लामो समयपछि नेपालगन्जमा सुरु भएको अन्तर्राष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रंगशालामा रौनक थपिएको छ।
बाँकेमा आठौँ राष्ट्रिय खेलकुदपछि झन्डै ६ वर्षसम्म ठूलो प्रतियोगिता हुन नसक्दा अलपत्र रहेको नेपालगन्ज रंगशालामा लुम्बिनी कप फुटबलले खेलकुदको रौनक ल्याएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए।
‘लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलका लागि रंगशालालाई चिटिक्क पारिएको छ, आठौँ राष्ट्रिय खेलकुदपछि ठूलो प्रतियोगिता नेपालगन्ज रंगशालामा भएकाले स्थानीय खेलाडी तथा फुटबलप्रेमीमा खुसी छाएको छ’, अध्यक्ष शाहीले भने, ‘नियमति रूपमा ठूला खेलकुद प्रतियोगिता हुनसके नेपालगन्ज रंगशालाको रौनक अझै बढ्दै जानेछ।’
अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता भएकाले लुम्बिनी कप महिला फुटबललाई लक्ष्य गरी केही महिनादेखि नै रंगशालाको सजावट थालिएको थियो। नियमित पानी राख्दा दुबो पलाएर यतिबेला रंगशालामा हरियाली छाएकोे लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आयोजक अन्तरालाका प्रमुख कार्यकारी जयनारायण शाहले बताए।
सरसफाइ र मर्मतमा उचित बजेट नहुँदा जीर्ण बन्दै गएको यो रंगशालामा नियमित अभ्यास हुन सकेको थिएन। आठौँ राष्ट्रिय खेलकुदपछि पहिलोपटक प्रतियोगिता सुरु भएपछि रंगशालामा चहलपहल बढेको साविक मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए।
आठौँ राष्ट्रिय खेलकुदका बेला रोपिएको रु ४० लाखको बर्मुडा दुबोको नामोनिसान मेटिए पनि दैनिक स्याहार गर्दा स्थानीय दुबो पलाएर अहिले नेपालगन्ज रंगशाला आकर्षक देखिएको छ। जिल्ला फुटबल संघ बाँकेको सहकार्यमा शुक्रबार सुरु भई वैशाख १२ गतेसम्म चल्ने ‘लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल’ प्रतियोगितामा भारतको सिलगुडीसहित आठवटा टिमको सहभागिता छ।
प्रतियोगिताको विजेता समूहले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता समूहले रु दुई लाख ५० हजार, ट्रफी, मेडल प्राप्त गर्ने आयोजक अन्तरालका प्रमुख कार्यकारी शाहले जानकारी दिए। रासस
Shares

प्रतिक्रिया