खेल


१६ वर्षदेखि युरोपको कब्जामा विश्वकप ट्रफी, ब्राजिल र अर्जेन्टिनालाई फुत्काउने चुनौती

१६ वर्षदेखि युरोपको कब्जामा विश्वकप ट्रफी, ब्राजिल र अर्जेन्टिनालाई फुत्काउने चुनौती

नेपालखबर
मंसिर १७, २०७९ शनिबार १८:३, काठमाडौँ

सबैभन्दा धेरै विश्वकप उपाधि जित्ने टोली दक्षिण अमेरिकी देश ब्राजिल हो। जसले सर्वाधिक ५ पटक विश्वकप जितेको छ। तर पछिल्लो समयमा विश्वकपमा भने युरोपेली देशहरु हाबी हुन थालेका छन्। 

२००२ पछिका चार वटा विश्वकप युरोपेली देशले उम्किन दिएका छैनन्। पालैपालो युरोपेली देशहरुले नै जित्दै आएका छन्। 

२००६ मा इटालीले जित्यो। २०१० मा स्पेन र २०१४ मा जर्मनीले उपाधि जित्यो। २०१८ मा फ्रान्सले उपाधिजित्दा लगातार चार विश्वकपमा अमेरिकी देशहरु खालीहात भए। 

यी चार विश्वकपमा एक पटक मात्रै दक्षिण अमेरिकी देश फाइनलसम्म पुग्यो। २०१४ मा अर्जेन्टिना फाइनलमा पुग्नुबाहेक अमेरिकी देशहरु उपाधिको आसपास पनि पुग्न सकेका छैनन्। 

२००२ को उपाधि विजेता ब्राजिल त्यसपछिका तीन विश्वकपमा क्वार्टरफाइनलबाटै बाहिरिएको छ। २०१४ मा भने सेमिफाइनलसम्म पुगेको थियो। 

अर्को दक्षिण अमेरिकी देश अर्जेन्टिना सधैंको उपाधि दाबेदारमा गनिन्छ। २००२ मा समूह चरणबाटै बाहिरिएको थियो। त्यसपछिका २ संस्करणमा क्वार्टर फाइनल पुगेको अर्जेन्टिना २०१४ मा उपाधि नजिक पुगेर पनि चुक्यो। फाइनलमा जर्मनीसँग पराजित हुँदा विश्वकपको ट्रफी युरोपको कब्जाबाट फुत्किन सकेन। 

त्यसपछि २०१८ मा फ्रान्सले अन्तिम १६ बाटै अर्जेन्टिनालाई बिदा गरिदियो। दक्षिण अमेरिकी देशको अर्को पूर्व विश्वविजेता हो उरुग्वे। पहिलो विश्वकप जितेको उरुग्वेको पनि पछिल्लो विश्वकपमा सेमिफाइनलबाट माथि जान सकेको छैन। 

२०१० मा सेमिफाइनलमा पुगेको अर्जेन्टिना त्यसअघि २००६ मा छनोट नै हुन सकेको थिएन। २०१४ मा अन्तिम १६ बाट बाहिरियो। २०१८ मा क्वार्टरफाइनलबाट बाहिरिएको थियो। यस पटकको विश्वकपमा दुई पूर्व विजेता ब्राजिल र अर्जेन्टिनाले अघिल्लो चरण पक्का गर्दा उरुग्वे भने समूह चरणबाटै घर फर्किएको छ। 

१९३० मा विश्वकप सुरु हुँदा पहिलो विश्वकपनै उरुग्वेले जितेको थियो। त्यसपछि लगातार दुई पटक इटलीले जित्यो। १९५० मा पनि उरुग्वेले उपाधि जितेको थियो। उरुग्वेले ७२ वर्ष पुग्यो विश्वकप जित्न नसकेको। दक्षिण अमेरिकाबाट विश्वकपमा सहभागी भएको अर्को देश इक्वेडर भने यस पटक पनि समूह चरणबाटै बाहिरिसकेको छ। 

१९७८ मा पहिलो पटक विश्वकप जितेको अर्जेन्टिनाले पनि १९८६ मा अर्को उपाधि थप्यो। त्यस यता ऊ पनि खालीहात छ। 

ब्राजिलले १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकप जितेको छ। २० वर्ष पहिलेसम्म युरोपमाथि हाबी दक्षिण अमेरिकी देशहरु २० वर्षयता भने उपाधिविहीन छन्। 

अहिलेसम्म युरोपेली देशहरुले १२ पटक र दक्षिण अमेरिकी देशले ९ पटक विश्वकप जितेका छन्। युरोपेली देश जर्मनी र इटलीले समान ४ पटक जित्दा फ्रान्सले २ पटक, स्पेन र इङ्ल्याण्डले समान १ पटक उपाधि उचालेका छन्। 

२२ औं संस्करणसम्म आइपुग्दा युरोप र दक्षिण अमेरिकाबाट विश्वकपको उपाधि बाहिर जान सकेको छैन। यसपटक पनि यिनै देश दाबेदार देखिएका छन्। 

एउटा समूहबाट फेरि पनि युरोपेली देशहरु अगाडि बढ्ने निश्चित भइसकेको छ। पूर्वविजेताहरु फ्रान्स, इङ्ल्याण्ड, स्पेनसहित पोर्चुगल एउटै समूहमा छन्। यी मध्ये एउटा देश फाइनलमा पुग्ने छ। 

अर्को समूहमा छन् दक्षिण अमेरिकी देशहरु अर्जेन्टिना र ब्राजिल। आ-आफ्ना खेल जिते यी दुईको भेट सेमिफाइनलमा मात्रै हुनेछ।

फाइनलमा दक्षिण अमेरिकी एउटा देश पुग्ने सम्भावना देखिन्छ। त्यसो भएको खण्डमा यस पटकको विश्वकपको उपाधि भिडन्त दक्षिण अमेरिकी भर्सेस युरोपेली देशबीच हुनेछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .