सुदूरपश्चिम


कराते खेलाडी रियाको पीडा : खर्च छैन, क्याम्पस कसरी पढ्ने?

‘प्लस टु’ पासको प्रमाणपत्र पनि पूर्वप्रशिक्षकले शुल्क तिरिदिएकाले भर्खर पाइन्
कराते खेलाडी रियाको पीडा : खर्च छैन, क्याम्पस कसरी पढ्ने?

रिया पुजारा


शेरबहादुर सिंह/रासस
फागुन १३, २०८० आइतबार १५:२१, महेन्द्रनगर (कञ्चनपुर)

कराते खेलाडी रिया पुजाराले १२ कक्षा उत्तीर्ण गरेको ७ महिना  भइसक्यो। उनीसँगै पढेका साथी स्नातक तहमा भर्ना भइसके। तर उनी घरमै थन्किन बाध्य छिन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकी निवासी रियाले स्थानीय डायमन्ड पब्लिक ऐकेडेमीबाट ‘प्लस टु’ पास गरेकी हुन्। उनी उक्त विद्यालयमा कक्षा ३ देखि पढ्न थालेकी थिइन्। कक्षा ३ देखि हालसम्मको शुल्क तिर्न नसक्दा रियाले ‘प्लस टु’ पासको सर्टिफिकेटसमेत लिन सकिरहेकी थिइनन्। शैक्षिक प्रमाणपत्रका लागि उनी पटकपटक विद्यालय धाए पनि शुल्क तिर्न नसक्दा विद्यालयले प्रमाणपत्र दिन मानिरहेको थिएन। 

केही दिनअघि मात्र करातेका पूर्वप्रशिक्षक मकेन्द्रबहादुर सिंहले बाँकी शुल्क सबै तिरिदिएपछि प्लस टुको प्रमाणपत्र त रियाको हातमा परेको छ, तर थप रकम नहुँदा स्नातक पढ्न क्याम्पस भर्ना हुन सकेकी छैनन्। यतिबेला उनी उच्च शिक्षा हासिल गर्न कसरी खर्च जुटाउने भन्ने चिन्तामा परेकी छन्। 

‘कक्षा ३ देखि ‘प्लस टु’सम्मको रु ३ लाख ६१ हजार शुल्क तिर्न बाँकी थियो’, रियाले भनिन्, ‘आर्थिक अवस्था कमजोर हुँदा शुल्क तिर्न सकेकी थिइनँ।’

पूर्वप्रशिक्षक सिंहले विद्यालयको रु २ लाख ५० हजार शुल्क तिरेपछि रियाले ७ महिनापछि विद्यालयबाट एसईई र ‘प्लस टु’को प्रमाणपत्र पाएकी छन्। अब उनी स्नातक तह पढ्नेबारे योजना बनाउँदैछिन्।

पछिल्लो समय अमेरिकामै बस्ने गरेका करातेका पूर्वप्रशिक्षक सिंह यही फागुन पहिलो साता महेन्द्रनगरमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सितोरियो करातेको दीक्षान्त समारोहमा भाग लिन आएका थिए। त्यही क्रममा रियाको सिंहसित भेट भयो। उनको आर्थिक अवस्थाबारे कराते प्रशिक्षक विमल खडायत, मदन नाथ र दीपक चन्दले कराते महासङ्घका केन्द्रीय उपाध्यक्षसमेत रहेका सिंहलाई अवगत गराए। 

‘मकेन्द्र गुरु मेरो बारेमा बुझ्न घरमै आउनुभयो’, रियाले भनिन्।

अवस्था अवगत भएपछि पूर्वप्रशिक्षक सिंहले विद्यालयमै पुगेर रियाको रु २ लाख ५० हजार शुल्क तिरिदिए। विद्यालयले अढाई लाख शुल्कमै शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको उनले बताइन्। बाँकी रु एक लाख ११ हजार शुल्क उनको विद्यालयले मिनाहा गरिदियो। 

१८ वर्षीया रिया करातेकी पदकधारी खेलाडी हुन्। रिया करातेको ५० तौल समूहमा प्रतिस्पर्धा गर्छिन्। उनले २०७४ माघदेखि कराते खेल्न थालेकी हुन्। यसबीच उनले छवटा पदक प्राप्त गरिसकेकी छन्। 

उनी हाल मधेस प्रदेशको बर्दिबासमा यही फागुन १८ गतेदेखि आयोजना हुने मिथिला राष्ट्रिय कराते प्रतियोगिताको तयारीमा जुटेकी छन्। त्यसलगत्तै फागुन २४ गतेदेखि चितवनमा हुने प्रदेशस्तरीय कराते प्रतियोगिताका लागि उनी गड्डाचौकी डोजोमा तयारी गरिरहेकी छन्।

रियाको दिनचर्या कष्टकर छ। उनका बुबा चञ्चलसिंहको डेढ वर्षअघि निधन भएपछि आर्थिक अवस्था नाजुक बनेको छ। उनका बुबा भारतमा गाडी चालक थिए। त्यसैको कमाइले चञ्चलसिंहका चार सन्तानको जीविका चलेको थियो।

‘सम्पत्तिका नाममा डेढ कट्ठा जग्गा छ’, उनले सुनाइन्। 

विद्यालयमा भर्ना भएदेखि नै विद्यालयको शुल्क बक्यौता रहँदा रियालाई अध्ययन गर्न सकस भइरहेको थियो।

‘मेरा साथीहरु स्नातक पढ्दै छन्, म भने कागजात जुटाउनमै रहेँ,’ उनले भनिन्।

डायमन्ड विद्यालयमा उनीसँगै उनका भाइको पनि शुल्क तिर्न बाँकी थियो। डायमन्ड पब्लिक ऐकेडेमीमा कक्षा १२ सम्मको मात्र पठनपाठन हुन्छ। अब उनीसित माथिल्लो कक्षा पढ्न अर्को क्याम्पस भर्ना हुनुबाहेक विकल्प छैन।

‘तर मसित स्नातक तह पढ्न खर्च छैन,’ रियाले पीडा सुनाइन्। 

गड्डाचौकी कराते डोजोबाट कराते खेल्ने रियाले हालसम्म राष्ट्रिय प्रतियोगितामा रजत र कास्य पदक प्राप्त गरेकी छन्। अब उनको धोको स्वर्ण पदक जित्नेछ।

‘बुबा बितेपछि खेलको नजिता आफ्नो पक्षमा पार्न सकिनँ’, उनले भनिन्।

घरको आर्थिक अवस्था कमजोर हुँदा पढाइ मात्र होइन, आफ्नो खेल पनि प्रभावित हुने गरेको रिया बताउँछिन्। कराते प्रशिक्षक मदन नाथ र दीपक चन्दको सहयोगले मात्र उनले खेललाई निरन्तरता दिन सकेकी हुन्। 

‘बुबाले किनिदिएको खेल पोसाकका भरमा खेलिरहेकी छु’, रियाले भनिन्, ‘कक्षा ११ र १२ पढाइ साथीभाइहरुसँग पुस्तक मागेरै सिध्याएँ।’

स्नातक तह पढ्न पूर्वप्रशिक्षक सिंहले सहयोग गर्ने आश्वासन दिएको उनले बताइन्।

‘खेल अभ्यास र पढाइ सँगसँगै गर्न सहज हुने क्याम्पसको खोजीमा छु, अहिले नै कहाँ पढ्ने भन्नेबारे सोच्न सकेकी छैन’, रियाले भनिन्।

विसं २०५१ देखि २०६३ सम्म कराते प्रशिक्षक रहेका सिंहले रियालाई सक्दो सहयोग गर्ने बताए।

उनले भने, ‘समस्यामा परेका खेलाडीलाई सहयोग गर्नु मेरो दायित्व हो, म उनलाई सक्दो सहयोग गर्छु।’

करातेको अनुशासित र सङ्घर्षशील खेलाडीको परिचय बनाएकी रियाको विद्यालयको शुल्क तिर्ने समस्या टरेपछि अब भने स्नातक तह कसरी पढ्ने भन्ने समस्या छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .