सुदूरपश्चिम


अघि बढेन बाढीले भत्काएको बाँध निर्माण, महाकाली पुलमा आवागमन रोक्दै निर्माण कम्पनी

‘भेरिएसन’ नहुँदा आयोजना ठप्प
अघि बढेन बाढीले भत्काएको बाँध निर्माण, महाकाली पुलमा आवागमन रोक्दै निर्माण कम्पनी

गोकुल जोशी
पुस १८, २०८१ बिहिबार १९:५१, कञ्चनपुर

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल तथा पहुँच मार्ग निर्माणको काम रोकिएको छ। ‘भेरिएसन’ नहुँदा पुल आयोजनाको काम अघि बढ्न सकेको छैन।

गत भदौमा आएको बाढीले महाकाली पुल आयोजनाअन्तर्गत निर्माण भएको पोखरीको गाइडबन्ड (बाँध) बगाएको थियो। भीमदत्त नगरपालिकातर्फ भत्काएको गाइडबन्ड अझै पुनर्निर्माणको काम अघि बढेको छैन।

तेस्रो पटक डिजाइन संशोधन गरेर पोखरीको गाइडबन्ड निर्माण गरिएको थियो। सुरुमा गाइडबन्डमा ठूलो ढुंगा प्रयोग गर्ने गरेर डिजाइन तयार पारिएको थियो। तर ठूलो ढुंगा नपाएपछि डिजाइन फेरियो।

ग्राभेल र कंक्रिटको गाइडबन्ड बनाउने गरी डिजाइन गत चैत्र ९ गते नै स्वीकृत भएको थियो। डिजाइन स्वीकृत भएपछि ‘भेरिएसन’ हुने आशामा निर्माण कम्पनीले पोखरीको गाइडबन्डको काम गर्‍यो। तर पोखरीको गाइडबन्डको भेरिएसनमा ढिलाई भइरहेको छ।

भेरिएसन नहुँदा बिमा पनि नहुने र क्षतिपूर्ति पनि नपाइने हुनाले अहिले तत्काल निर्माणको काम गर्न नसकिने पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयले बताए।

‘काम गर्ने समय घर्कि‌ंदै गएको छ। बर्खा अगावै गाइडबन्ड बनाइसक्नुपर्ने हो। नभए बाढीले आयोजनालाई ठूलो क्षति गर्ने र बस्ती पस्ने खतरा छ,’ उनले भने, ‘तर भेरिएसन गरिएको छैन। न अर्को डिजाइन नै दिइएको छ।’

गत भदौमा आएको बाढीले आयोजनाको गाइडबन्ड बगाउँदा ९ करोडको क्षति पुगेको उनको भनाइ छ। महाकाली पुलको दोधारा चाँदनी र भीमदत्त नगरपालिका दुवैतर्फ ६ सय मिटर चौडा र २८ सय मिटर लम्बाइको ४ वटा पोखरी निर्माण गरिएको छ।

भेरिएसन नगरिएपछि निर्माण कम्पनीले दबाब दिन महाकाली पुलमा आवागमन बन्द गरेको छ। बुधबार पुलको दुवैतर्फ खनेर पुलको एकतर्फी लेन भएर हुने आवागमन बन्द गरेको हो।

वि.सं. २०७४ सालमा निर्माण सुरु भएको पुल आयोजनाको ५ पटक म्याद थप गरिएको छ। गत कार्तिकमा सकिएको म्याद फेरि थपका लागि प्रक्रिया जारी रहेको आयोजनाले जनाएको छ।

आयोजनाको निर्माणको काम अन्तिम चरणमा छ। पक्की पुल निर्माणको काम गत वर्ष नै सकिएको थियो। तर त्यसअघि नै केही वर्षदेखि दोधारा चाँदनी झोलुङ्गे पुलको विकल्पमा पक्की पुल भएर ओहोरदोहोर गरिँदै आएको छ।

निर्माण गर्नु पर्ने ८ किलोमिटर पहुँचमार्गमध्ये गड्डाचौकीमा २ सय मिटर मात्रै बाँकी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad