ad ad

सुदूरपश्चिम


दसैँ बिदामा घुम्दै हुनुहुन्छ? यी हुन् सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्य

दसैँ बिदामा घुम्दै हुनुहुन्छ? यी हुन् सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्य

गोकुल जोशी
असोज १६, २०७९ आइतबार १३:१, कञ्चनपुर

दसैँ तिहारले घर बाहिर भएकाहरु गाउँ फर्किएका छन्। फुर्सदिलो बिदाको यो समयमा परिवार, साथीसगीं घुम्न जाने संस्कृति विकास भइरहेको छ। न त चिसो, न त गर्मी। चाडबाड पेरिफेरीको यो समयको मौसम घुम्नका लागि पनि राम्रो मानिन्छ।

यो दसैँमा भरपुर मनोरञ्जन लिने सोचमा हुनुहुन्छ? त्यसका लागि घुम्न जाने तयारीमा हुनुहुन्छ भने सुदूरपश्चिममा यस्ता रमणीय स्थानहरु छन् जहाँ पुग्दा आनन्दको अनुभुति मिल्नेछ।

धार्मिक पर्यटकीय सम्पदाले भरिपूर्ण सुदूरपश्चिमका मुख्य–मुख्य गन्तव्यबारे हामी यहाँ तपाईंहरुलाई जानकारी दिदैछौंः

खप्तड
सुदूरपश्चिमका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछामको संगम स्थलमा अवस्थित छ, प्रसिद्ध पर्यटकीय स्थल खप्तड। ‘भू–स्वर्ग’को नामले चिनिने यो क्षेत्र अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गरेको छ।

खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यस वरपर २२ वटा पाटन छन्, जुन अवलोकन गर्दा पर्यटकहरूको मन प्रफुल्ल हुन्छ। 

समुद्री सतहबाट २ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटरसम्मको उचाइमा २ सय २५ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जमा विश्वमै अति दुर्लभ दलदले घाँसे मैदान छ।

चारैतिर खस्रु, धुपीसल्ला र लालीगुराँसको घारीका बीचमा रहेको पाटन, रङ्गिविरङ्गी फूलहरू, दह, त्रिवेणी, नागढुङ्गा, खप्तडबाबाको आश्रम सुन्दर घनघोर जंगल खप्तडको विशेषता हो।

प्रसिद्ध पर्यटकीय स्थल खप्तड।

यस्ता प्राकृतिक दृष्य नियाल्दै जाँदा कलकल बग्ने दर्जनौं खोला, त्रिवेणी सीतापाइला मन्दिर, त्रिवेणी धाम २२ पाटनको सुन्दरताले यहाँको आकर्षणमा सुगन्ध थप्छ। 

पर्यटकीय स्थल खप्तड।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट डोटीको सिलगढीसम्म सार्वजनिक यातायातका साधन पाइन्छ। सिलगढी झिकरानासम्म भाडाको गाडी र त्यहाँबाट एक दिनको पैदल हिँडेपछि खप्तड पाटनमा पुगिन्छ।

दोधारा चाँदनी झोलुगें पुल
कञ्चनपुरको भीमदत्त र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको यो पुल नेपालकै सबैभन्दा लामो झोलुगें पुल हो।

यहाँ वर्षेनि हजारौं स्थानीय र बाह्य पर्यटकहरू पुल अवलोकन गर्न आउने गरेका छन्। दोधाराचाँदनी झोलुङ्गे पुल कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब ९ किलोमिटरको दुरीमा पर्छ। 

कञ्चनपुरकाे दोधारा चाँदनी झोलुगें पुल।

यसबाहेक कञ्चनपुरको बेदकोट ताल, झिलमिला ताल, शिव लिङ्गेश्वर धाम, ऐतिहासिक ब्रह्मदेव बजार, भम्केनी धाम लगायतका गन्तव्यले पर्यटकको मन लोभ्याउने गरेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
कञ्चनपुरमा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगाको विशाल झुण्डका साथै अन्य जीव–जन्तुहरू पनि प्रशस्त देख्न पाइन्छ। निकुञ्जमा जंगल सफारीका पनि गर्न सकिन्छ। 

निकुञ्जभित्र सानाठूला धेरै फाँटा छन्। हिरापुर फाँटामा कृष्णसार संरक्षण गरिएको छ। आरक्षको एकछेउ हात्तीसार रहेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, खरायो, हात्ती, गैँडा लगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ। जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटाभित्र आधा दर्जनभन्दा बढी तालहरू छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मृग।

यो भित्रका रमणीय तालमा ताराताल, रानीताल, बठनिया ताल, बाउन्नेताल, शिकारीताल, सलगौडी ताल र बाबाताल हुन्। ३ सय ५ वर्गकिलोमिटरमा फैलिएको शुक्लाफाँटा आरक्षको कुल भू–भागको १० प्रतिशत सिमसारक्षेत्र छ। जहाँ विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानको रूपमा रहेको छ।

१० हेक्टर क्षेत्रफलमा फैलिएको ताराताल चरासँगै मगर गोहीको बासस्थान भएकाले पर्यटनकहरु सहजै अवलोकन गर्न पाउँछन्। सदरमुकाम महेन्द्रनगरबाट ३/४ किलोमिटरको दुरी निकुञ्ज पर्छ।

कर्णाली पुल
सुदूरपश्चिम प्रदेशको प्रवेशद्धार हो– कर्णाली पुल। नेपालकै लामो नदी कर्णाली र त्यही नदीमा निर्माण गरिएको एकखम्बे पुललाई कर्णाली पुल भनेर चिनिन्छ।

सुदूरपश्चिमकाे प्रवेशद्धार कर्णाली पुल।

यो पुलको लम्बाइ ५ सय मिटर र चौडाइ १४ मिटर छ। सुन्दर कर्णाली नदीको अवलोकन गर्न र कर्णाली नदी स्वादिष्ट माछासँगै ¥याफ्टिङ आनन्दका लागि यहाँ दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन्।

बडिमालिका
भू–स्वर्गको उपमा पाएको बडिमालिका बाजुरामा पर्छ। भगवान शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण छ।

नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन्।

बाजुराकाे  बडिमालिका।

यहाँका सौन्दर्यका रुपमा विशाल फाँटहरू रहेका छन्। समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ, बडिमालिका। 

बाजुराको सदरमुकाम मार्तडी बजारबाट पैदल हिँडेर जाँदा २÷३ दिनमा बडिमालिका पुग्न सकिन्छ। यसका साथै बुढीनन्दा, छेडेदह पनि यहाँका घुम्नलायक ठाउँ हुन्।

अपि बेस क्याम्प, दार्चुला
दार्चुलाको अपि हिमाल (७,१३२ मिटर) आधार शिविरसम्म पदयात्रा रमाइलो हुन्छ। जहाँ अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा र बबईलगायतका हिउँचुली लहरै रहेका छन्।

यहाँँ हिउँ चितुवा, रेडपान्डा, मृग, घोरल, झारल, भालु आदि पाइन्छन्। डाँफे, मुनाललगायतका चरा पनि देख्न सकिन्छ। 

नेपालको विशिष्ट पहिचान बोकेको र अन्य समुदायभन्दा फरक सौका समुदायको बसोबास रहेको व्यास उपत्यका दार्चुलाको पश्चिमोत्तर कुनामा पर्छ।

कैलाश मानसरोवर प्रवेश गर्ने मुख्यद्वार व्यास उपत्यका नै हो। उपत्यकाको प्राकृतिक सौन्दर्यका साथै सौका समुदायको वैभवशाली परम्परा र संस्कृति यहाँको मनै लोभ्याउने अर्काे आकर्षण हो।

दार्चुलाको अपि हिमाल।

उत्तरमा चीन र पूर्वमा बझाङ जिल्लाले छोएको दार्चुलाको अति रमणीय ठाउँ हो, घुसा खण्डेश्वरी। 

अपि हिमालको काखमा बसेको सुन्दर घुसार र खण्डेश्वरी पर्यटकका लागि भर्जिन स्थल हुन्। यसका साथै पश्चिममा डोटी राज्यको दबदबा रहेको बेला दार्चुलाको महाकाली किनारमा रहेको सुरम्य फाँटबाट महाकालीपारिको हाल भारत अधीनस्थ कुमाउँ र गढवालमा शासन गर्ने पालवंशी राजाहरूको उँकु दरबार पनि दार्चुलामा छ।

प्राचिन समयमा ऋषिमुनीहरूले कैलाशपतिको कष्टसाध्य तपस्या गरेर लोकहितका अनेक कृयाकलापका लागि शिव–पार्वतीलाई खुशी तुल्याएको क्षेत्रको रुपमा रहेको तपोवन पनि प्रख्यात छ।

यस्ता छन् डडेल्धुराका गन्तव्य
डडेल्धुरामा प्रकृतिको सुन्दर रूपसँगै ऐतिहासिक महत्व बोकेका थुप्रै भौतिक संरचनाको अवलोकन गर्न सकिन्छ। डडेल्धुराका प्रसिद्ध मन्दिरहरूमा उग्रताराको मन्दिर र घटाल बाबाको मन्दिर, भागेश्वर, जोगबुडा उपत्यकामा रहेको भगवान् परशुरामको मन्दिर रहेका छन्।

उग्रताराको मन्दिर।

डडेल्धुरा पुग्नेहरूको पहिलो रोजाइ उग्रतारा मन्दिर हुन्छ। यो सुदूरपश्चिमकै ठूलो शक्तिपीठ मानिन्छ। डडेल्धुरामा रहेको ऐतिहासिक किल्ला हो–अमरगढी किल्ला। ऐतिहासिक दृष्टिले यो किल्ला महत्वपूर्ण मानिने भएकाले यो किल्लाको अवलोकन गर्नका लागि पनि पर्यटकहरूको घुइँचो लाग्छ।

