ad ad

सुदूरपश्चिम


बाढीपहिराबाट ज्यान गुमाएकाका परिवारलाई जनही १ लाख दिने निर्णय

बाढीपहिराबाट ज्यान गुमाएकाका परिवारलाई जनही १ लाख दिने निर्णय

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज ४, २०७९ मंगलबार ६:१९, काठमाडौँ

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा बाढी र पहिराबाट ज्यान गुमाएकाका परिवारलाई जनही रु एक लाख दिने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा साेमबार बसेको प्रदेश विपत् कार्य समितिको बैठकले मृतकका परिवारलाई रु एक लाख र  प्रतिव्यक्ति रु २० हजार थप क्रिया खर्च उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले जानकारी दिए। बैठकले घर पूर्ण रुपमा क्षति भएका परिवारलाई जनही रु ५० हजार क्षतिपूर्ति दिने निर्णय गरेको  छ।

पछिल्लो समय डेङ्गुको समेत प्रकोप बढेकाले यसको नियन्त्रणका लागि झूल रु १० लाखको खरिद गरी वितरण गरिने छ। त्यस्तै विपत्बाट पीडित परिवारलाई त्रिपाल र म्याट रु १०÷१० लाखको खरिद गरी वितरण गर्ने निर्णय भएको छ।

त्यसैगरी बाढी र पहिराबाट विस्थापित भएका घरपरिवारलाई जिल्ला प्रशासन कार्यालयबाट प्राप्त प्रारम्भिक द्रुत लेखापरीक्षणमा आधारित भई प्रतिपरिवार रु दुई हजारका दरले खाद्यान्नबापत रकम वितरण गर्न विभिन्न स्थानीय तहलाई रु एक करोड उपलब्ध गराउन स्वीकृतिका लागि प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ को दफा ११ को उपदफा (२)  बमोजिम प्रदेश विपद् व्यवस्थापन परिषद्मा पेस गरिने मन्त्री रावलले बताए। 

विपद्का कारण जनजीवन विच्छेद भएका स्थानमा राहत सामग्री पुर्याउन सङ्घीय सरकारसँग समन्वय गरी आवश्यक ढुवानीको व्यवस्था गरिने छ। जिल्ला विपद् व्यवस्थापन समिति अछाम, कैलाली र कञ्चनपुरबाट माग भएबमोजिम बाढी, पहिरो पीडित/प्रभावितलाई राहत सामग्री यथाशीघ्र उपलब्ध गराउने निर्णय गरिएको जनाइएको छ।

गत शुक्रबार बाढीपहिरामा परी अछाम जिल्लामा २२ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएको आन्तरिक मामिला तथा  कानुन मन्त्रालयका उपसचिव विश्वदीप बेस्राले बताए। कैलालीमा तीन र कञ्चनपुरमा दुईजनाको मृत्यु भएको थियो। 

त्यस्तै बाढी र पहिरामा परी कैलालीमा पाँच हजार ७८, कञ्चनपुरमा चार सय २० र अछाममा एक सय ११ परिवार विस्थापित भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .