ad ad

खेल


जित्नैपर्ने दबाबमा अर्जेन्टिना

जित्नैपर्ने दबाबमा अर्जेन्टिना

नेपालखबर
मंसिर १०, २०७९ शनिबार ७:५८, काठमाडौँ

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले शनिबार मध्यराति मेक्सिकोको सामना गर्दै छ।

समूहको पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएको अर्जेन्टिनालाई माथिल्लो चरणमा प्रवेशका लागि शनिबार हुने खेल जित्नैपर्ने दबाब छ। शनिबार मध्यराति पौने १२ बजे कतारको लुसेल स्टेडियममा अर्जेन्टिना र मेक्सिको आमनेसामने हुँदै छन्।

शनिबारको खेलमा बराबरी मात्र भए अर्जेन्टिनाले आफ्नो अन्तिम खेलमा पोल्याण्डलाई हराएर मात्र पुग्दैन, अन्य टोलीको नतिजामा पनि निर्भर हुनुपर्ने हुन्छ। शनिबारको खेलमा हारको सामना गरेको अवस्थामा भने अर्जेन्टिना यो विश्वकपबाट बाहिरिनेछ। 

शनिबारको खेलअघि अजेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले खेलाडीहरुलाई डिएगो म्याराडोनाको स्मृतिलाई सम्मान गर्न आग्रह गरेका छन्। म्याराडोनाको दोस्रो स्मृति दिवसको अवसरमा उनले यस्तो बताएका हुन्। म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए। 

शनिबारको खेलमा जित हात पार्न नसकेको खण्डमा अर्जेन्टिनाको माथिल्लो चरणको सम्भावना निकै कमजोर बन्नेछ। ‘भोली हामी  म्याराडोनाको लागि खुसी ल्याउने आशा गर्नेछौं। उनले हामीलाई आकाशबाट हेरिरहेका हुनेछन्। हाम्रो लागि यो सबैभन्दा महत्वपूर्ण कुरा हो’, स्कालोनीले भने। 

‘जहिले पनि उनको बारेमा सोच्दा उनी हामीसँग छैनन् भन्ने पत्याउन मुस्किल हुन्छ’, उनले भने। स्कालोनीले आफूहरु हारबाट उठेर अघि बढ्ने विश्वास पनि व्यक्त गरेका छन्। उनले समूहमा आफूहरु जोखिममा परिसकेकाले अब हारलाई बिर्सेर अघि बढ्नुपर्ने जरुरी रहेको पनि उल्लेख गरे। 

उनले दोस्रो खेल पनि पहिलो खेलजस्तै हुन सक्ने कुरामा आफूहरु विशेष सतर्क रहनुपर्ने बताए। उनले आफूहरुलाई जितको कुनै विकल्प नरहेको पनि स्वीकार गरे। उनी आफूहरु कुनै पनि परिस्थितिमा अहिलेको अवस्था उल्ट्याउन तयार रहेको दाबीसमेत गरे। 

मेक्सिकोका प्रशिक्षक गेरार्डो मार्टिनो भने शनिबारको खेलमा मेक्सिकोले जित हात पार्ने दाबी गर्छन्। उनी शनिबारको खेलमा जित हात पार्दै आफ्नो अन्तिम १६ को यात्रा सहज बनाउने योजनामा आफूहरु रहेको बताउँछन्।

उनले दुवै टोलीको लागि शनिबारको खेल महत्वपूर्ण भए पनि आफूहरु जितको लागि मैदानमा उत्रिने बताए। उनले पहिलो खेलमा पोल्याण्डसँग जित हात पार्नुपर्नेमा आफ्नो टोली चुकेको स्वीकार गरे। त्यसैले पनि शनिबारको खेलमा जितको हात पार्नुपर्ने दबाब आफूहरुसँग रहेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .