खेल


राष्ट्रिय खेलाडी हिरा भुजेलको मंगलबार घुँडाको शल्यक्रिया, साम्बाको उपचारमा समय लाग्ने

राष्ट्रिय खेलाडी हिरा भुजेलको मंगलबार घुँडाको शल्यक्रिया, साम्बाको उपचारमा समय लाग्ने

लक्ष्मी जि.सी
चैत २९, २०७७ आइतबार १०:५५,

राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ क्लबकी रक्षक हिरा भुजेलको मंगलबार घुँडाको शल्यक्रिया हुने भएको छ।

घुँडाको ‘मिडिल मिनिस्कस टेयर’ भएको देखिएपछि शल्यक्रिया गर्न लागिएको हो।

उनको बीएण्डबी अस्पतालमा शल्यक्रिया हुने राष्ट्रिय महिला फुटबल टोलीकी फिजियोथेरापिष्ट नविना श्रेष्ठले नेपालखबरलाई जानकारी दिइन्।

उनले भनिन्, ‘आज फलोअपका लागि बोलाएका छौँ। उनी शल्यक्रियाको लागि फिट भएकाले मंगलबार शल्यक्रिया गर्ने तयारी गरिएको छ।’

हिराको डा. अमित जोशीले शल्यक्रिया गर्नेछन्। अपरेसनपछिकोे फिजियोथेरापी पनि आफैँले गर्ने श्रेष्ठले बताइन्।

अपरेसनकाे सबै खर्च अखिल नेपाल फुटबल संघ (एन्फा)ले व्यहोर्नेछ।

गत माघमा भएको राष्ट्रिय महिला लिगको दोस्रो खेलमा घाइते भएकी हिरा त्यसयता नविना श्रेष्ठसँगै फिजियोथेरापी गराउँदै आएकी थिइन्। सामान्य बल खेल्दा कुनै समस्या नभए पनि उफ्रिँदा चोट लागेको दिनको जस्तै समस्या र घुँडा सुन्निएपछि चिकित्सकको सल्लाहमा उनले घुँडाको एमआरआई गराएकी थिइन्।

गत माघ १० गते विराटनगर महानगरपालिकाविरुद्धको खेलका दौरान ल्यान्डिङ गर्ने क्रममा उनको घुँडामा चोट लागेको थियो। चोटका कारण उनले लिगका बाँकी खेल गुमाएकी थिइन्।

२०७० मा एपीएफमा आबद्ध भएकी हिरा २०७२ मा राष्ट्रिय टोलीकी सदस्य रहँदै आएकी छिन्। उदयपुर कटारीकी उनी राष्ट्रिय टोली र क्लबबाट लेफ्ट ब्याकबाट खेल्दै आएकी छिन्।

यस्तै गत फागुन ३ गते राष्ट्रिय टोली तथा एपिएफकै फरवार्ड सावित्रा भण्डारीलाई पनि घुँडामा चोट लागेको थियो।

सावित्राको घुँडाको शल्यक्रिया भने कतारमा गराउनका लागि पहल भइरहेको छ। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, ‘प्रक्रिया पूरा भइसकेको छ, उता कोरोनाको लकडाउनले गर्दा भिसा पठाएको छैन। यहाँबाट जाँदा २१ दिन क्वारेनटाइन बस्नुपर्ने हुन्छ। त्यही भएर भिसा आएको छैन। हामीले गर्नुपर्ने प्रक्रिया पूरा भइसकेको छ।’

यता फिजियो श्रेष्ठले पनि साम्बाको उपचारमा केही समय लाग्ने बताईन्। कतारमा लकडाउन लम्बिरहेको बताइन्।

उनले भनिन्, ‘त्यसैले केही ढिलाइ हुनपुगेको हो। सर्जरी जस्तो कुरामा हामीले दबाब दिन मिल्दैन उनको इच्छा कतारमा नै उपचार गराउनेछ। त्यसैले केही समय लाग्छ।’

हाल राष्ट्रिय टोलीका विक्रम लामा र विमल घर्ती मगरले भने कतारमा उपचार गराइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .