ad ad

सुदूरपश्चिम


भागेर घर फर्किएका सिजन भन्छन्: युद्धको अग्रपंक्तिमा नगए नेपालीलाई रुसी सेनाले नै मार्छन्

‘म सँगै गएका धेरै साथी मारिए, मलाई पनि बाँच्ने आशै थिएन’
भागेर घर फर्किएका सिजन भन्छन्: युद्धको अग्रपंक्तिमा नगए नेपालीलाई रुसी सेनाले नै मार्छन्

सिजनबहादुर सिंह रुसी सेनामा हुँदा र घर आएपछि


गोकुल जोशी
चैत ४, २०८० आइतबार १०:२६, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-६ वनसमितिका २४ वर्षीय सिजनबहादुर सिंहको ७ महिने रुस यात्रा कहालीलाग्दो छ। रुसी सेनामा भर्ना भई युक्रेनसँग युद्ध लडेर घर फर्किएका उनलाई अहिले ती दिन सपनाझैँ लाग्छन्।

सिजन रुसी सेनाबाट भागेर यही चैत २ गते घर आइपुगेका हुन्। सँगैका साथी गोली लागेर ढलेको देख्दा उनलाई लागेको थिएन- अब घरपरिवारसँग भेट होला!

रुसी सेनाबाट भागेर मस्को–दिल्ली हुँदै नेपाली भूमिमा पाइला टेकेका सिजन रुस–युक्रेन युद्धमा अग्रमोर्चामा खटिएर लडेको त्यो क्षण जीवनमा कहिले बिर्सिन सक्दैनन्। 

000

दार्चुलाको मार्मा गाउँपालिका–२ मटेला पुर्ख्यौली घर भएका सिजन स्नातक दोस्रो वर्ष पढ्दै थिए। राजनीतिसँगै ठेक्कापट्टाको काम गर्ने बुवा नरेन्द्र बहादुरलाई ऋण लागेपछि उनले विदेशिने निधो गरे।

यसै सिलसिलामा उनी काठमाडौँमा मेनपावर कम्पनी धाउन थाले। यस क्रममा उनले एक दलाल भेट्छन्। उनैमार्फत भिजिट भिसामा भदौ १ गते रुस पुगेका थिए- सिजन। 

‘घरमा ३०/३५ लाख ऋण थियो। स्वदेशमा काम केही पाइएन्। रुसमा महिनाको अढाईदेखि ५ लाख रुपैयाँसम्म कमाइ हुन्छ भनेर प्रलोभन दिइयो’, सिजन भन्छन्, ‘बाध्यताले दलाललाई साढे ७ लाख रुपैयाँ दिएर रुस गएँ। दलालहरूले सेटिङमा ब्यारेकसम्म पुर्‍याउने रहेछन्।’

६ महिनापछि रातो राहदानी दिने, अंगभंग भएमा परिवारलाई करोडौँ रुपैयाँ दिने, सन्तानअनुसार मासिक भत्ता दिने र एक वर्षसम्म मात्र युद्ध गर्नपर्ने भनेर सम्झौता हुने गरेको छ। तर त्यसअनुसार केही नपाएको सिजन बताउँछन्। 

‘देशमा पटकपटक मर्नुभन्दा त एकैपटक मर्नु ठीक भनेर रुस जाने सोच बनाएँ’, उनी भन्छन्, ‘यहाँको २०/२५ हजारको जागिरले केही हुने अवस्था थिएन।’

उनका अनुसार घर धितो राखेर ऋण काढेर दलाललाई पैसा बुझाए। उनी काठमाडौँ–दुबई हुँदै मस्को पुगेका थिए। सिजनसँगै अन्य १० जना नेपाली पनि थिए। 

मस्कोमा दलालले उनीहरूलाई एउटा होटलमा राख्छ। खाना खाएको केही समयपछि त्यहाँबाट उनीहरूलाई स्वास्थ्य परीक्षणका लागि भन्दै अस्पताल भनेर लगिन्छ। तर दलालले उनीहरूलाई रुसी सेनाको ब्यारेकमा पुर्‍याउँछ।

त्यहाँ स्वास्थ्य परीक्षण, दौड, बौद्धिक परीक्षणलगायत सेनाको छनोट प्रक्रिया अघि बढाइन्छ। परीक्षणमा राम्रो देखिनेलाई रुसी सेनाको बटालियनमा राखिन्छ। कमजोरलाई ‘वाग्नर ग्रुप’ भनेर तत्कालै सीमामा युद्धका लागि पठाइन्छ।

सिजनलाई परीक्षणपछि रुसी सेनाले बेस क्याम्पमा लैजान्छन्।

‘बटालियनपछि हामीलाई गन चलाउन तालिम दिने ठाउँ बेस क्याम्पमा लगियो। त्यो दिन २१ जना नेपाली पुगेका थिए’, नेपालखबरसँगको कुराकानीमा उनले भने, ‘दिनहुँ ५०/६० जना नयाँ नेपाली बेस क्याम्पमा आइरहन्थे।’

कहिल्यै बन्दुक नसमातेका सिजनलाई पुगेको दोस्रो दिनमै बेस क्याम्पमा बन्दुक भिराइयो। गोली भर्न सिकाएपछि एक/दुई पछि निशाना ताकेर बन्दुक चलाउन सिकाइयो। बेस क्याम्पमा १५/१६ दिनको तालिमपछि बटालियन छुट्याइन्छ।

सिजन ‘स्क्वेयरो’ भन्ने ठाउँको ‘एयर फोर्स’ बटालियनमा परेका थिए। त्यहाँ हवाई आक्रमण गर्नुर्थ्यो। त्यहाँ उनले दुई साता तालिम लिए। 

त्यसपछि करिब ९ घण्टा गाडीको यात्रामा उनसहितको फौजलाई ‘वालुवा’ भन्ने ठाउँमा लगियो। त्यति बेलासम्म सिजनसँगै रुसी फौजमा १०५ नेपाली पुगिसक्छन्। 

सिजनका अनुसार उनीहरू वालुवा भन्ने ठाउँमामा दुई दिन बसे। त्यहाँबाट उनीहरूलाई युक्रेनको ‘लुहाङ्स’ भन्ने ठाउँमा लगियो। त्यहाँ डेढ महिना तालिमपछि , उनीहरूलाई युद्धको अग्रपंक्तिमा खटाइन्छ। 

‘एक हप्ता वार गर्थ्यौं। अर्को हप्ता गहिरो बंकर खनेर त्यहाँ विश्राम गर्थ्यौं। तापक्रम हुन्थेन। माइनस ६० डिग्रीमा बस्थ्यौँ। हेलिकप्टरबाट ८/८ घण्टामा खाना फालिदिन्थे’, सिजन युद्धको क्षण सम्झँदै भन्छन्, ‘कहिले खाना रुखमै अड्किन्थ्यो। कहिले पानीमा पर्थ्यो। हराएर कहिले खानै पाइन्थेन। रुसीहरूले नेपालीलाई हेपेर खाना पनि लुटेर खान्थे। कति दिन त भोकभोकै युद्ध गरियो।’

दिनहुँ हवाई आक्रमण, गोलाबारी, बम पड्किरहने हुनाले सिजन त्यसमा अभ्यस्त भइसकेका थिए। शवहरूको गन्ध आइरहन्थ्यो। मृत्यु भएकाहरूलाई खाल्डो खनेर खाल्डोमा हाल्दै युद्धका लागि अघि बढ्नुपर्थ्यो। 

नेपाली अथवा जो कोही बाँच्ने खालका घाइतेलाई उठाएर बेस क्याम्प ल्याइथ्यो। नबाँच्ने घाइतेलाई कमान्डरले गोली हानेर मारिदिन्थे। युक्रेनी सेना फेला परे उनीहरूको साथमा भएको खाना, हातहतियार लुट्थे। 

‘युद्धमा गएकाहरू फर्किदा एक/दुई जना मात्रै क्याम्पमा पुग्थे। अरू सबै मर्थे। मसँगै गएका धेरै साथी पनि मरे’, सुजन भन्छन्, ‘म डराउने खालको मान्छे थिएँ। पछाडि-पछाडि लुकेर वार गर्ने हुनाले बाचेँ।’

उनका अनुसार गोलीभन्दा बढी ड्रोन, ग्रिनेड चल्थे। ‘लुहाङ्स’मा युद्धका लागि सुजनसँगै खटिएका १०५ जना नेपालीमध्ये अधिकतर मरिसकेका थिए। 

सुजन र अर्का एक नेपाली मात्रै जीवित थिए। अर्का नेपालीले युद्धमा दुईवटै खुट्टा गुमाएका थिए।

सिजनले तीन महिना युद्ध भूमिमा बिताए। 

पछिल्ला तीन महिनाको तलब नै नपाएको सिजन बताउँछन्।

‘सुरुमा १ लाख ९५ हजार, त्यसपछि २ लाख ७ हजार र ५०/५० हजार पाइयो। नेपालीलाई तीन महिनाको दिएका छैनन्’, उनी भन्छन्, ‘भएको पैसा पनि रुसी सेना लुट्न थाले। ढिलागरी आउनेलाई खाना पनि पुग्थेन। बुलेट प्रुफ ज्याकेट च्यातिइसकेको थियो। पैसा माग्दा दिँदैनथे।’

उनका अनुसार नेपालीलाई युद्धको फ्रन्ट लाइनमा राखिन्थ्यो। नगए रुसी सेनाले नै गोली हानेर मार्थे। फागुन अन्तिम सातातिर अर्को बटालियनबाट आएका ५ नेपालीसहित १२ जनाको फौज युद्धका लागि अगाडि बढ्छ। 

युक्रेनी सेनाले आक्रमण गरेपछि त्यो फौज डराएर पछाडि आयो। तर कमान्डरले नेपालीलाई अघि जान निर्देशन दिन्छन्। तर उनीहरूले युद्धका लागि गए संयुक्त रुपमा जान्छौँ नभए जाँदैनौँ भनेपछि गोली हानेर ४ जना नेपालीको रुसी सेनाले नै हत्या गर्‍यो। 

‘पोखराका एक जना साथी भागेर हामीकहाँ पुग्यो। घरकै मान्छेले त मार्छ भने अरूले मारिहाल्छन् नि! तलब पनि पाइरहेका थिएनौँ। त्यसपछि हामी दुई जनाले भाग्ने योजना बनायौँ’, सुजन भन्छन्। 

त्यो त्रासदीबाट उम्किन उनीहरू ‘लुहाङ्स’बाट भाग्दै डेढ दिन हिँडेर रुसी सेनाको अर्को क्याम्पमा पुगे। त्यही आसपास ‘लुहाङ्स’मा सिजनका कमान्डरलाई बिरामी भएर मस्को लगिएको थियो।

भागेर अर्को क्याम्पमा पुगेका सिजन र पोखराका अर्का एक नेपालीलाई त्यहाँ रुसी सेनाले सोधपुछ गर्छन्। उनीहरूले हाम्रा कमान्डरलाई हार्टअट्याक भएकाले अगाडि जान निर्देशन छ भन्छन्। 

एक जना रुसी सेनालाई पनि राखेर गाडीमा उनीहरूलाई अगाडि लगियो। त्यति बेला सिजनसमेत भाग्ने नेपालीको संख्या ३ पुगिसकेको थियो।

गाडीमा लगिएका उनीहरूलाई रुसी सेनाले अगाडि अर्को ब्यारेकमा छाडिदिन्छ। भाग्न लागेको भनेर त्यहाँ उनीहरूलाई धेरै केरकार गरिन्छ। मार्ने धम्कीसमेत दिइन्छ। त्यसपछि उनीहरू बर्दीमै राति नै ब्यारेकको पर्खाल नाघेर त्यहाँबाट भागे।

मस्कोमा एकजना सहयोगी व्यक्ति थिए। उनले मस्को पुगेमा नेपाल पुर्‍याइदिने आश्वासन दिएका थिए। उनैसँग पैसा मागेर ट्याक्सीमा करिब ९ घण्टाको यात्रामा उनीहरू मस्को पुगे।

‘मस्कोमा होटलमा बसियो। परिवारसँग कुरा गरेर पैसा मागेर २ लाख ५० हजार रुपैयाँ ती व्यक्तिलाई दिए’, सिजन भन्छन्, ‘टिकट सबै उसैले काटिदियो। त्यसपछि मस्को हुँदै दिल्ली भएर घर पुगे। भाग्यले जोगिएर दोस्रो जीवन नै पाएको मानेको छु।’

उनीसँगै भागेर मस्कोबाट दिल्लीको टिकट काटिएका अन्य दुई नेपाली भने फेरि बाटोमै छुटे। उनीहरूको अवस्था अहिले अज्ञात छ। भदौ १ गते रुस पुग्दा सँगै रहेका १० जना भने विदेशीभूमिमै ढले। उनीहरूमध्ये एक्ला सिजन मात्रै युद्धभूमिबाट जोगिएर घर फिर्ती भएका हुन्।

‘युद्धको केही डर थिएन। केहीलाई मारेर आफू पनि मरौँला भन्ने थियो। बाँच्ने आश नै थिएन’, उनी भन्छन्, ‘तर त्यहाँ युद्धले भन्दा पनि भोक र त्रासले मरिन्छ। त्यहाँ पुगेका नेपालीहरू परिवारको बारेमा सोचेर डिप्रेसनमा छन्।’

सिजनका अनुसार रसियन कमान्डरलाई सोध्दा सुरुमा ७ हजार ६ सय जना नेपाली रुसी सेनामा थिए। केही दिनअगाडि मात्रै कमान्डरलाई सोध्दा भने १ हजार ७ सय मात्रै नेपाली रहेको भने। 

तीमध्ये कोही भागेर अन्य देश गए। कोही बन्धक बनाइए। कोही घर फर्किए। कोही युद्धभूमिमै ढले त कोही अझै ज्यान बाजी थापेर युद्ध लडिरहेका छन्।

नेपाल सरकारसँग रुसी सेनामा भर्ती भएका र मृतक तथा अंगभंग भएका आफ्ना नागरिकहरूको एकिन तथ्यांक छैन। युद्धग्रस्त देशको सेनामा भर्ती हुनु गैरकानुनी हो। 

स्वदेशमा रोजगारी नपाएपछि नेपाली युवाहरू आर्थिक प्रलोभनमा परेर ज्यान धरापमा राखेर विदेशी भूमिमा लडाइँ लडिरहेका छन्। 

सिजनका बुवा नरेन्द्र बहादुरले नेपालमा दसवर्षे सशस्त्र युद्ध लडे। उनकै सन्तान अहिले स्वदेशमा रोजगारी नपाएर विदेशमा गएर अर्काको भूमिको खातिर ज्यानको बाजी लगाउने पर्ने दयनीय अवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .