सुदूरपश्चिम


भारतीय बलमिचाइँले दार्चुला सीमामा जहिल्यै तनाव, स्थानीयले गुहारे केन्द्र सरकार

भारतीय बलमिचाइँले दार्चुला सीमामा जहिल्यै तनाव, स्थानीयले गुहारे केन्द्र सरकार

गोकुल जोशी
पुस २१, २०७९ बिहिबार १७:२३, कञ्चनपुर

नेपाल–भारत सीमा महाकाली नदीको धार परिवर्तन गर्ने गरी भारतले एकपक्षीय रुपमा तटबन्ध निर्माणको काम अगाडि बढाउँदा दार्चुला सीमामा दैनिक जसो तनाव भइरहेको छ।

महाकाली नदी नेपाली भूभागतिर धकेल्ने गरेर भारतीय पक्षले संरचना निर्माण जारी राखेपछि स्थानीय विरोधमा छन्। भारतले बलमिच्याँईं गरेर महाकालीमा संरचना निर्माण गर्न थालेपछि दार्चुलाका स्थानीय विरोध स्वरुप ढुंगामुढामा गर्न बाध्य छन्। 

बुधबार (हिजो) भारतीय पक्षले महाकालीको धार फर्काउने गरेर पुनः संरचना बनाउन थालेपछि नेपाली नागरिक विरोधमा उत्रिए। 

यसअघि १८ मंसिरमा भारतीय पक्षले महाकाली नदी नेपालतिर धकेल्ने गरी एकलौटी रुपमा तटबन्ध निर्माण गरेपछि विरोधमा उत्रिएका नेपालीमाथि भारततर्फबाट ढुंगामुढा भयो। त्यसपछि नेपाली नागरिकले पनि प्रतिकार गरे। 

भारतीय पक्षबाट भएको ढुंगामुढामा नेपालतिर ४ जना घाइते भएका थिए। त्यसको विरोधमा महाकालीमाथिको नेपाल–भारत जोड्ने पुल नेपाली नागरिकले बन्द गराएका थिए। 

अर्को दिन भारतीय पक्षले पनि पुल २ घण्टा बन्द गरायो। त्यति मात्रै होइन, सो घटनापछि भारत प्रवेश गर्ने नेपालीमाथि भारतले चेकजाँचमा कडाई समेत गरेको थियो।

दार्चुला सीमामा भारतीय पक्षबाट भइरहेको ज्यादतीको सर्वत्र विरोधपछि सरकारले भारतलाई कूटनीतिक नोट पनि पठाएको थियो। त्यसपछि नेपाल र भारतका स्थानीय प्रशासनले छलफल गरेर सीमामा भइरहेको तनाव हटाउने सहमति गरेका थिए।

महाकाली नगरपालिका–४ रिङ्गे तालस्थित तटबन्ध निर्माणको क्रममा बाँधिएको बाँध हटाएर महाकाली नदीलाई बिचबाट बगाउन भारत सहमत भएको थियो। तर उक्त संरचना भारतले अझै नहटाएको बरु फेरि तटबन्ध निर्माणको कार्यलाई जारी राखेको स्थानीयले बताएका छन्। 

विवाद भएको क्षेत्रमा तत्काल काम रोक्ने र छलफल पश्चात् काम अघि बढाउने दुवै देशका स्थानीय प्रशासनबीच सहमति भएको थियो। तर त्यसयता पनि भारतले काम जारी राख्द दिनहुँ जसो दार्चुला सीमामा तनाव भइरहेको हो।

तटबन्ध निर्माणको काममा संलग्न कामदारमाथि नेपालतिरबाट ढुंगामुढा गरेको आरोपमा अरुण कन्स्ट्रक्सनले ७ जना विरुद्ध धार्चुला प्रहरी थानामा उजुरी समेत दर्ता गराएको थियो। 

दार्चुलाको स्थानीय प्रशासन र सरकारी निकाय भारतसामु निरीह बनेको स्थानीयको महाविर ठगुन्नाको आरोप छ।

‘सीमा नदीको बहाव नेपालतिर फर्काएर भारतले तटबन्ध निर्माण गरिरहेको छ,’ उनले भने, ‘यसले नदी किनारका नेपालीबस्ती जोखिममा छन्।’

यस विषयमा दार्चुलाका स्थानीयले जिल्ला प्रशासन मार्फत बिहीबार गृहमन्त्रालयलाई ज्ञापन पत्रसमेत बुझाएका छन्। बारम्बार भारतीय पक्षसँग स्थानीय प्रशासनले छलफल गर्दा पनि नेपाली पक्षको माग सम्बोधन नभएको भन्दै उनीहरुले गृहमन्त्रालयको ध्यानाकर्षण गराएका हुन्। 

दार्चुला प्रशासनले भारतको माग बमोजिम बंगाबगर क्षेत्रको ढुंगामाटो हटाउने तयारी थालेको भन्दै स्थानीय आक्रोशित भएका छन्।

पूर्वसर्त बमोजिम छाङरु स्कुल क्षेत्रदेखि पुलघाटसम्मको क्षेत्रमा भारतीय पक्षले नदीमा थुपारिराखेको ढुंगामाटो पूर्ण रुपमा हटाउनु पर्ने स्थानीयको माग छ। त्यो नहुँदासम्म छाङरु स्कुल क्षेत्रदेखि माथि दशरथनगरसम्म नेपालतर्फको ढुंगामाटो हटाउने कार्य गर्न नदिने स्थानीयको भनाइ रहेको छ।

यस्तै, छाङरु स्कुलदेखि पुलघाटसम्मको नेपालतर्फको तटबन्ध कमजोर रहेको भन्दै सो तटबन्ध मर्मत सम्भारको माग स्थानीयले अघि सारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .