अघिल्लो साता नेपाली फुटबलमा दुई घटना चर्चित रहे। एक, लगातार दुई पटकको च्याम्पियन नेपाली यू–१८ टोली घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपमा समूह चरणबाटै बाहिरियो। अर्को, टोली पराजयसँगै मुख्य प्रशिक्षकले नैतिकताका आधारमा राजिनामा दिए।
२०१५ र २०१७ को संस्करणको उपाधि उचाल्दै उमेर समूहमा बलियो दाबेदारी प्रस्तुत गरेको नेपाली युवा टोली सेमिफाइनलमा समेत नपुग्नु र त्यसै नतिजाका आधारमा नैतिकताका आधारमा प्रशिक्षकले राजिनामा दिनु दुवै नौला घटना थिए।
दुबैको जवाफ दिनसक्ने एउटै व्यक्ति हुन्, प्रशिक्षक चेतनारायण श्रेष्ठ। उनले औपचारिक खेलमा पहिलो पटक टोली सम्हालेका थिए। जसमा असफल भए लगत्तै उनले एन्फा कार्यालयमा राजिनापत्र बुझाए।
शुक्रबार(असोज १०) एन्फा कम्प्लेक्समा उनलाई भेट्न पुग्दा उनी भर्खरै स्पष्टिकरण दिएर फर्केका थिए। टेक्निकल कमिटिले उनलाई शुरुमा आफूहरुलाई नबुझाएर एन्फा कार्यालयमा पत्र बुझाउँदै प्रक्रिया मिचेको भनेर स्पष्टिकरण सोधेको थियो।
समूह चरणको अन्तिम खेलपछि नेपाल बाहिरिने निश्चित भएसँगै उनले एन्फा कार्यवहाक अध्यक्ष र महासचिवको उपस्थितिमा एन्फा कार्यालयमा राजिनामा पत्र बुझाएका थिए। तर, टेक्निकल कमिटिले शुरुमा आफूहरुलाई राजिनामा बुझाउनु पर्ने र त्यसपछि आफूहरुले त्यसमा आवश्यक छलफलपछि राजिनामा स्वीकृति र अस्वीकृतिको निर्णय एन्फामा पठाउँने प्रक्रिया मिचेको भन्दै उनलाई केरकार गरेको थियो।

चेतनारायण ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। तस्बिर: प्रविन कोइराला
‘हामी सेमिफाइनलमा नै नपुग्ने भएपछि मैले नैतिकताका आधारमा राजिनामा दिएको हो,’ चेतनारायाणले भने, ‘अहिले मिश्रित प्रतिक्रिया पाइरहेको छु। धेरैले राम्रो भनिरहेका छन्। केहीले सिस्टम नै थिएन। यसअघि पनि भुटानसँग हारेकै हो। नेशनल टिम र उमेर समूहकै टिममा ७–८ गोल खाइरहेको छ। तत्काल राजिनामा दिइहाल्नुपर्ने कारण पनि थिएन भनेका छन्। तर, राम्रो सिस्टम बसोस् भन्ने मनैबाट लागेर राजिनामा दिएको हुँ।’
अघिल्लो दुई संस्करणको च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरिएपछि धेरैले उनको अनुभव पनि नपुगेको भन्दै प्रश्न उठाए। तर, उनी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। उनी र राष्ट्रिय टिम सम्हालिसकेका बालगोपाल महर्जन दुबैले सँगै २०१६ मा ए लाइसेन्स पास गरेका थिए।
२०४६ सालमै नेपालको यू–१६ हुँदै यू–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका उनले फ्रान्समा १९९८ हुने विश्वकपको छनोटका बेला नेपालको सिनियर टोलीमा समेत स्थान बनाएका थिए। त्यसपछि उनको राष्ट्रिय टोलीको यात्रा उतारचढावपूर्ण रह्यो। घरेलु फुटबलमा उनले आरसीटी, जनकपुर चुरोट कारखाना, एनआरएसी, एनआरटी हुँदै अन्तिम पटक थ्रीस्टारबाट २०५७ र ५८ सालमा खेलेका थिए।
सन् २००१ बाट भने उनी प्रशिक्षणमा प्रवेश गरे। आधारभुत प्रशिक्षण नेपालमै गरेपछि २००७ मा एन्फाले उनीसँगै बालगोपाललाई सी लाइसेन्सको प्रशिक्षणमा पठाएको थियो। २७ देशहरु सहभागि मध्ये त्यहाँ ११ देश छनोटमा परे। तीमध्ये नेपालबाट उनी र बालगोपाल छनोटमा परे। उनीहरुले मलेसिया, कोरियामा उज्वेकिस्तानमा गएर प्रशिक्षणको कोर्ष गरे।
उनीसँग घरेलु ए डिभिजन क्लबहरु संकटा, फ्रेण्ड्स, जावालाखेलको प्रशिक्षण गराइसकेको अनुभव पनि छ। तर, सँगै ए लाइसेन्स गरेका बालगोपाल महर्जनले पटक पटक राष्ट्रिय टिमसम्म हेर्ने मौका पाउँदा यो प्रतियोगिता उनको पहिलो आधिकारिक प्रतियोगिता किन बन्यो त?
उनी भन्छन्, ‘एन्फामा कसलाई कहाँ पठाउने भन्ने सिस्टम नै थिइन्। अहिले हल्काहल्का हुँदैछ। टेक्निकल टिमले कुन प्रतियोगिताका लागि कुनस्तरको प्रशिक्षण चाहिन्छ भनेर सिस्टम बसाल्दैछ। अवसर पाएसम्म मैले राम्रो गरेजस्तो लाग्छ। म भन्दा पनि उ राम्रो छ भने उसले चान्स पाएको हुनसक्छ।’
उनले यसअघि दुईपटक नेपाली उमेर समूहको टिम भारतमा लिएर गएका छन्। अघिल्लो वर्ष आग्रामा एसियन स्कुल प्रतियोगितामा चीन, कोरिया, मलेसिया, थाइल्याण्ड जस्ता देशका १२ टिम आएका थिए। त्यसमा पनि नेपालको यू–१८ टिम लिएर गएका उनको टोलीले पाँचौ स्थान हात पारेको थियो।
यस्तै गोवामा भएको भारतका राज्यराज्यबीचको खेलमा नेपाल र बंगलादेशको टोलीलाई पनि मौका दिइदा उनले नेपालको यू–२१ टोलीको प्रशिक्षकत्व सम्हालेका थिए।
नेपाली यू-१९ टोली
‘केही टेक्निकल कमि कमजोरी ममा पनि रह्यो होला,’ उनले भने, ‘तर, देखिएका गल्तीहरु हाफ टाइम, पहिलो गेममा भएको गल्तीहरु दोस्रो गेममा सुधार गरेका थियौं। मैले खेलाडीलाई अट्याकिङ, डिफेन्डिङ कसरी गर्न आदिबारे दिनुपर्ने सबैकुरा दिएको हो। उनीलाई पनि हामीले भनेको अभ्यासमा त लिन्छन् तर मैदानमा उत्रदा त्यो व्यवहारमा उतार्न भने गाह्रो पर्छ। म चुकेको छु जस्तो लाग्दैन्।’
उनीसँग अनुभव थियो भने नेपाली टोली कहाँ चुक्यो त? उनी यसको मुख्य दुई कारण देख्छन्। एक, तयारीका क्रममा अन्तर्राष्ट्रिय एक्सोजरको कमी र अर्को, खेलाडीहरुले क्षमता अनुसार पटक्कै खेल्न सकेनन्।
गत साउनमा एन्फाले १४ ए डिभिजनका क्लबहरुको यू–१८ टोलीलाई सामेल गरेर ललितस्मृति यू–१८ प्रतियोगिता गरेको थियो। त्यस प्रतियोगिताबाट छानिएका टोलीहरु समेट्दै नेपाली टोली तयार पारिएको थियो।
उक्त टोलीलाई लगातार तेस्रो पटक उपाधि दिलाउने लक्ष्यसहित एन्फाले दुई महिनाअघि चेतनाराणलाई टोली सम्पेको थियो। टोलीले सुरुमा एन्फा कम्प्लेक्समा बन्द प्रशिक्षणसँगै नेपालको यू–२३, यू–१६ विभागीय टोलीहरु पुलिस र एपीएफसँग पनि अभ्यास खेल खेल्यो।
टोलीको अन्तिम तयारी पोखरामा भयो। पोखरामा गएर कास्की ११ र त्यहाँको लिग च्याम्पियनसँग खेल्यो। नेपाली टोली भन्दा उनीहरुको स्तर निकै कमजोर थियो। लिग च्याम्पियनलाई ९ र कास्की ११ लाई नेपाली टोलीले ६ गोल हान्यो।
‘साफमा खेल्ने खेलाडीहरुले आफ्नो लेभल या आफ्नो लेभल भन्दा माथिको खेलाडीसँग खेल्दा राम्रो हुन्थ्यो,’ उनले भने, ‘तर अभ्यासका क्रममा तल्लो लेभलका खेलाडीहरुसँग खेल्नुपर्यो। यसले अन्तर्राष्ट्रिय म्याच एक्सोजरको कमी देखियो। दुई तीनवटा मात्रै खेल्न पाए हुन्थ्यो। जोर्डनमा खेल्ने कुरा पनि भएको थियो। तर, अन्तिममा समय मिलेन भनेर एन्फाको जवाफ आयो।’
‘म्याच फिक्सिङबारे सोचेकै थिइन’
प्रशिक्षक चेतनारायणलाई सबैभन्दा बढी गुनासो त खेलाडीहरुको प्रदर्शनलाई लिएर छ। अभ्यासका क्रममा राम्रो लयमा देखिएका खेलाडीहरुले प्रतियोगिताका दौरान ५० प्रतिशत पनि खेल्न नसकेको उनको बुझाई छ। माल्दिभ्ससँग १–१ मा रोकिएको नेपाली टोली भुटानसँग भने ३–० को लज्जास्पद हार ब्यहार्दै प्रतियोगिताबाट बाहिरिएको थियो।
श्रेष्ठले प्रतियोगिताका दौरान भने म्याच फिक्सिङको बारेमा केही सोचेका थिएनन्। तर, खेलाडीहरुले भने आफ्नो क्षमता बमोजिम पनि प्रदर्शन गर्न नसकेपछि उनलाई अरुले म्याच फिक्सिङको बारे पनि सचेत हुनुपर्ने बताए। केहीले युवा खेलाडीहरुमा म्याच फिक्सिङ रहेको पनि बताउँन भ्याए।

चेतनारायण म्याच फिक्सिङबारे सचेत हुनुपर्ने सुझाव दिन्छन्। तस्बिर: प्रविन कोइराला
त्यो सुन्दा श्रेष्ठको मनमा पनि चिसो पस्यो। ‘मैले त्यस्तो कुरा सोचेकै थिएन। तर, साथीहरुबाट कुरा निस्केपछि क्षमता अनुसारको प्रदर्शन हुन नसक्नुको कारण यो पनि हो कि भन्ने महशुस भयो,’ उनले भने, ‘यो त एकदम सोच विचार गर्ने कुरा आयो। अब प्रशिक्षणमा केटाहरुलाई मोबाईल दिने, यहाँउहाँ जाने केही नगरिकन, सँगसँगै बस्ने, सँगसँगै हिड्ने गर्नुपर्छ भन्ने लागेको छ।’
‘प्रतियोगितामा फिक्सिङको त्यस्तो संकेत त पाएको छैन्,’ उनले थपे, ‘तर, केटाहरुको खेलको आधारमा नी। जुन खेल्नुपर्ने हो भुटानविरुद्ध त्यसको ५० प्रतिशत पनि खेलेनन्। मैले त्यो बेला विचार गरिन तर आज भोलि त्यस्तै त्यस्तै कुरा सुनेपछि यो पनि त कुरा छ है भन्ने भएको छ। किनभने अरुबेला त खेल देखिन्छ नी उनीहरुको। आ–आफै खेल्दा होस् या यू–२३ सँग खेल्दा उनीहरुले यस्तो राम्रो खेलेको थियो। तर, भुटानसँग खेल्दाखेरि के भयो के भयो। त्यसमा चाँही शंका गर्नुपर्ने कुरा मलाई लाग्यो।’
युवासँगै सिनियर टिममा पनि म्याच फिक्सिङको कुरा निस्कने गरेको र यसमा एन्फाले विशेष ध्यान दिनुपर्ने उनले बताए।
‘पहिले मैले संकटा(क्लब)लाई हेर्दा पनि बीचमा यस्तो कुरा निस्केको थियो। खेलाडीहरु अहिले प्रशिक्षक तथा अफिसियललाई पनि ‘स्याक’ हान्ने यस्तो चलाख भैसकेको छ। एकदमै गाह्रो छ,’ उनले भने, ‘नेशनल टिममा पनि यस्तो कुरा निकै सुनिन्छ। नेशनल टिम, युथ लेभलमा एकदमै विचार गर्नुपर्ने देखिन्छ। एन्फाले पनि कसैको थाहा पाइयो भने खबर गर्नु भनेको छ।’
मौका दिएन् एन्फाले
समूहको अन्तिम खेलमा भुटानले माल्दिभ्सलाई कम्तिमा ३ गोलको अन्तरमा हराएमा नेपालको सेमिफाइनल सम्भावना कायम थियो। नेपाललाई त्यतिनै अन्तरले हराएको र बदलिएर आएको भुटानबाट त्यो सम्भावना पनि थियो। तर, भुटानले माल्दिभ्ससँग अन्तिम खेलमा नेपालसँग खेलाएको टोलीमा पूरै सेट परिवर्तन गरेर दोस्रो रोजाईका खेलाडी खेलायो। जसले खेल बराबरीमा रोकियो र नेपालको सेमिफाइनलमा पुग्ने झिनो सम्भावना पनि सकिएको थियो।
‘हामीलाई थोरै भाग्यले पनि साथ दिएन। भुटानले पनि माल्दिभ्ससँग दोस्रो रोजाईको टिमहरु उतार्यो,’ उनले भने, ‘भुटानले माल्दिभ्सलाई ३ गोलमात्रै हानेको भएपनि कार्डको आधारमा हामी सेमिफाइनलमा पुग्थ्यौं। त्यसपछि सेमिफाइनलमा केही गरौंला भन्ने आश थियो। तर, आश निराश भएपछि मैले नैतिकताका आधारमा राजिनामा दिएको हुँ।’
चेतनारायण आफूलाई प्रमाणित गर्न एक मौकाको खोजीमा छन्। तस्बिर: प्रविन कोइराला
अब अर्को महिना नोभेम्बर पहिलो हप्ताबाट हुने एएफसी यू–१९ च्याम्पियनसिपमा यही टालीले नेपालको प्रतिनिधित्व गर्दैछन्। समूह डीमा रहेको नेपाली टोलीमा यूएई, इरान तथा किर्गिस्तान जस्ता बलियो टिम छन्। आफूले इमान्दारिताका साथ राजिनामा दिएकाले मुखैमा आएको उक्त प्रतियोगितामा पुनः आफूलाई प्रमाणित गर्ने एक मौका एन्फाले दिने उनको विश्वास थियो।
‘मैले राजिनामा पत्रमा नै एकपटक आफूलाई प्रमाणित गर्ने मौका दिनुपर्यो भन्ने उल्लेख गरेको छु,’ उनले भने, ‘हुन त ममात्र नभएर अरु प्रशिक्षक पनि छन्। तर, छोटो समयमै अर्को टुर्नामेन्ट भएकाले अर्को कोच आएपछि उनीहरुले खेलाडी चिन्न नै समय लाग्छ। मैले राजिनामा दिएर एउटा सिस्टम बसाल्ने प्रयास गरेको हुँ। अब अभिभावकको हिसाबले एन्फाले मेरो इमान्दारिताको पनि कदर गर्छ भन्ने लागेको छ।’
तर एन्फाले भने उनलाई मौका दिएको छैन्। एन्फाले मेघराज केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
अब उनी के गर्छन् त? भन्छन्, ‘म अहिले पनि एन्फाको शिक्षा विभागमा पनि फुटबल कोच छु। कोर्षहरु गराउन जान्छु। क्लबहरुले पनि अफर गरेको छ। टिम हेर्ने फेरि मौका मिलेन भने दोस्रो विकल्पका लागि म तयार छु।’
यो पनि: च्याम्पियन श्यान्टुले खोजेको एक माैका
यो पनि- रुविना क्षेत्री: आमाले हुर्काएकी स्टार
यो पनि- अप्सरी अठोट: अब निर्धक्क क्रिकेट खेल्छ

प्रतिक्रिया