ad ad

सुदूरपश्चिम


सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

गेटा मेडिकल कलेज, धनगढी


नेपालखबर
माघ १३, २०७९ शुक्रबार १३:४७, कञ्चनपुर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको अवलोकन तथा निरीक्षण गर्ने तयारी गरेका छन्।

आगामी फागुन १ गते प्रधानमन्त्री दाहाल विकासे योजनाको अनुगमनका लागि कञ्चनपुर आउने निश्चित भएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले केही दिन अगाडि प्रधानमन्त्री दाहाललाई भेटेर बधाई साटासाट गर्दै सुदूरपश्चिमका विकासका सम्भावना बारेमा छलफल गरेका थिए। 

मुख्यमन्त्री रावलसँगको छलफलमा प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालको विकासे योजनाको अनुगमन÷निरीक्षक सुदूरपश्चिमबाट सुरुवात गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रधानमन्त्री दाहाल सुदूरपश्चिममा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणमा आउने निश्चित भएपछि मुख्यमन्त्री रावलले प्रदेशका सचिव, उपसचिवलाई त्यसको तयारीमा जुट्न निर्देशन समेत दिएका छन्।

करिब एक साताको काठमाडौं बसाइ पछि मुख्यमन्त्री रावल बिहीबार गृह प्रदेश फर्किएका थिए।

काठमाडौंबाट धनगढी फर्किए लगत्तै मुख्यमन्त्री रावलले सचिव, उपसचिवहरुसँग छलफलमा प्रधानमन्त्री आउने निश्चित भएको र त्यसको तयारी जुट्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयका एक सदस्यले बताए।

‘प्रधानमन्त्रीज्यू विकासे योजनाको निरीक्षण गर्न आउने लगभग निश्चित भइसक्यो, त्यसको तयारीमा जुट्न मुख्यमन्त्रीज्यूले मातहत निकायलाई भनिसक्नु भएको छ,’ ती सदस्यले भने, ‘केही दिनमै समिति गठन गरेर तयारीको काम अगाडि बढ्छ।’

कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाह, निर्माणाधीन महाकाली करिडोर, दैजी–छेला औद्योगिक क्षेत्र, पश्चिम सेती जलविद्युत आयोजना, सेती लोकमार्ग र गेटा मेडिकल कलेज लगायत विभिन्न राष्ट्रिय गौरबका आयोजनाको प्रधानमन्त्री दाहालले निरीक्षण गर्ने छन्। 

स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री दाहालले आयोजनाहरुको हालको अवस्था, प्रगति विवरण तथा बजेटको अवस्थाको बारेमा जानकारी लिनेछन्। 

फागुन १ गते नै प्रधानमन्त्री दाहालले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्ने कार्यक्रम पनि छ।

उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजना हुने मेलाको फागुन १ गते नै प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पिताम्बर जोशीले बताए। 

‘यहाँका गौरवका आयोजनाको निरीक्षणमा आउँदा प्रधानमन्त्री ज्यूले मेलाको पनि उद्घाटन गर्नुहुन्छ,’ उनले भने, ‘त्यसको तयारीमा हामी जुटिसकेका छौं।’

केहीदिन अघि कञ्चनपुरका उद्योगी, व्यवसायीहरुले प्रधानमन्त्री दाहाललाई भेटेर मेला उद्घाटनको निम्तो दिएका थिए। 

सुदूरपश्चिम विकासको दृष्टिकोणले अहिले पनि पिछिडिएकोले सुदूरलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष माग गरेको अध्यक्ष जोशीले बताए। 

मेला उद्घाटन कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि सहभागी हुने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .