सुदूरपश्चिम


थारु बस्तीमा दसैँको बेग्लै रौनक, घर लिपपोत अनिवार्य (१० तस्बिर)

थारु बस्तीमा दसैँको बेग्लै रौनक, घर लिपपोत अनिवार्य (१० तस्बिर)

गोकुल जोशी
असोज २५, २०८१ शुक्रबार ११:२, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीको थारु बस्तीमा दसैँको बेग्लै चहलपहल छ।

लहरै टायलले छाएका घर लिपपोत गरेर चिटिक्क पारिएका छन्। आँगन सरसफाइ गरिएको छ। पाहुनाका लागि ‘रक्सी’ र पूजाआजाका गर्न ‘ढिक्री’ पनि तयार भइसक्यो। सखिया नृत्यका लागि परम्परागत थारु पहिरन सिउने काम सकिएको छ। 

दसैँका लागि एक साताअघि नै घर लिपपोत गर्ने गरिएको अनु डगौँराले बताइन्। नदी, तलाउबाट माटो ल्याएर दसैँको टीकाअघि घर लिपपोत गरिसक्नुपर्ने परम्परा रहेको उनले बताइन्। 

‘घर लिपपोत तथा सरसफाइ अनिवार्य गर्नुपर्छ। नगरे देउता रिसाउँछन्’, उनले भनिन्, ‘लिपपोत नगरेर कस्तो अल्छी गरेको। जाँगर नै नभएको मान्छे भन्छन्।’

उनका अनुसार घर लिपपोत नगरे दसैँ आएजस्तै लाग्दैन। टाढा रहेकाहरूको घर पनि छिमेकीले लिपपोत गरेर टिलिक्क पार्ने गर्छन्। 

नीमबहादुर डगौँराका जेठा छोरा प्रेम तीन वर्षदेखि भारतको मुम्बइमा छन्। प्रेमकी श्रीमती पनि सँगै छिन्। छोरा पनि प्रेमलाई काममा सघाउँछन्। पिपलाडीमा प्रेमको घरमा ताला लागेको छ।

नीमबहादुरले तीन वर्षदेखि लगातार छोराको घर लिपपोत गर्न छुटाएका छैनन्। ‘दसैँमा प्रत्येक वर्ष घर लिपपोत गर्नुपर्ने चलन छ। घर लिपपोत गरेर देउताको पूजा गर्ने गरिन्छ’, नीमबहादुरले भने, ‘सुनवरा नदी, तलाउभित्र बाट माटो ल्याउँछौँ।’

दसैँको उल्लासले थारु बस्तीमा सखिया नाच भइरहेको छ। थारु समुदायका स्थानीय परम्परागत पहिरनमा सझिएका हुन्छन्।

सखियामा पुरुषले मादल बजाउँने र महिलाले नाचेर रमाइलो गर्ने गरिन्छ। मादल बजाउने पुरुषलाई ‘मदरिया’ र नाच्ने महिलालाई ‘नचनिया’ भन्ने गरिन्छ।

ससाना बालबालिका, युवादेखि वृद्धसम्म सखियामा झुमेका छन्। खिसिया डगौँराका अनुसार थारु समुदायमा घटस्थापनाको दिन मकैको जमरा राख्ने गरिन्छ।

त्यसपछिका दिनमा देउता पुज्ने तथा श्राद्ध गर्ने गरिएको डगौँराले सुनाइन्। सप्तमीमा ढिक्री बनाउने तयारी गरिन्छ। ढिक्री चामलको पिठोबाट बनाइन्छ। सप्तमीकै राति पिठो कुट्ने र भोलिपल्ट ढिक्री बनाउने गरिएको उनको भनाइ छ।

नवमीको बिहान मुर्गा (कुखुरा) काट्ने र श्राद्ध पनि गर्ने गरिन्छ। दसैँको दिन ठूलाबडाका हातबाट टीका लगाउने र सखिया नाचमा नाचगान गरेर रमाइलो गरेर दसैँ मनाइने गरेको खिसिया बताउँछिन्। 

हेर्नुहोस् उक्त थारु बस्तीका १० तस्बिर-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad