सुदूरपश्चिम


चुनाव नहुँदै मुख्यमन्त्रीको दौड, कसले गर्ला सुदूरपश्चिमको नेतृत्व?

त्रिलोचन भट्टले टिकट नपाएपछि नयाँ अनुहार पक्का
चुनाव नहुँदै मुख्यमन्त्रीको दौड, कसले गर्ला सुदूरपश्चिमको नेतृत्व?

फाइल तस्बिर


गोकुल जोशी
कात्तिक १३ , कञ्चनपुर

मंसिर ४ को निर्वाचन आउन अब केही साता बाँकी रहँदा नेताहरू मतदाता रिझाउन बस्ती र घर घर पुगिरहेका छन्। 

चुनावी सरगर्मी बढ्दै जाँदा मंसिर ४ पछि सुदूरपश्चिमको मुख्यमन्त्री को होला? भन्ने अड्कलबाजी सुरु भएको छ। 

पहिलो प्रदेश सरकारको पूरा कार्यकाल बिताएर त्रिलोचन भट्ट बिदा हुँदै गर्दा नयाँ मुख्यमन्त्रीको चर्चा सुरु भएको हो। 

मंसिर ४ पछिको राजनीतिक समीकरण कस्तो होला? त्यो त चुनावी परिणामले देखाउला। तर, प्रमुख राजनीतिक दलका केही नेता अहिलेदेखि नै मुख्यमन्त्रीको दौडमा निस्किसकेका छन्। यद्यपि मुख्यमन्त्रीको दौडमा रहेका नेताहरुले चुनाव जित्ने नजित्ने ग्यारेन्टी मंसिर ४ पछि मात्रै हुनेछ।

सुदूरपश्चिमले यसपटक मुख्यमन्त्रीमा नयाँ अनुहार पाउने छ। ०७४ चुनावपछि मुख्यमन्त्री माओवादी केन्द्रका भट्टले यसपटक टिकट  नै पाएनन्। 

डोटी प्रदेश सभा '२' मा मुख्यमन्त्री भट्टको टिकट खोसेर उनकै स्वकीय सचिव शिवसिंह ओली यसपटक चुनाव लड्दै छन्।

३२ प्रत्यक्ष निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१ समानुपातिक सांसदसहित ५३ जनाको प्रदेशसभा छ। प्रदेश सरकार बनाउन २७ सांसद आवश्यक पर्छ।

‘चुनावी नतिजामा असर पर्न सक्ने डरले मुख्यमन्त्रीका आंकाक्षी नेताहरू खुलेर बोल्न सकेका छैनन्’, सत्ता गठबन्धनका एक नेताले भने, ‘चुनावी परिणाम आएपछि मुख्यमन्त्रीका लागि धेरै आंकाक्षी देखिएलान्।’

यो प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धन गरेर चुनावमा होमिएका छन्।

३२ प्रदेश सभा क्षेत्रमध्ये नेपाली कांग्रेस गठबन्धनबाट १८, माओवादी केन्द्र १२ र एकीकृत समाजवादी २ क्षेत्रमा भिड्दै छन्।

एमालेले पनि जसपा र राप्रपालाई १-१ प्रदेश सभा क्षेत्र दिएर चुनावी तालमेल गरेको छ। उसले प्रदेश सभाका ३० क्षेत्रमा आफ्ना उम्मेदवार उभ्याएको छ। 

अघिल्लो संसदको हिसाब
०७४ सालमा माओवादी केन्द्रका त्रिलोचन भट्टको नेतृत्वमा सुदूरपश्चिममा वाम गठबन्धनले सरकार बनाएको थियो।

केन्द्रीय राजनीति आएको उतारचढावको असर प्रदेश सरकारमा परे पनि नेतृत्व परिवर्तन भएनन्। तर सरकारबाट बाहिरिने र सहभागी हुने क्रम रोकिएन।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा एमालेका २५ र माओवादी केन्द्रका १४ गरेर तत्कालीन नेकपाका कूल ३९ सांसद थिए। नेपाली कांग्रेसका १२ तथा जसपा र लोसपा १/१ सांसद थिए।

तत्कालीन नेकपाको धुव्रीकरणमा ओली पक्ष सुदूरपश्चिम प्रदेश सभामा कमजोर थियो। सर्वोच्च अदालतले नेकपा विघटन गरेर एमाले र माओवादी केन्द्र ब्यूँताएपछि पनि भट्ट नेतृत्वको सरकारमा केही असर परेको थिएन। उनले ५ वर्ष पूरै प्रदेशको नेतृत्व गर्ने अवसर पाए।

एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन हुँदा एमालेका १४ प्रदेश सांसद समाजवादीतिर लागेका थिए। योसँगै एकीकृत समाजवादी प्रदेश सभामा ठूलो दल बनेको थियो।

नेकपाको आन्तरिक द्वन्द्व हुँदै गर्दा प्रदेश सरकारबाट बाहिरिएको ओली पक्ष एमाले ब्यूँतिएपछि प्रतिपक्षमा पुग्यो।

प्रमुख प्रतिपक्षका रूपमा रहेको कांग्रेस र एमालेमा विद्रोह गरेर जन्मिएको एकीकृत समाजवादी सरकारमा गएका थिए।

अहिले पनि माओवादी नेतृत्वमा एकीकृत समाजवादी र नेपाली कांग्रेसको संयुक्त प्रदेश सरकार छ।

पहिलो प्रदेश सरकार विदा हुँदै गर्दा नयाँ मुख्यमन्त्रीको दौडमा नेताहरु को को छन् त?

माओवादीबाट खगराज भट्ट
माओवादी सुदूरपश्चिमको इन्चार्ज हुन्– खगराज भट्ट। डडेल्धुरामा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका पुराना प्रतिस्पर्धी भट्ट यसपटक प्रदेश सभामा चुनाव लड्दै छन्।

सत्ता गठबन्धनबाट डडेल्धुरा प्रदेश सभा १ '१' मा भट्ट साझा उम्मेदवार छन्। ०६४ सालदेखि डडेल्धुरामा देउवासँग प्रतिस्पर्धा गरिरहेको भट्ट माओवादीबाट सुदूरपश्चिमको मुख्ममन्त्रीका प्रबल दाबेदार हुन्।

सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने सहमतिपछि नै उनी  प्रतिनिधि सभा देउवालाई छाडेर प्रदेश सभामा झरेका छन्।

मुख्यमन्त्री बन्ने योजना बनाएर प्रदेशसभा चुनावमा होमिएका खगराजकै सक्रियतामा बहालवाला मुख्यमन्त्री त्रिलोचन भट्टको टिकट रोकिएको थियो।

गठबन्धनका नेताहरूबीचको सहमतिअनुसार आफू आगामी चुनावपछि प्रदेशको मुख्यमन्त्री बन्ने खगराज भट्ट बताउँछन्। 

‘मुख्यमन्त्री दिने सहमतिपछि नै प्रदेशसभाको चुनाव लडेको हो’, उनले भने, ‘हामी राम्रो मत प्राप्त गरेर गठबन्धनसहित चुनाव जित्छौँ, सरकार बनाउँछौँ।’

कांग्रेसबाट को?
नेपाली कांग्रेसमा मुख्यमन्त्रीका आंकाक्षी धेरै छन्। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री डा. रणबहादुर रावल, सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, संविधानसभा सदस्य दिवानसिंह विष्टलगायतको मुख्यमन्त्रीमा दाबी छ।

कैलाली १ (२) बाट ०७४ मा विजयी रावल यसपटक पनि त्यही क्षेत्रबाट सत्तारुढ दलको साथ लिएर चुनाव लड्दै छन्। उनी निर्वाचित भएमा कांग्रेसबाट मुख्यमन्त्रीका प्रबल दाबेदारका रूपमा हेरिएका छन्।

यसअघि केन्द्रमा कांग्रेसको नेतृत्वमा गठबन्धन तयार हुँदा रावलले प्रदेश मुख्यमन्त्री बन्ने कसरत गरेका थिए। तर उनी सफल हुन सकेनन्।

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता रावलका लागि कैलाली १ (२) मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमालेका द्वारिकाप्रसाद न्यौपाने चुनौती छन्।

०७४ समानुपातिक सांसद रहेका कांग्रेस नेता बोहरा सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेर डडेल्धुरा १(२) मा चुनावमा होमिएका छन्।

बोहराले चुनाव जितेमा उनी पनि मुख्यमन्त्रीको दाबी गर्न सक्ने कांग्रेस नेताहरू बताउँछन्।

बोहराका प्रतिस्पर्धी एमालेबाट गजेन्द्रबहादुर शाही, नेकपा एकीकृत समाजवादीबाट ताराप्रसाद जोशी छन्। जोशीलाई कांग्रेस बीपीको पनि समर्थन छ।

यस्तै, कञ्चनपुर १ माओवादी नेत्री बिना मगरलाई छाडेका संविधान सभा सदस्य दिवानसिंह विष्ट पनि मुख्यमन्त्रीका आंकाक्षी छन्।

‘केन्द्रीय नेताहरूले प्रदेशमा व्यवस्थापन गर्ने आश्वासनपछि प्रतिनिधि सभाबाट ब्याक भए’, विष्टले भने, ‘कांग्रेसबाट मुख्यमन्त्रीको दाबी रहन्छ।’

उनी कञ्चनपुर प्रदेश सभा १ (२) बाट उम्मेदवार छन्। उनका प्रतिस्पर्धी एमालेबाट पल्लवराज भट्ट छन्।  

समाजवादीबाट सोडारी
नेकपा एकीकृत समाजवादी पार्टीबाट भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारी मुख्यमन्त्रीका दाबेदार छन्। 

उनले यसअघि सुदूरपश्चिम प्रदेशसभामा समाजवादी सबैभन्दा ठूलो दल भएको आधारमा मुख्यमन्त्री बन्ने इच्छा देखाएका थिए। तर, उनको मुख्यमन्त्री बन्ने धोको पूरा भएन।

यसपटक उनै सोडारी कैलाली ४ (१) मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार छन्। नेकपा एमालेबाट विभाजन भएर बनेको समाजवादीको बलियो संगठन छैन।

गठबन्धनको बलमा चुनाव जितेर प्रदेशको नेतृत्व गर्ने इच्छा सोडारीको छ। कैलाली ४ (१) मा सोडारीका चुनौतीका रूपमा एमालेका भीमबहादुर देउवा छन्।

एमालेबाट दाबेदार
एमालेबाट मुख्यमन्त्रीका २ जना आंकाक्षी देखिएका छन्। सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा मुख्यमन्त्रीका दाबेदार हुन्।

डडेल्धुरा प्रदेश सभा १ (१) मा मुख्यमन्त्रीको लक्ष्यसहित चुनावी दौडमा रहेका माओवादीका खगराज भट्टसँग बोहराले प्रतिस्पर्धा गर्दै छन्।

एमालेका तर्फबाट पठानसिंह बोहराले जिते मुख्यमन्त्रीको प्रमुख दाबेदार रहने निवर्तमान प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले बताए।

‘उहाँको माहोल राम्रो छ, अघिल्लोपल्ट जितेको, भौतिक पूर्वाधार मन्त्रीसमेत भएर आफ्नो क्षेत्रमा काम गरेको अनुभव उहाँसँग छ’, उनी भन्छन्, ‘त्यसैले जित्ने र मुख्यमन्त्री हुने सम्भावना पनि उहाँकै छ।’

बोहरा ०७४ सालको चुनावमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए। एमालेकै अर्का उम्मेदवार लालबहादुर थापालाई पनि मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको छ। उनी ०७४ सालमा बाजुराबाट प्रतिनिधि सभा सदस्य निर्वाचन जितेका थिए। 

मुख्यमन्त्री बन्ने गरी यसपटक थापा प्रदेश सभामा झरेको चर्चा छ। उनी बाजुरा १ (२) बाट उम्मेदवार छन्। त्यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका पदमबहादुर शाही उम्मेदवार छन्। 

कात्तिक १३, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.