ad ad

सुदूरपश्चिम


कठ्याङग्रिदो चिसोमा ज्यानको बाजी थापेर ‘रेस्क्यू अप्रेसन’

कठ्याङग्रिदो चिसोमा ज्यानको बाजी थापेर ‘रेस्क्यू अप्रेसन’

हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजीका लागि भोलिन हिमाल पुगेको सशस्त्र प्रहरीको टोली।


गोकुल जोशी
बैशाख २१, २०८० बिहिबार २०:३३, कञ्चनपुर

दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुको दक्षिणपूर्वमा पर्छ, भोलिन हिमाल। भोलिन मंगलबार घामले टिल्लिक थियो। सिमसिम पानी पनि परिरहेको थियो। 

फेदमा यार्सा टिप्नहरुको ताँती। सात जना त्रिपाल टाँगेर बसेका थिए। उनीहरूसँगै यार्सा टिप्न गएका ४ जना दाउरा संकलन गर्नतिर थिए।  

मंगलबार पुगेको १३÷१४ जनाको अर्को टोली नजिकै ओढारमा बसेको थियो। वैशाखमा ठूलो हिमपहिरो जाँदैनथ्यो। हिउँ पग्लिसकेको हुन्थ्यो। त्यसैले यार्सा संकलन गर्न उनीहरू भोलिन फेदी उक्लिए। 

मंगलबार दिउँसो एक्कासी ठूलो हिमपहिरो खस्यो। 

त्रिपालमुनि बसेका पाँच जना पहिरोमा च्यापिए। भोलिन फेदबाट सामान्यतयाः पाँच घण्टा पैदल तल झरेपछि पुगिन्छ, गाँगाबगरस्थित सशस्त्र प्रहरीको ५० नं. गुल्म। ओढारमा रहेका यार्सा संकलकले हिमपहिरोको बारेमा स्थानीयलाई टेलिफोनमार्फत खबर गरे। 

दिउँसो पौने तीन बजेतिर स्थानीयले गाँगाबगरको सशस्त्र प्रहरीलाई जानकारी गराएका थिए। हिमपहिरोको खबर पाएपछि डीएसपी ईश्वरदत्त भट्ट नेतृत्वको २१ सदस्यीय टोली घटनास्थलतर्फ हिँड्यो।

पछि पछि सीतापुल प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंह नेतृत्वको ५ सदस्य टोली पनि थियो। 

सुरक्षाकर्मीहरूले ज्यानको बाजी थापेर तीन दिन ‘रेस्क्यू अप्रेसन’ चलाए। भोक, प्यास नभनेर उनीहरूले कठ्याङग्रिदो चिसोमा खोजी गरिरहे।

सुरक्षाकर्मीको दायित्वसँगै मानवीय कर्तव्य पूरा गरेको उनीहरू बताउँछन्।

सुरक्षाकर्मी उद्धारका लागि डोरी, क्यारेबेना लक, आइस एक्स, बेल्चालगायत सामाग्री लिएर गाँगाबगर पारि हुँदै ठाडो उकालो उक्लियो। 

‘अक्सिजन लेबल निकै कम हुँदै गएको थियो, जसो तसो गरेर तीन घण्टा हिँडेर घटनास्थल पुग्यौँ,’ उद्धारका खटिएका एक सुरक्षाकर्मीले नेपालखबरसँग भने, ‘दुई सय मिटर माथिबाट पहिरो आएको थियो।’

उनका अनुसार नाम्पा खोलासम्म करिब पाँच किलोमिटर तलसम्म पहिरो पुगेको थियो। अबेर पुगेको उद्धार टोलीले त्रिपालमुनि ओत लिएको ठाउँमा खोजी गर्‍यो। झोला भेटियो तर उनीहरूको अत्तोपत्तो चलेन।

त्यहाँ निरन्तर हिमपात पनि भइरहेको थियो। कठ्याङग्रिदो चिसो थियो। सुरक्षाकर्मीका हिमाली ज्याकेट, ग्लप्स, हिमाली बुट पुरै हिउँले भिजिसकेका थिए।

‘राति हुँदा बेपत्ताको खोजी गर्न सकेनौँ। ओढार, भागेर जोगिएका २० जनालाई उद्धार गरेर तल झर्‍यौँ,’ ती सुरक्षाकर्मीले भने, ‘राति साढे नौ बजे हामी गाँगा क्याम्पमा पुगेका थियौँ।’

उनीहरू फर्किदा निकै अध्यारो भइसकेको थियो। पाँच फिट भन्दा बढि हिउँ जमेको थियो। हिमपात रोकिएको थिएन। बाटो हेर्न टर्च अन गर्दा हिउँमा टल्केर आँखा लाग्थ्यो। उनीहरुलाई टर्च नचलाउँदा अध्यारो भएर बाटो हेर्न हम्मेहम्मे थियो। 

‘हिउँमा हल्का अढेस लाग्दै विस्तारै तल झर्‍याैँ। बुट, ग्लब्स, ज्याकेट पुरै भिजेको थियो,’ उद्धारको पहिलो दिन बारे ती सुरक्षाकर्मी भन्छन्, ‘राति क्याम्पमा पुगेपछि ती सबै सुकाएर आगो ताप्याैँ।’

अर्को दिन उनीहरूलाई केही स्थानीयले पनि साथ दिए। सुरक्षाकर्मीसँगै खोजीमा उनीहरु पनि थिए। सबेरैदेखि उनीहरु फेरि बेपत्ताको खोजीमा कार्यमा उनीहरु जुटेका थिए।

पहिरो पुगेको नाम्पा खोलादेखि उनीहरुले खोजी कार्य सुरु गरे। करिब तीन घण्टापछि भिरमा अड्किएको अवस्थामा उनीहरुले तीन वटा शव भेटाएका थिए।

‘दुई शव अफ्ठेरो ठाउँमा थिए, कम्मरसम्म हिउँ थियो, हिमपात पनि भइरहेको थियो, डोरीको सहायत तीन÷चार घण्टा लगाएर शव निकाल्यौँ,’ उनले भने, ‘हिजो बेलका साढे सात बजे ती शव ल्याएर तल पुगेका थियौँ।’

डोटीको जोरायल गाउँपालिका–२ बुडरका निक्नी डोल्मा थापा, दार्चुलाको दुहुँ गाउँपालिका–४ धारीकी कमला कुँवर र उनका १८ वर्षीय छोरा प्रविणको शव सुरक्षाकर्मीले फेला पारेको थियो। 

ती शव भारतीय पक्षसँग समन्वय गरेर त्यहाँको बाटो प्रयोग गरेर बिहीबार सदरमुकाम खलंगा ल्याइएको छ।

बेपत्ता डोटीको जोरायल गाउँपालिका–२ बुडरका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै अज्ञात छ। बिहीबार पनि सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली उनीहरुको खोजी गरेको थियो।

तर उनीहरू अझै भेटिएका छैनन्। गाँगाबाट सशस्त्र प्रहरीका असइ केशवदत्त जोशीको नेतृत्वको टोली बिहीबार दिनभर उनीहरुको खोजी गरेको थियो।

‘निरन्तर हिमपात भइरहेकोले पनि खोजीमा समस्या छ, सबैतिर हेर्‍यौँ उनीहरु भेटिएनन्,’ ती सुरक्षाकर्मी भन्छन्, ‘त्रिपाल टाँगेको भन्दा तल हिउँभित्र दबेको आशंका छ।’ सुरक्षाकर्मी अहिले खोजी बन्द गरेर तल झरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .