ad ad

सुदूरपश्चिम


कैलाली १ : पति रेशमको विरासत जोगाउलिन् रञ्जिताले?

कैलाली १ : पति रेशमको विरासत जोगाउलिन् रञ्जिताले?

गोकुल जोशी
भदौ १५, २०७९ बुधबार ७:४, कञ्चनपुर

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सत्तागठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई उछिन्दै कैलालीमा नागरिक उन्मुक्ति पार्टी सशक्त रुपमा उदायो।

वि.सं.२०७२ सालमा टीकापुरमा ८ जना सुरक्षाकर्मी र एक बालकको हत्या घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका सांसद रेशम चौधरीको पार्टी हो– नागरिक उन्मुक्ति।

यो पार्टीको केन्द्रीय अध्यक्ष चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ छन्। स्थानीय तह निर्वाचनको करिब तीन महिनाअगाडि निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टी कैलालीमा ठूला राजनीतिक दललाई माथ दिँदै बलियो राजनीतिक शक्तिका रुपमा उदाएको हो।

कैलालीका १३ स्थानीय तहमध्ये नागरिक उन्मुक्ति पार्टीले ४ स्थानीय तहमा बाजी मारेको थियो। उसले भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै र टीकापुर नगरपालिकामा प्रमुख जितेको छ।

आउँदो मंसिर ४ गते तोकिएको संसदीय चुनावमा देशभर अधिकांश ठाउँमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

स्थानीय तह निर्वाचनको मतपरिणामको आधारमा कैलालीका केही क्षेत्रमा सत्ता गठबन्धन, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

यी मध्येको एक ठाउँ हो, कैलाली निर्वाचन क्षेत्र नम्बर १। ०७४ सालको संसदीय निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका रेशम चौधरी भारी मतान्तरले विजयी भएका थिए।

यो क्षेत्रबाट यसपटक नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रेशम पत्नी रन्जिताले संसदीय चुनाव लड्ने घोषणा गरेकी छन्। रेशम यसपटक बर्दिया–२ बाट निर्वाचन लड्ने योजनामा छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले जितेका ४ पालिकाको भूभाग पर्छ। नागरिक उन्मुक्ति पार्टीको आधार इलाका मानिएको कैलाली १ लाई सत्तारुढ गठबन्धन र नेकपा एमालेको अंकगणित उथलपुथल पार्ने क्षेत्रको रुपमा हेरिएको छ।

रेशमको विरासत जोगाउन चुनौती
टीकापुर हत्याकाण्डका आरोपी रहेका चौधरी ०७४ को निर्वाचनमा भूमिगत थिए। भूमिगत अवस्थामै निर्वाचन लडेका उनले वामगठबन्धनबाट एमालेकी मदनकुमारी शाह (गरिमा) लाई २० हजार ९३५ मतान्तरले पराजित गरेका थिए।

चौधरीले ३४ हजार ३४१ मत ल्याउँदा शाहले १३ हजार ४०६ मत मात्रै ल्याएकी थिइन्। शाह अहिले नेकपा एकीकृत समाजवादीकी सुदूरपश्चिम इन्चार्ज छन्। भारी मतान्तरले विजयी भए पनि हत्याकाण्डमा मुछिएका रेशम संसद छिर्न पाएनन्। 

सत्तारुढ गठबन्धनविरुद्ध कैलाली १ मा पहिलो पटक संसदीय चुनाव ‘फेस’ गर्न लागेकी रन्जितालाई रेशमको विरासत जोगाउनु पर्ने चुनौती छ। कैलालीमा नागरिक उन्मुक्ति पार्टीले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने चर्चा पनि व्यापक छ।

नागरिक उन्मुक्ति पार्टीका कैलाली अध्यक्ष कैलाश चौधरी आफूहरुले कसैसँग तालमेल नगरेर एक्लै चुनावमा जाने बताउँछन्। 

‘हामी एक्लै चुनावमा जान्छौँ, झुठा मुद्दामा फसाएर जनप्रतिनिधिलाई जेलमा थुनियो, यस क्षेत्रका जनतालाई जनप्रतिनिधिविहिन बनाइयो,’ उनले नेपालखबरसँग भने, ‘यो यस क्षेत्रका बासिन्दाले राम्रोसँग बुझेका छन्, हाम्रो जित निश्चित छ।’

कांग्रेसबाट रामजनम चौधरी
सत्तारुढ गठबन्धनबाट कैलाली १ मा नेपाली कांग्रेसको सशक्त दाबी छ। कांग्रेसका नेता तथा पूर्वमन्त्री रामजनम चौधरीले यसपटक कैलाली १ बाट चुनाव लड्ने घोषणा गरी सकेका छन्।

चौधरी यसअघि कैलाली ३ नम्बर क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार गौरीशंकर चौधरीसँग पराजित भएका थिए। अहिले चौधरी माओवादी त्यागेर नेकपा एमालेमा छन्।

 रामजनम वि.सं. २०४८ सालदेखि २०७४ सालसम्म अपराजित नेता हुन्। उनले ०४८, ०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जिते। 

०५१ सालमा एमालेको लहर चलेको बेला पनि उनले जित हात पारे। ०६४ सालमा चुनाव लड्दा जित सुनिश्चित नहुने बुझेपछि विजय गच्छदारको पार्टीमा प्रवेश गरेर समानुपातिक कोटाबाट उनी सभासद चुनिएका थिए।

०७० सालमा दोस्रो संविधानसभाको चुनावमा मधेशी जनअधिकार फोरमबाट कैलाली क्षेत्र नम्बर ३ बाट चुनाव जिते। अनवरतरूपमा सांसद हुँदै आएका रामजनमले पहिलोपटक ०७४ सालको चुनावमा पराजयको स्वाद चाख्नु परेको थियो। 

कैलाली ३ मा रामजनम वामगठबन्धनबाट माओवादीका गौरीशंकरसँग ४ हजार ३८५ मतान्तरले पराजित भए। त्यस बेला गौरीशंकरले २४ हजार ८७९ मत ल्याउँदा रामजनमले २० हजार ४९४ मत मात्रै ल्याएका थिए। 

यसपटक गठबन्धनको साथले ०७४ को हारको बदला लिँदै रामजनम जित निकालेर फेरि संसद यात्रा तय गर्ने योजनामा छन्। 

‘थारु समुदायकोे बाहुल्यता रहेको क्षेत्र भएकाले उहाँ (रामजनम)को राम्रो प्रभाव छ, त्यसैले उहाँले नै टिकट पाउने सम्भावना बढी छ,’ नेपाली कांग्रेस कैलाली १ का क्षेत्रीय सभापति प्रकाश शाह भन्छन्, ‘हामी अरु दल भन्दा बलियो छौँ, गठबन्धनमा पनि यो क्षेत्र कांग्रेसको भागमा पर्छ।’

एमालेबाट को?
नेकपा एमालेबाट क्षेत्र नम्बर १ मा हिमाञ्चलराज भट्टराई र प्रेम साउदले चुनाव लड्ने आकांक्षा देखाएका छन्। यस्तै, सोम थापा र तपेन्द्र रावलले पनि एमालेबाट क्षेत्र नम्बर १ मा दाबी गरेका छन्। 

अरूभन्दा बलिया र पुराना नेता भट्टराई र साउद भएकाले उनीहरूमध्ये एक जनालाई एमालेले चुनावी मैदानमा उतार्न सक्ने नेकपा एमालेका एक नेताको दाबी छ।

यस्तो छ अंक गणित
निर्वाचन क्षेत्र नम्बर १ मा टीकापुर नगरपालिका ९, जोशीपुर गाउँपालिकाका ७, जानकी गाउँपालिकाका ५ र भजनी नगरपालिकाका २ वडा गरेर कूल २३ वडा पर्दछन्।

यी पालिकामध्ये टीकापुरको उपमेयर बाहेक अन्यको प्रमुख र उपप्रमुखमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ। स्थानीय तहको निर्वाचनको मतपरिणामले नागरिक उन्मुक्ति पार्टी हौसिएको छ। 

नागरिक उन्मुक्ति पार्टीले कैलाली १ मा पर्ने २३ वडामध्ये ११ वडामा जित निकालेको छ। जुन सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको भन्दा बढी हुन आउँछ। माओवादीले ५, कांग्रेस र एमाले ३/३ तथा जसपाले एक वडा जितेको छ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा पनि  सबैभन्दा बलियो नागरिक उन्मुक्ति देखिन्छ।

१ नम्बर क्षेत्रमा पर्ने २३ वडाका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले १७ हजार १९३ मत पाएका छन्।

कांग्रेस उम्मेदवारले ११ हजार ६७८ मत पाउँदा एमाले उम्मेदवारले १० हजार ३२२ मत पाएका छन्।

यस्तै, माओवादीले ६ हजार ९३० मत, राप्रपाले ३ हजार ५६१, जसपाले २ हजार ३०२ र नेकपा एकीकृत समाजवादीले २ हजार २३२ मत पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .