ad ad

सुदूरपश्चिम


खप्तड पुगेर प्रधानमन्त्री दाहालले भने : अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउँछौं

खप्तड पुगेर प्रधानमन्त्री दाहालले भने : अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउँछौं

नेपालखबर
जेठ २३, २०८० मंगलबार १५:५१, कञ्चनपुर

प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल फर्किएका छन्।

मंगलबार सम्मेलनको उद्घाटन गरेर प्रधानमन्त्री दाहाल काठमाडौँ फर्किएका हुन्।

प्रधानमन्त्री दाहालले सम्मेलन उद्घाटन गर्दै खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने आश्वासन दिए।

‘खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्छ, खप्तड क्षेत्रलाई पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रुपमा विकास गर्छौँ,’ उनले भने।

आध्यात्मिक केन्द्र निर्माणका लागि लगानी गर्न रामदेव र आचार्य बालकृष्ण पनि इच्छुक रहेको प्रधानमन्त्रीले बताएका थिए। उनले खप्तड विकास कोष वा प्रतिष्ठान बनाउने विषयमा पनि छलफल गर्ने बताएका थिए। प्रधानमन्त्री प्रचण्डले आफू सुदूरपश्चिम प्रदेशको विकासको लागि प्रतिवद्ध रहेको बताएका थिए।

प्रधानमन्त्रीले उद्घाटन गरेको सम्मेलनमा योगगुरु रामदेव, आचार्य बालकृष्ण, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देवराज जोशी, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद लगायत उपस्थित थिए।

रामदेव पश्चिमी सीमा नाका गड्डाचौकी भएर धनगढीबाट हेलिकप्टरमा खप्तड पुगेका थिए।

खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा मंगलबारबाट आध्यात्मिक सम्मेलन सुरु भएको हो।

भू–स्वर्गका रुपमा चिनिने खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएर पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलन तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ।

सम्मेलनमा स्वामी रामदेवले ध्यान र प्रवचन दिने कार्यक्रम पनि तय भएको छ। अन्तर्राष्ट्रियस्तरमा खप्तडको प्रचारप्रसार हुने र यसले यहाँको पर्यटन विकास हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .