सुदूरपश्चिम


ढुंगा हानेको आरोपमा नेपालीविरुद्ध भारतमा जाहेरी, दार्चुलावासीमा त्रास

ढुंगा हानेको आरोपमा नेपालीविरुद्ध भारतमा जाहेरी, दार्चुलावासीमा त्रास

फाइल।


गोकुल जोशी
मंसिर २६, २०७९ सोमबार १२:५५, कञ्चनपुर

महाकाली नदीको धार परिवर्तन गर्ने गरेर भइरहेको तटबन्ध निर्माणको कामको विरोध गर्ने नेपाली नागरिक विरुद्ध भारतीय प्रहरीमा उजुरी परेको छ।

तटबन्ध निर्माणको काममा संलग्न कामदारमाथि नेपालतिरबाट ढुंगामुढा गरेको आरोपमा निर्माण कम्पनीले ७ जनाविरुद्ध धार्चुला प्रहरी थानामा उजुरी दर्ता भएको हो।

तटबन्ध निर्माण कम्पनी अरुण कन्स्ट्रक्सनले अज्ञात ७ जना नेपाली विरुद्ध प्रहरीमा जाहेरी दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। 

१८ मंसिरमा भारतीय पक्षले महाकाली नदी नेपालतिर धकेल्ने गरी एकलौटी रुपमा तटबन्ध निर्माण हुन थालेपछि दार्चुलाका स्थानीय भारतको विरोधमा उत्रिएका थिए।

भारतीय नागरिकले विरोधमा उत्रिएका नेपालीमाथि ढुंगामुढा समेत गरे। त्यसपछि नेपाली नागरिकले पनि प्रतिकार गरेका थिए।

भारतीय पक्षबाट भएको ढुंगामुढामा नेपालतिर ४ जना घाइते भएका थिए। त्यसको विरोधमा महाकालीमाथिको नेपाल–भारत जोड्ने पुल नेपाली नागरिकले बन्द गराएका थिए। 

अर्को दिन भारतीय पक्षले पनि पुल २ घण्टा बन्द गरायो। त्यति मात्रै होइन, सो घटना पछि भारत प्रवेश गर्ने नेपालीमाथि भारतले चेकजाँचमा कडाई समेत गरेको थियो।

नेपाल–भारत सीमामा भइरहेको तनावको सर्वत्र विरोध पछि सरकारले भारतलाई कुटनीतिक नोट पनि पठाएको थियो। त्यसपछि नेपाल र भारतका स्थानीय प्रशासनले छलफल गरेर सीमामा भइरहेको तनाव हटाउने सहमति गरेका थिए।

महाकाली नगरपालिका–४ रिङ्गे तालस्थित तटबन्ध निर्माणको क्रममा बाँधिएको बाँध हटाएर महाकाली नदीलाई बिचबाट बगाउन भारत सहमत भएको थियो। 

साथै, तटबन्ध निर्माणको क्रममा बनाइएका अस्थायी संरचना हटाउने र विवाद भएको ठाउँमा तत्काल काम अघि नबढाउने भारतले प्रतिवद्धता जनाएको थियो।

भारतीय पक्षलाई १० दिनको अवधि दिएर त्यसपछि दुवै पक्षको समन्वयमा काम अघि बढाउने गरेर छलफल गर्नेमा नेपाली र भारतीय प्रशासन सहमत भएका थिए।

तर भारतीय पक्ष भने सो सहमति विपरित ढुंगामुढाको आरोप लगाउँदै नेपाली नागरिक विरुद्ध जाहेरी दर्ता गराएर विवादलाई थप बढाउनेतिर उद्धत छ।

दुवै देशका स्थानीय प्रशासनबीचको छलफलमा नेपाली प्रशासनले भारततर्फ ढुंगामुढा गर्ने नेपालीमाथि छानविन गरेर कारबाहीको दायरामा ल्याउने आश्वासन दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरिरहेका छ। 

नेपालतिर महाकाली फर्काउने गरी महाकालीमा बाँधिएको बाँध भारतले अहिलेसम्म नहटाएको खलंगाका स्थानीय अमन बोहराले बताए।

‘विवाद भएको ठाउँमा सामान थुप्रिएर बनेको बाँध अहिलेसम्म भारतले हटाएको छैन, महाकालीतिर नेपालतिर आउँदैछ, अरु ठाउँमा काम अगाडि बढाएको छ,’ उनले नेपालखबरसंग भने।

भारतीय प्रहरीमा ढुंगामुढा प्रहार गरेको आरोपमा नेपाली विरुद्ध जाहेरी परेपछि त्रास उत्पन्न भएको छ। ‘भारतीय रहेको एक जना नातेदारलाई सोध्दा जाहेरी दर्ता भएको सुनिएको छ, यस्तो अवस्थामा हामी अब कसरी ओहोरदोहोर गर्नेरु,’ उनी भन्छन्, ‘भारतीय पक्षबाट विवाद हटाउनेतिर भन्दा पनि नेपाल र भारतबीच द्धन्द्ध बढाउने गतिविधिमा जोडबल भइरहेको छ।’

दार्चुलावासी दैनिक मजदुरी, किनमेलका लागि भारततिर जाने गर्दछन्। ‘भारतीय पक्षले जसलाई पनि फसाउन सक्छन्, हामीलाई हिँडडुल गर्नै गाह्रो भयो,’ बोहराले भने।

नेपाली प्रशासनलाई भारतीय पक्षको ज्यादती रोक्न ध्यानाकर्षण गराउन सोमबार प्रशासनमा जाने उनले बताए।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद भारतलाई दिएको १० दिनको अवधिमा गर्नु पर्ने काम सुक्ष्म ढंगले नियालिरहेको बताउँछिन्। ‘४ दिन भएको छ, दुवैतर्फको प्रावधिक टोलीले काम हेरिरहेका छन्, १० दिनसम्म के के गर्छन?,’ उनले भनिन्, ‘त्यसपछि फेरि छलफलमा बस्छौं, त्यहाँ कुरा हुन्छ।’

नेपाल–भारत सीमामा तनाव उत्पन्न हुन नदिने भनेर भारतीय प्रशासनलाई प्रतिवद्धता जनाएको उनले बताइन्। ‘ढुंगामुढा गर्ने नेपालमाथि कारबाही गर्छौ भनेर भनेका छैन, सीमामा तनाव हुन नदिने भनेर मात्रै भनेका हौं,’ उनी भन्छिन्।

भारतीय प्रहरीमा नेपाली विरुद्ध जाहेरी दर्ता भएको विषयमा नेपाली प्रशासनलाई कुनै जानकारी नभएको उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .