सुदूरपश्चिम


देउवाको गृहप्रदेशमा कांग्रेसलाई विरासत जोगाउने चुनौती, त्रिपक्षीय भिडन्त

देउवाको गृहप्रदेशमा कांग्रेसलाई विरासत जोगाउने चुनौती, त्रिपक्षीय भिडन्त

गोकुल जोशी
मंसिर १३, २०८१ बिहिबार २१:२९, कञ्चनपुर

सुदूरपश्चिमका ५ स्थानमा मंसिर १६ गते स्थानीय तह उपचुनाव हुँदैछ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका, बझाङको सुर्मा गाउँपालिका–४, दार्चुलाको दुहुँ गाउँपालिका–५, डोटीको पूर्वीचौकी गाउँपालिका–६ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा उपचुनाव हुन लागेको हो।

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भइन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा नेपाली कांग्रेसलाई विरासत जोगाउनु पर्ने चुनौति छ।

उपचुनावअन्तर्गत मतदान हुन बाँकी ५ स्थानीय तहमध्ये ३ स्थान नेपाली कांग्रेसले ०७९ को स्थानीय तह चुनावमा जितेका ठाउँ हुन्।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष, डोटीको पूर्वीचौकी गाउँपालिका–६ को अध्यक्ष र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षमा नेपाली कांग्रेस ०७९ को चुनावमा जितेको थियो।

यी बाहेक उपचुनाव हुन लागेको दार्चुलाको दुहँ गाउँपालिका–५ मा माओवादी र बझाङको सुर्मा गाउँपालिका–४ एमाले निर्वाचित भएको थियो।

कांग्रेसलाई जितेका स्थान विजयीलाई निरन्तरता दिँदै अन्य स्थानमा पनि जित निकाल्नु पर्ने दबाब छ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षको उपचुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गाउँ कमिटीले चुनावी तालमेल गरेका छन्।

तर नेकपा माओवादी केन्द्रको प्रदेश कमिटीले एमालेसँग चुनावी तालमेललाई अस्वीकार गर्दै एकीकृत समाजवादीलाई मत हाल्न कार्यकर्तालाई निर्देशन दिएको छ।

नेकपा माओवादी केन्द्रको गाउँ कमिटीले उपाध्यक्षमा उम्मेदवारी दिएकी राजुकुमारी विकलाई फिर्ता गर्दै ०८४ को चुनावमा समेत तालमेल गर्ने गरी उपचुनावमा गठबन्धन गरेको थियो। जसको नेतृत्वमा नेकपा माओवादी केन्द्रका बाजुरा सचिव रमेश विकले गरेका थिए।

अध्यक्ष देवीचन्द्र बुढा यसको विरोधमा उत्रिए। माओवादीको प्रदेश कमिटीले पनि गाउँ कमिटीको गठबन्धन गर्ने निर्णयलाई अस्वीकार गर्दै बिहीबार एकीकृत समाजवादीकी उम्मेदवारलाई मत हाल्न निर्देशन जारी गरेको हो।

पार्टीबाट दुईथरी निर्देशन आएपछि माओवादी कार्यकर्ता अन्योलमा छन्। स्वामीकार्तिक खापरमा नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा, नेपाली कांग्रेसबाट पुतलीसरा शाही र नेकपा एकीकृत समाजवादीकी जवा शाही उम्मेदवार छिन्।

माओवादीसँग चुनावी तालमेलपछि एमाले फुटको असर सन्तुलित गर्ने र ०७९ को हारको बदला लिँदै जित निकाल्ने दाउमा एमाले छ।

‘०७९ को चुनावमा कम्युनिष्ट तिन तिर हुँदा एमाले केही कमजोर हुनपुग्यो। माओवादीको २/३ सय मत छ। स्थानीय तहको उपचुनावमा यसले ठूलो महत्व राख्छ,’ एमाले बाजुराका अध्यक्ष लालबहादुर वलीले भने, ‘०४८ सालदेखि एमाले बलियो नै हो। गठबन्धन भएपछि हाम्रो जित सुनिश्चित छ।’

नेपाली कांग्रेस आफ्नो मत सुरक्षित राख्दै माओवादी केन्द्रको असन्तुष्ट मत तानेर जित निकाल्ने रणनीतिमा छ।

०७९ को स्थानीय तह चुनावमा उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मैना जोशीको ०८० माघ ३ मा निधन भएपछि उपचुनाव हुन लागेको हो।

०७९ को उपचुनावमा स्वामीकार्तिक खापर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो। नेपाली कांग्रेस र नेकपा एमाले एक्ला एक्लै चुनाव लडेका थिए।

स्वामीकार्तिक खापरको अध्यक्षमा नेपाली कांग्रेसका भरतबहादुर रोकाया २ हजार ११ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चतरभुज शाहीले १ हजार ७ सय ५७ मत ल्याएका थिए।

नेकपा एकीकृत समाजावादीका चिरञ्जीवी शाहीले १ हजार २ सय ८२ मत ल्याएका थिए। उपाध्यक्षमा कांग्रेसकी मैनाले १ हजार ८ सय १० मत ल्याउँदा उनकी प्रतिस्पर्धी एमालेकी सुलोचना भण्डारी बुढाले १ हजार ६ सय ३७, माओवादीका सुरेश बहादुर रोकायाले १ हजार २ सय १३ मत ल्याएका थिए।

स्वामीकार्तिक खापरका ५ वटा वडामध्ये एक माओवादी, एक एमालेले जितेको थियो। अन्य ३ वडा कांग्रेसले जितेको थियो।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षका लागि १२ जना उम्मेदवार चुनावी मैदानमा छन्। नेपाली कांग्रेस र नेकपा एमालेलाई राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत साना दल र स्वतन्त्र उम्मेदवार मत काट्ने डर छ।

०७९ को स्थानीय तह चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महेन्द्र खड्काको निधन भएपछि रिक्त भीमदत्त ६ मा मंसिर १६ गते उपचुनाव हुन लागेको हो।

नेपाली कांग्रेसबाट प्रकाश चन्द वडाध्यक्षको उम्मेदवार छन्। नेपाली कांग्रेस जित कायम राख्नु पर्ने दबाबमा छ।

‘वडा र नगरपालिकामा बहुमत हाम्रो छ। कांग्रेसले जिते नगरपालिकाबाट बजेट सुनिश्चित हुने र विकास निर्माणको काम गर्न सक्ने सकरात्मक सन्देश जनतामा गएको छ,’ प्रचारप्रसार संयोजक कृष्ण कुँवर भन्छन्।

मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा एमालेबाट एकै परिवारका सदस्य उम्मेदवार बनेपछि यहाँको उपचुनाव झनै रोचक छ। नेकपा एमालेका उम्मेदवार बहादुर चन्द कांग्रेस उम्मेदवार प्रकाशका काका हुन्।

लामो समय शिक्षण पेशामा संलग्न बहादुरलाई एमालेले वडाध्यक्षको उम्मेदवार बनाएको छ। भीमदत्त नगरपालिका–६ को शान्ति निकेतन माध्यमिक विद्यालयमा लामो समय चन्दले अध्यापन गराएका थिए।

शिक्षण पेशामार्फत समाजमा परिचित उम्मेदवार भएकाले जित निकालेर अघिल्लो चुनावको बदला लिने दाउमा एमाले छ।

‘बहादुर सरले पढाएका विद्यार्थीका तीन पुस्ता अहिले मतदाता छन्। प्रधानाध्यापक रहेका बेला गरेको योगदानको समाजले राम्रोसँग मूल्याङ्कन गरेको छ,’ एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले भने, ‘एमाले पार्टी संरचना र हाम्रो उम्मेदवारको स्वच्छ छवि जित्ने आधार हो।’

०७४ को चुनावमा नेकपा एमालेका हरकसिंह धामी वडाध्यक्षमा निर्वाचित भएका थिए। पछि उनी एमाले विभाजनमा नेकपा एकीकृत समाजवादीतिर लागेका थिए।

भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीले जितेन्द्र बहादुर चन्दलाई उम्मेदवार बनाएर मत मागिरहेको छ। जितेन्द्र एमाले उम्मेदवार बहादुरका नाति नाता पर्छन्।

त्रिपक्षीय भिडन्त हुने सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री तथा एकीकृत समाजवादीका नेता प्रकाश रावलको विश्लेषण छ। ‘हाम्रो पनि माहोल राम्रो बन्दै गएको छ। कांग्रेस र एमालेसँग प्रतिस्पर्धा हुन्छ,’ उनले भने।

०७९ को चुनावमा एकीकृत समाजवादीले नेकपा एकीकृत समाजवादीका जितेन्द्र बहादुर चन्द २ सय ३२ मत पाएका थिए।

नेकपा माओवादी केन्दबाट नानाराम कोलीलाई उम्मेदवार छन्। राप्रपाका सुशिल कुमार भट्ट उम्मेदवार छन्। उनी यसअघि ०७९ को चुनावमा पनि उम्मेदवार थिए। त्यसबेला उनले ४ सय ८७ मत ल्याएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्ट, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौँरा, राप्रपा नेपालका दिलबहादुर धामी, जनमत पार्टीका यादव बहादुर चन्द, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहरा, स्वतन्त्र युवराज चन्द र थानेश्वर लेखकले वडाध्यक्षमा उम्मेदवार छन्।

भीमदत्त नगरपालिका–६ मा ५ हजार ४ सय ३४ मतदाता छन्। ०७९ को चुनावमा कांग्रेसले वडाध्यक्षमा १ हजार १ सय २ मत ल्याएको थियो। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जनकराज अवस्थीले ६ सय ९८ मत ल्याएका थिए।

बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षमा तीन उम्मेदवार चुनावी मैदानमा छन्। नेपाली कांग्रेसका धिरेन्द्र पुजारा, नेकपा एमालेका लखीचन्द्र बोहरा र नेकपा माओवादी केन्द्रका पुष्करबहादुर बोहरा उम्मेदवार छन्।

यद्यपी नेकपा एमाले र नेपाली कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। सुर्मा गाउँपालिका–४ मा एमालेबाट निर्वाचित सर्जन बहादुर बोहरको ३८ वर्षको उमेरमा ०८० जेठ २४ गते निधन भएको थियो। ६ सय २९ मत ल्याएका उनीसँग पराजित कांग्रेसका लोकबहादुर बोहराले ६ सय ४ मत ल्याएका थिए।

दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्षका लागि ४ जना उम्मेदवार चुनावी मैदानमा छन्। यहाँ नेकपा माओवादी केन्द्रलाई ०७९ को जित जोगाउनु पर्ने चुनौती छ।

नेपाली कांग्रेसका धनसिंह कुँवर, नेकपा एमालेका मानसिंह बडाल, नेकपा माओवादी केन्द्रका विरसिंह कार्की र स्वतन्त्र लालबहादुर कुँवर उम्मेदवार छन्।

०७९ मा माओवादीबाट निर्वाचित अध्यक्ष मनोरथ भट्टको ०८० असार ११ मा निधन भयो। रिक्त वडाध्यक्ष पदमा उपचुनाव हुन लागेको हो। भट्टले ५ सय ८२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका मानसिंह बडालले ३ सय २ मत ल्याएका थिए।

डोटीको पूर्वीचौकी गाउँपालिका–६ को अध्यक्षको नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको त्रिपक्षीय भिडन्तमा रास्वपा पनि मिसिएपछि रोचक बनेको छ।

नेपाली कांग्रेसका मोहन थापा, नेकपा माओवादी केन्द्रका देवीलाल थापा, नेकपा एमालेका देवीबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीकी जानकी कुमारी खड्का कुँवर वडाध्यक्षका उम्मेदवार छन्।

०७९ मा कांग्रेसबाट निर्वाचित पुर्वीचौकी गाउँपालिका–६ का अध्यक्ष पुष्पराज जोशीको निधन भएपछि उपचुनाव हुन लागेको हो। यसअघिको चुनावमा जोशी ५ सय १३ मतले विजयी भएका थिए। उनका प्रतिस्पर्धी एमालेका देवबहादुर भण्डारीले ३८७ मत ल्याएका थिए।

अहिले पहिलो पटक स्थानीय तहको चुनावमा भाग लिएको रास्वपाले पनि मुख्य दलका केही मत काट्ने र त्यसकै आधारमा जित÷हार हुनसक्ने विश्लेषण छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad