सुदूरपश्चिम


रेशमको क्षेत्रमा पूर्वमन्त्रीसहित कांग्रेसका ४ जना सिफारिस, को होला रञ्जिताको प्रतिस्पर्धी?

रेशमको क्षेत्रमा पूर्वमन्त्रीसहित कांग्रेसका ४ जना सिफारिस, को होला रञ्जिताको प्रतिस्पर्धी?

गोकुल जोशी
भदौ १७, २०७९ शुक्रबार १६:५२, कञ्चनपुर

कैलाली क्षेत्र नं. १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट पूर्वमन्त्री रामजनम चौधरीसहित चार जनाको नाम सिफारिस भएको छ।

कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्य समितिले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ४ जनाको नाम जिल्ला कार्य समितिलाई सिफारिस गरेको क्षेत्रीय सभापति प्रकाश शाहले बताए।

उनका अनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ चौधरीसँगै बुद्धिसागर चौधरी, नृपबहादुर खड्का र टेकेन्द्रबहादुर धामीको नाम सिफारिस भएको छ।

क्षेत्रीय कार्य समितिले प्रतिनिधि सभा समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस गरेको छ। 

यस्तै, प्रदेशसभा (१) तर्फ प्रत्यक्षमा चार जनाको नाम सिफारिस भएको छ। सिफारिसमा पर्नेमा चुनिराम चौधरी, वीरबहादुर हमाल, रामकृष्ण चौधरी र राम रसिले चौधरी रहेका छन्। सोही प्रदेश सभाबाट समानुपातिकमा १२ जनाको नाम सिफारिस भएको छ।  

प्रदेश सभा (२) बाट प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रणबहादुर रावल र धिजराज रेग्मीको नाम सिफारिसमा परेको छ।

यहाँबाट समानुपातिकमा १३ जनाको नाम सिफारिस भएको क्षेत्रीय कार्यसमितिले जनाएको छ। यो क्षेत्र ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीका रेशम चौधरीले जितेको क्षेत्र हो।

वि.सं.२०७२ सालमा टीकापुरमा ८ जना सुरक्षाकर्मी र एक बालकको हत्या घटनामा दोषी ठहर भएर चौधरी अहिले जेल जीवन बिताइरहेका छन्।

०७४ को निर्वाचनमा भूमिगत अवस्थामै निर्वाचन लडेका उनले वामगठबन्धनबाट एमालेकी मदनकुमारी शाह (गरिमा) लाई २० हजार ९३५ मतान्तरले पराजित गरेका थिए।

यो क्षेत्रबाट यसपटक नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रेशम पत्नी रन्जिताले संसदीय चुनाव लड्ने घोषणा गरेकी छन्। 

कैलालीका १३ स्थानीय तहमध्ये नागरिक उन्मुक्ति पार्टीले ४ स्थानीय तहमा बाजी मारेको थियो। उसले भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै र टीकापुर नगरपालिकामा प्रमुख जितेको छ।

नागरिक उन्मुक्ति पार्टीले जितेकै पालिकाका भूभाग कैलाली १ निर्वाचन क्षेत्रमा पर्दछन्।

गठबन्धनमा कैलाली १ मा नेपाली कांग्रेसको पनि सशक्त दाबी छ। गठबन्धनको सीट भागबण्डामा कैलाली १ कांग्रेसको पोल्टामा परेमा प्रत्यक्षतर्फ सिफारिस चार जनामध्ये कुनै एक जनाले टिकट पाउने पक्का छ।

कांग्रेसबाट पूर्वमन्त्री रामजनम चौधरीले टिकट पाउने सम्भावना बढी रहेको कांग्रेस नेताहरु बताउँछन्। 

‘थारु समुदायकोे बाहुल्यता रहेको क्षेत्र भएकाले उहाँ (रामजनम)को राम्रो प्रभाव छ, त्यसैले उहाँले नै टिकट पाउने सम्भावना बढी छ,’ कांग्रेसका एक नेताले भने, ‘हामी अरु दल भन्दा बलियो छौँ, गठबन्धनमा पनि यो क्षेत्र कांग्रेसको भागमा पर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad