जारी विश्वकपमा अल्जेरियाविरुद्ध ‘ह्याट्रिक’ गोल गरेसँगै अर्जेन्टिनाका कप्तान ३९ वर्षतर्फ लागेका लियोनल मेसीले विभिन्न कीर्तिमान बनाएका छन्।
अमेरिकाको क्यान्सास सिटी रंगशालामा बुधबार बिहान अल्जेरियासँग भएको खेलको १७औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए भने ६० र ७६औँ मिनेटमा २ गोल गर्दै उनले ह्याट्रिक पूरा गरे।
जारी विश्वकपमा साबिक विजेता अर्जेन्टिनाको सानदार विजय सुरुवात गराएका उनले आफ्ना नाममा पनि विभिन्न कीर्तिमान बनाएका छन्।
यसअघिसम्म विश्वकपमा १३ गोल गरेका मेसीले आज ३ थप्दै १६ गोल बनाएसँगै जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका हुन्।
मेसी आज ३८ वर्ष ३५७ दिनका भए। अर्थात् उनी विश्वकप इतिहासमै सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडी पनि बनेका छन्। यसअघि यो कीर्तिमान क्रिस्टियानो रोनाल्डो (३३ वर्ष १३० दिन) को नाममा थियो।
त्यस्तै मेसी ६ वटा विश्वकप खेल्ने पहिलो खेलाडी पनि बनेका छन्। मेसीले यसअघि सन् २००६, २०१०, २०१४, २०१८ र २०२२ गरी पाँचपटक विश्वकप खेलिसकेका छन्।
साथै मेसीले अर्जेन्टिनाका लागि २००औँ क्याप जितेका छन्। यो खेल मेसीको अर्जेन्टिनाको जर्सीमा २००औँ अन्तर्राष्ट्रिय खेलका रूपमा दर्ज भएको छ।
मेसीले खेलको १७औँ मिनेटमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरेसँगै विश्वकपमा डी-बक्स बाहिरबाट गरेको गोल संख्या ५ पुर्याएका छन्। अर्थात् उनले सन् १९६६ यता विश्वकपमा डी-बक्स बाहिरबाट ५ गोल गर्ने ब्राजिलका पूर्वखेलाडी रिभेलिनोको कीर्तिमानसँग बराबरी गरेका छन्।
त्यस्तै मेसी जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्।
साथै मेसी अर्जेन्टिनाका लागि सर्वाधिक युवा गोल स्कोरर र सर्वाधिक पाका गोल गर्ने दुवै बनेका छन्।
Shares

प्रतिक्रिया