खेल


एपीएफको महिला भलिबल टोलीमाथि बढ्दो चुनौती

एपीएफको महिला भलिबल टोलीमाथि बढ्दो चुनौती

लक्ष्मी जि.सी
चैत २६, २०७७ बिहिबार ७:३,

घरेलु प्रतियोगिताहरुमा महिला फुटबल होस् कि महिला भलिबल दुवैमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब अब्बल मानिन्छ।

भलिबल र फुटबल दुवैर्फ एपीएफकै महिला टोली सबै प्रतियोगिताको सदाबहार दाबेदार हुन्।

गत महिना सम्पन्न महिला राष्ट्रिय लिगमा एपीएफ च्याम्पियन बनिसकेको छ। महिला भलिबलमा पनि एपीएफ पछिल्ला केहि वर्षयताको सर्वाधिक सफल टोली हो। घरेलु भलिबलमा वर्षभरको सबै प्रतियोगिता एपीएफले जितेको इतिहास पनि छ।

तर खेलकुदमा उचाईमा पुग्न जति कठीन छ त्यो भन्दा बढी कठीन त्यहाँ टिकिरहन छ। पछिल्लो केहि प्रतियोगिताको प्रदर्शनलाई हेर्दा भने एपीएफ पहिलाको तुलनामा केहि कमजोर देखिन थालेको छ। अर्कोतर्फ अन्य टोलीले आफ्नो खेलमा सुधारिएको प्रदर्शन गर्न थालेका छन्।

कोरोनाका कारण झन्डै एक वर्ष खेलकुद ठप्प थियो। त्यसपछि घरेलु भलिबलमा तीन महत्वपूर्ण प्रतियोगिता आयोजना भएका छन्। नेपालमा एपीएफसहितका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब ३ विभागीय टोली र होगांजी न्यू डायमण्ड क्लब गरि ४ टोली माथिल्लो स्तरमा खेल्दै आएका छन्। महिला भलिबल यहि टोली वरिपरि घुमेको छ भन्दा फरक पर्दैन।

आरबीबी एभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको अहिले बिहीबार दिउँसो फाइनल खेल जारी छ।

Volleyball girls 2a

आरबीबी एभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको दुवैतर्फको फाइनल आज बिहीबार नै परेका छन्।

पुरुषतर्फ हेल्प नेपाल र एपीएफबीच प्रतिस्पर्धा हुँदा हेल्प नेपालले जित हासिल गरिसकेको छ भने महिलातर्फ नेपाल पुलिस क्लब र न्यू डायमण्डबीच आजै दिउँसाे प्रतिस्पर्धा हुँदैछ। यसपटक एपीएफ फाइनलमा देखिने छैन। न्यू डायमण्डले महत्वपूर्ण खेलमा बुधबार एपीएफलाई ३–१ सेटले हराउँदै टोलीलाई फाइनल पुग्नबाट रोकेको थियो।

एपीएफ नेपालगन्जमा अघिल्लो महिना सम्पन्न प्रधानमन्त्री कपको उपाधि जितेर राजधानी फर्केको थियो। त्यसको तीन साताअघि पोखरामा भएको टाइगर टपको फाइनलमा भने एपीएफ अर्को विभाग पुलिससँग पराजित भएको थियो।

एपीएफको त्यो अपराजित छवि अब विस्तारै कमजोर हुँदै गएको पछिल्ला केहि प्रतियोगितालाई आधार मानेर भन्न सकिन्छ।

क्लब लिगको अघिल्ला ४ संस्करणकै फाइनल खेलेको एपीएफ यसपटक रहने छैन। कोभिडका कारण स्थगित खेलकुद पुनः सुचारु भएको धेरै नभएकोले अहिले नै एपीएफको क्षमता वा स्तर यति नै हो भनी ठोकुवा गर्नु भने गलत निष्कर्ष पनि हुन सक्छ।

लगातार दबदबा बनाएको एपीएफ पहिलो पटक उपाधि होडबाट बाहिरिएपछि एपीएफका प्रशिक्षक महेश चौधरीले आफ्नै कमजोरीको कारण टोली महत्वपूर्ण खेलमा पराजित भएको बताए।

क्लब लिग सुरु भएपछि एपीएफ बुधबार पहिलो पटक पराजित भएको हो। न्यू डायमण्डसँगको खेलमा रिसिभ र स्पाइकमा समस्या हुँदा हार भोग्न परेको प्रशिक्षक चौधरीको निष्कर्ष छ।

‘न्यू डायमण्डविरुद्ध काउन्टर एट्याक पनि राम्रो गर्न सकेनौं,’ उनले भने।

अर्कोतर्फ सबैभन्दा बलियो टोलीको परिचय बनाएको न्यू डायमण्ड क्लबका प्रशिक्षक कुमार राईको खुसीको सीमा थिएन।

‘खेलमा हार जित त हुन्छ नै तर छोटो तयारीका बाबजुद पनि हाम्रा खेलाडीले राम्रो खेलेका हुन्,’ उनले भने, ‘हाम्रा लागि एपीएफलाई पराजित गर्नु महत्वपूर्ण उपलब्धी हो। टोलीको प्रर्दशनबाट हामी सन्तुष्ट छौं।’

कोरोनाका कारण लामो समय प्रशिक्षण रोकिएकाले त्यसको असर टोलीमा परेको प्रशिक्षक चौधरीको भनाई छ।

Volleyball girls 3a

‘हामीले प्रशिक्षण सुरु गरेको दुई महिना मात्र भयो। न्यू डायमण्डले ३ वर्ष भन्दा लामो समयपछि एपीएफलाई बुधबार पराजित गरेको हो,’ उनी भन्छन्।

२०७४ को माघमा न्यू डायमण्डले आयोजना गरेको महिला भलिबल प्रतियोगिताको फाइनलमा एपीएफ डायमण्डसँग ३–१ ले नै पराजित भएको थियो। त्यसपछि एपीएफ लामो समय अपराजित रह्यो।

प्रशिक्षक चौधरी एपीएफ कमजोर भएको भन्दा पनि अरु टोलीले प्रगति गर्दै आएको बताउँछन्।

‘विभाग बाहेकका टोली पनि राम्रो छन्। एपीएफबाट अधिकांश पुरानै सेट खेल्दै आएको छ,’ उनी भन्छन्।

टोलीमा खेलाडी परिवर्तनको समय आएको हो भन्ने प्रश्नमा चौधरीले भने, ‘सेटमा परिवर्तनका लागि हामीसँग पर्याप्त खेलाडी छैनन्। महत्वपूर्ण खेलाडी नेविका चौधरी घाइते भएपछि टोलीले राम्रो गर्न सकेको छैन। उनले स्कोर गर्थिन्। तर अहिले हामी उनलाई लिब्रोमा खेलाउन बाध्य छौं।’

प्रशिक्षक चौधरीले न्यू डायमण्डको प्रशंसा गर्दै भने, ‘डायमण्डको अट्याक, रिसिभ र स्पाइक राम्रो हुँदा अंक बटुल्न सक्यो भने हामीलाई कठीन भयो।’

उनले टोलीका केहि खेलाडी विभागको आन्तरिक तालिममा रहेका कारण पनि त्यसको असर टोलीमा देखिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .