खेल


फुटबल टोलीका नयाँ कप्तान सुजल भन्छन्, ‘देशको नेतृत्व गर्न पाउँनु सौभाग्य हो’

फुटबल टोलीका नयाँ कप्तान सुजल भन्छन्, ‘देशको नेतृत्व गर्न पाउँनु सौभाग्य हो’

यज्ञराज जोशी
भदौ ६, २०७६ शुक्रबार १३:२४,

राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तान सुजल श्रेष्ठले देशको नेतृत्व गर्दै राष्ट्रिय टोली सम्हाल्न पाउनु सौभाग्यको कुरो रहेको बताएका छन्।

फिफा विश्वकप २०२२ अन्तर्गत कुवेतविरुद्धको खेलअघि नेपालले मलेसियन लिग च्याम्पियन जोहार डारुल टाजिम टोलीविरुद्ध खेल्ने मैत्रीपूर्ण खेलका लागि सुजल राष्ट्रिय टोलीका नयाँ कप्तान चुनिएका हुन्। भदौ ९ गते हुने उक्त मैत्रीपूर्ण खेलका लागि यसै हप्ता घोषित राष्ट्रिय टोलीमा नियमित कप्तान विराज महर्जन नपरेपछि प्रशिक्षक योहान कालिनले सुजललाई कप्तानको जिम्मेवारी सुम्पिएका हुन्।

‘राष्ट्रिय टोलीबाट देशको नेतृत्व पाउँनु सौभाग्यको कुरो हो,’ शुक्रबार मलेसिया जानुअघि एन्फाले गरेको विदाई कार्यक्रमपश्चात सुजलले भने, ‘सिनियर टोलीहरु नहुँदा टोलीको मैले कप्तानी पाएको छु। यो मसँगै सबै खेलाडीलाई प्रमाणित गर्ने अवसर पनि हो।’

विराज टोलीमा नपर्दा यसअघिका उपकप्तान रहेका किरण चोञ्जोङ भने ट्रायलका लागि हाल जापान छन्। यस्तै अर्का अनुभवी खेलाडी रोहित चन्द इन्डोनेसियन लिगमा व्यस्त रहेपछि सुजलले युवा टोलीको कप्तानी गर्दै मलेसियन जादैँछन्।

यसअघि बंगलादेश फुटबल संघले आयोजना गर्ने बंगबन्धु कपको दोस्रो संस्करणमा पनि सुजलले आधा समय कप्तानको आर्मब्यान्ड लगाएका थिए। २०१८ को अक्टोम्बरमा प्यालेस्टाइनविरुद्धको खेलमा नियमित कप्तान विराज महर्जनले आराम पाएपछि टोलीको नेतृत्व निराजन खड्काले गरेका थिए।

खेलको बीचमा प्रशिक्षकले निराजनलाई बाहिर निकालेपनि केही समय सुजलले कप्तानीको आर्मब्यान्ड लगाएका थिए। यसपटक भने सुजलले पूर्ण खेलमा नै नेतृत्व गर्ने अवसर पहिलो पटक पाएका हुन्।

‘मैले कप्तानीलाई दबाबका रुपमा लिएको छैन्,’ सुजलले भने, ‘खेल्ने ११ जनाले नै हो। सबै ११ जना नै फुटबलमा कप्तान हुन्छन। जसले पनि एकअर्कालाई हौसला दिन सक्छ। युवा टिम छ। नयाँ प्रशिक्षक आएपछि खेलाडीहरु बाहिरभित्र हुने क्रम जारी छ। त्यसैले सबै खेलाडीहरुले आफूले पनि राम्रो गर्नुपर्ने चुनौती छ।’

footbal national teamमलेसिया जानुअघि सामूहिक तस्विर खिचाउँदै नेपाली राष्ट्रिय फुटबल टोली। तस्विर: प्रविन कोइराला

मनाङ मस्र्याङ्दी क्लबका मिडफिल्डर समेत रहेका सुजलले २०११ मा पोखरामा भुटानविरुद्ध भएको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। सन् २०१६ मा नेपालले एएफसी सोलिडारिटी कप जित्दा मकाउविरुद्ध फाइनलमा सुजलले निर्णायक गोलसमेत गरेका थिए।

राष्ट्रिय टोलीको विदाई यसैबीच अखिल नेपाल फुटबल संघ(एन्फा)ले मलेसिया प्रस्थान गर्ने नेपाली खेलाडीहरुलाई शुक्रबार एक कार्यक्रमकाबीच विदाई गरेको छ। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले खेलाडीहरुको विदाई गरेका थिए।

भदौ ९ गते हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली राष्ट्रिय फुटबल टोली शुक्रबार राति १०ः०० बजे मलेसिया प्रस्थान गर्दैछ। कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एशियाको दोस्रो चरण छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

मलेसिया जाने नेपाली टोलीको गोलकिपरमा विकेश कुथु, एलन न्यौपाने र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, अनन्त तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ र रजिन धिमाल छन्।

त्यसैगरी मिडफिल्डरमा सुनिल वल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad