भीमदत्त नगरपालिका-६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवरा प्रकाश चन्द विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार चन्द १ हजार १ सय ७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बहादुर चन्दले ४ सय ८७ मत ल्याए। पराजित बहादुर प्रकाशका सहोदर काका हुन्।
अर्थात् प्रकाश आफ्नै काकालाई हराउँदै अध्यक्ष बनेका हुन्।
भीमदत्त-६ मा राप्रपाका सुशीलकुमार भट्टले ३ सय ६९, नेकपा एकीकृत समाजवादीका जितेन्द्र चन्दले २ सय २५ र रास्वपाका रामदत्त भट्टले २ सय १८ मत ल्याए।
भीमदत्त-६ को अध्यक्षमा निर्वाचित प्रकाश नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसको मूल राजनीतिमा प्रवेश गरे। उनी अहिले नेपाली कांग्रेस भीमदत्त नगरपालिका-६ का वडा सभापति छन्।
२०५९ सालमा उनी नेपाल विद्यार्थी संघको सिद्धनाथ बहुमुखी क्याम्पस एकाइ सभापति बने। त्यसपछि नेविसंघको जिल्ला सदस्य, सचिव हुँदै कांग्रेसको भीमदत्त नगर कार्यसमितिमा उनी प्रवेश गरे।
कांग्रेसको नगर कार्यसमिति सदस्य, वडा कार्यसमिति सचिव हुँदै प्रकाश अहिले वडा सभापति छन्। २०६४ सालमा सिद्धनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा प्रतिस्पर्धा गरेका उनी पराजित भए।
प्रकाशले कक्षा ८ सम्मको अध्ययन शान्ति निकेतन माध्यमिक विद्यालयबाट गरे। त्यसपछि बैजनाथ उच्च माध्यमिक विद्यालयबाट २०५८ सालमा उनले एसएलसी उत्तीर्ण गरेका थिए। उनले कुमाउ विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका छन्।
Shares

प्रतिक्रिया