डडेल्धुरामा रहेको ऐतिहासिक अमरगढी किल्ला।

यसका साथै अजयमेरू गाउँपालिकामा रहेको अजयमेरूकोट दरबार, घटाल नाथ, आली ताल र पशुराम धाम पनि आन्तरिक तथा बाह्य पर्यटकहरूले रुचाएका सुन्दर ठाउँहरू हुन्।

कैलालीका पर्यटकीय गन्तव्य
स्वीट्जरल्याण्डको लक्साल शहरको नक्साअनुरुप रेखाङ्कन गरिएको टीकापुर पार्क करिब ५ बिगाहमा फैलिएको छ। यहाँ ८० प्रकारका गुलाब फूल र विभिन्न प्रजातिका बिरुवाहरू पाइन्छन्। 

वि.सं २०२८ सालमा तत्कालीन राजा महेन्द्रले यहाँबाट एक महिना नेपालको राजकाज चलाएको इतिहासका कारण यसको गरिमा अझ बढेको छ। 

टिकापुर पार्का।

कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी ताल, कोइलहुवा ताल, जोगनिया ताल, जाखौर ताल पनि आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइ बनेका छन् । गोदावरीमा रहेको ५२ फिछ अग्लो हनुमानको मूर्ति हेर्नेहरूको घुइँचो लाग्छ। 

शैलेश्वरी मन्दिर, डोटी
शैलेश्वरी माताको मन्दिर सुदूरपश्चिको डोटी जिल्लाको सिलगढीमा अवस्थित छ। यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थलको रूपमा रहेको छ। 

डोटीकाे शैलेश्वरी मन्दिर।

यहाँ पनि धार्मिक आस्था बोकेका र प्रकृतिको सुन्दरताको आनन्द लिन आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ।

यस्ता छन् बैतडीका गन्तव्य 
बैतडीमा रहेका प्रसिद्ध भगवतीका मन्दिरहरूमा त्रिपुरा सुन्दरी, निङ्गलाशैनी, मेलौली र डिलाशैनी, भगवती मन्दिर, जगन्नाथ देवता, भूमेश्वर महादेवको गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्ण मन्दिर, शिवनाथ मन्दिर हुन्।

निङ्गलासैनी मन्दिर बैतडी

निङ्गलासैनी मन्दिर बैतडी देहीमाडौंमा अवस्थित छ। निङ्गलासैनी मन्दिर सुदूरपश्चिम प्रदेशकै प्रमुख मन्दिर मानिन्छ। यस मन्दिरमा हरेक वर्षको बडा दसैं र चैते दसैंमा राँगा र बोकाको बलि दिने चलन छ । 

यस मन्दिरमा टाढाटाढाबाट भक्तजन र पर्यटकहरू आउने गर्छन्। पाताल भूमेश्वरजस्ता धार्मिक पर्यटकीय स्थल पनि बैतडीमै पर्छन्।

रामारोशन क्षेत्र
अछामको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो, रामारोशन। ‘बाह्र बण्ड, अठार खण्ड’का नामले चिनिने यो क्षेत्रमा रहेका बाह्रवटा ताल र अठार वटा ठूलाठूला चौरले पर्यटकहरूको मन लोभ्याउँछ।

अछामको रामारोशन ताल।

प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ।

रामारोशनमा गुफा र झरना छन्। यहाँको मुख्य मैदान किनिमिनी, रामे र रोशन हुन्। जैविक विविधतामात्रै होइन, माओवादी जनयुद्ध पनि अध्ययन गर्न सकिन्छ रामारोशनमा। 

सुर्मा सरोवर
सुर्मासरोवर बझाङकोे सदरमुकाम चैनपुरबाट तीन दिनको दूरीमा रहेको एउटा ताल हो। बझाङका अधिक सुन्दर ठाउँमध्ये एक अद्भूत ठाउँ हो, सुर्मा सरोवर।

करिब चार हजारदेखि ६ हजार ५०० मिटरको उचाइसम्म फैलिएको यो भूमिले हरेकलाई आफ्नो बाहुपासमा बाँधिरहन्छ। हिमालको सौम्यता, फूलहरूको वासना र रंगीन पाटनहरूको विशालताले यहाँ पुग्ने पर्यटकहरुको मन हायलकायल पार्छ।

सुर्मा सरोवर

यहाँ जटिल रोगहरूको निर्मूल पार्न सक्ने क्षमता भएका यार्सागुम्बा, वन लसुन, पाँचऔँले लगायत बहुमूल्य जडीबुटी, थरीथरीका रंगीविरंगी फूलहरू लगायत मनमोहक दृश्यहरु देख्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .