काठमाडौं मेयर्स कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय डर्बीमा नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने भएका छन्।
बिहीबार भएको खेलमा काठमाडौं मेयर–११ लाई ७ विकेटले पराजित गर्दै नेपाल एपीएफ क्लबले पुलिस क्लबसँगको भेट पक्का गरेको हो।
पुलिस ४ खेलमा ३ मा जित र १ मा हारसहित यसअघि नै फाइनलमा पुगिसकेको छ। त्रिभुवन आर्मी क्लव, वाग्मती प्रदेश र मेयर ११ लिग चरणबाटै बाहिरिएका छन्।
काठमाडौले दिएको १ सय ७८ रनको लक्ष्य एपीएफले ४४ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। सन्दीप जोरा ६२ र कप्तान शरद भेषावकर ६१ रनमा नटआउट रहे। उनले १ सय १८ बलमा ५ चौका र १ छक्का हाने।
सन्दीपले ७९ बलमा ९ चौका हाने। चौथो विकेटका लागि शरद र सन्दीपले १ सय २१ रनको अविजित शतकीय साझेदारी गरेपछि एपीएप सहज जित निकाल्दै उपाधि नजिक पुगेको हो।
ओपनर शंकर राना ३१, आसिफ शेख शून्य र भुवन कार्कीले ११ रन थपे। अनिल खरेल, अनुज चनारा र सन्दीप लामिछानेले १–१ विकेट लिए।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा हिला ब्याटिङ गरेको मेयर–११ ४८ दशमलव ५ ओभरमा १ सय ७७ रनमा अल आउट भयो।
सन्दीप रजालीले ४८ रनको योगदान दिए। हरि शंकर शाहले ३६ रन थपे। तेस्रो विकेटका लागि सन्दीप रजाली र हरि शंकर शाहले ६५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। तर यो साझेदारी लामो समय टिक्न नसक्दा हार पराजित भयो। अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।
काठमाडौलाई कम स्कोरमा रोक्न एपिएफका अभिनाश बोहरा र कमलसिंह ऐरीले समान ३ विकेट लिए। शरद भेषावकर, भुवन कार्की र वसन्त रेग्मीको नाममा १–१ विकेट रह्यो।

प्रतिक्रिया