर्दै ओपनर ब्याट्सम्यानका रुपमा मैदान पठाउने महबुब आलम स्तब्ध छन।

‘बिहानै उनको निधनको अप्रत्यासित खबर सुनेपछि रसाएको आँखा अझै ओभाएको छैन,’ नेपालखबरसँग आइतबार साँझ कुरा गर्दै महबुबले भने, ‘उनी खेलमा जति गम्भीर थिए, व्यक्तिगत रुपमा पनि निकै मिहिनेती र इमान्दार थिए। प्रदेश २ र राष्ट्रले नै एक आशा लाग्दा खेलाडीलाई अति छिटो गुमाएको छ।’

नेपालमा पहिलोपल्ट त्यही प्रधानमन्त्री कपमार्फत् प्रदेश संरचनाबाट राष्ट्रिय क्रिकेट खेलाइएको थियो। पहिलोपल्ट बनेको प्रदेशको टोलीमा पर्नुले नै उनको प्रतिभा पुष्टि हुने महबुब बताउँछन।

राष्ट्रिय प्रतियोगितामा कुन्दनको यात्रा अति नै छोटो रह्यो। सोही प्रतियोगिताको बाँकी दुई खेलमा क्रमशः उनले गण्डकीविरुद्ध १० र प्रदेश १ विरुद्ध १६ रनको पारी खेलेका थिए। त्यसपछि उनको क्रिकेट अघि बढ्न पाएन।

कारण, भित्रभित्रै उनको मिर्गौलामा समस्या बल्झदै गएको थियो। एक वर्षअघि काठमाडौंमा भएको स्कुल क्रिकेट खेल्दा अचानक उनको पेट दुख्यो। वीर अस्पतालमा जचाउँदा आएको रिपोर्टले उनी छाँगाबाट खसेझैँ भए।

रिपोर्टमा उनका दुवै मृर्गौला फेल भएको देखिएको थियो। ६ वर्षको उमेरदेखि मामाघरमा बस्दै आएका कुन्दनलाई मामा अनुजकुमार सिंहले बचाउँन हरसम्भव प्रयास गरे। डायलासिस र उपचारमा मात्रै २–३ लाख खर्च भइसकेको थियो।

एक समय निम्नपरिवारले उनको महँगो उपचारमा थप पैसा जुटाउन नसक्ने अवस्था आएको थियो। हप्तामा दुईपटक डायलासिस गराउनुपर्ने र महँगो औषधि किन्नुपर्ने भएपछि कुन्दनले बाँच्ने आशा नै मारिसकेका थिए।

तर उनको अवस्था थाहा पाएपछि प्रादेशिक क्रिकेट संघले सहयोग अभियान अघि बढायो। त्यसलाई व्यापक बनाउन क्रिकेट अभियन्ता विज्ञान कार्कीले ‘कुन्दन बचाऊ अभियान’ सुरु गरे। त्यसबाट सहयोग जुट्दै गएपछि पुनः कुन्दनलाई बाँच्ने आशा जागेको थियो।

‘हामीले अभियान थालेपछि उनको मिर्गौला प्रत्यारोपणका लागि १८–१९ लाख रुपैयाँ जुटाइसकेका थियौं,’ अभियन्ता कार्की भन्छन्, ‘आफ्नो उपचारमा सहयोग जुटेको थाहा पाएपछि कुन्दनलाई बाँच्ने आशा पनि जागेको थियो। उनले आफ्ना लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका थिए। तर भित्रभित्रै गलिसकेका उनलाई जोगाउने हाम्रो सपना अधुरै रह्यो।’

No description available.

अभियानबाट पैसा जुटेपछि कुन्दनलाई उपचारका लागि दिल्ली समेत पुर्याइएको थियो। दुबै मिर्गौला खराब भएका कारण उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गयो। विज्ञानका अनुसार डाक्टरले अलि स्वास्थ्य अवस्था राम्रो भएपछि मिर्गौला प्रत्यारोपण गरौँला भनेर अहिले औषधि दिएका थिए। जुन उनले नियमितरुपमा खाइरहेका थिए।

यहीबीच गत भदौमा कुन्दनलाई कोरोना संक्रमण पनि भयो। भाइरसबाट उम्के पनि उनको शरिर झनझन कमजोर बन्दै गयो। महोत्तरी क्रिकेट संघका सदस्य तथा स्कोरर सैफ अलीका अनुसार आइतबार बिहान कुन्दनलाई सास फेर्न एक्कासी गाह्रो भएको थियो। अस्पताल लग्न नपाई उनले घरमै अन्तिम सास फेरे। आइतबार नै कुन्दनको अन्तिम संस्कार गरिएको छ।

सिंहको निधनप्रति क्यान, राष्ट्रिय टोलीका खेलाडी लगायतले श्रद्धान्जलि दिएका छन। महोत्तरी क्रिकेट संघले आइतबार साँझ श्रद्धान्जली कार्यक्रम आयोजना गरेको थियो। क्रिकेटर कुन्दनप्रति हाम्रो पनि हार्दिक श्रद्धान्जलि।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .