नेकपा एमाले अछामको ९औँ जिल्ला अधिवेशन वैशाख १३ देखि १५ गतेसम्म हुँदैछ। विशेष परिस्थित भन्दै एक वर्षदेखि रोकिएको अधिवेशनको मिति तोकिएपछि माहोल तातेको छ।
नेता डा. भीमबहादुर रावललाई एमालेबाट निकालेपछि पहिलो पटक उनको गृहजिल्लामा अधिवेशन हुन लागेको हो।
अधिवेशनको तयारी तीब्र पारिएको एमाले अछामका अध्यक्ष चन्द्रबहादुर बोहराले बताए।
आयोजकका अनुसार १० वटै स्थानीय तहबाट प्रतिनिधि छनौट गर्ने काम सकिएको छ। जिल्ला अधिवेशनका लागि साढे ४ सयको हाराहारीमा प्रतिनिधि छनौट हुने छन्।
अधिवेशन उद्घाटनका लागि अध्यक्ष एंवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको छ। तर उनी आउने सम्भावना न्यून छ।
एमालेले २०८१ पुस १० गते भीम रावललाई पार्टीको साधारण सदस्यबाट समेत हटाएको थियो। त्यसपछि उनी मातृभूमि जागरण अभियान घोषणा गरेर सक्रिय छन्।
एमाले अछामका थुप्रै नेता पार्टी छोडेर रावलको अभियानमा समाहित भइरहेका छन्। एमालेमा जिल्ला अधिवेशनको तयारी चलिरहँदा रावलको अभियानमा केहीदिन पहिले एकजना प्रदेशस्तरका नेता र २ जना जिल्ला कमिटी सदस्यसहित ७१ जना समाहित भए।
एमाले छाड्नेहरूमा एमाले सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालागिरी कुँवर, जिल्ला कमिटी सदस्यहरूमा झंकर कुवँर र नृप सुनार लगायत छन्।
रावलमाथिको कारबाहीको सबैभन्दा धेरै असर अछाममै देखिएको छ। तर एमाले अछाम भने अधिवेशनले पार्टीको पक्षमा माहोल बन्दै गएको दाबी गर्दै आएको छ।
रावलमाथिको कारबाहीपछि अधिवेशनमा नाराजुलुस, विरोध हुनसक्ने भएकाले विशेष परिस्थिति भन्दै अधिवेशन धकेलिँदै आएको थियो। आसन्न अधिवेशनबाट एमाले अछामको नेतृत्वमा पुग्न आधा दर्जन बढी नेताले आकांक्षा देखाएका छन्।
हालका अध्यक्ष चन्द्रबहादुर बोहरा पनि फेरि अध्यक्षमा दोहोरिने इच्छा देखाएका छन्। एमालेको पालिका, जिल्ला र प्रदेशका विभिन्न कमिटीमा काम गरेका डिबी साउदले पनि अध्यक्षमा दाबी गरेका छन्।
यस्तै जिल्ला सचिव भीम रावल (कालोटोपी) लाई पनि अध्यक्षको प्रबल दाबेदार मानिएको छ। प्रदेश कमिटी सदस्य शिवप्रसाद उपाध्याय, बमबहादुर बिसी, हिरण्ड भट्टराई र जिल्ला कमिटी सदस्य तिलक कुँवर पनि अध्यक्षका आकांक्षी हुन्।
‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्छौं। सहमति नजुटे लोकतान्त्रिक प्रक्रियामा जान्छौँ,’ एमाले अछामका अध्यक्ष बोहरा भन्छन्।
अध्यक्षमा आकांक्षी धेरै हुँदा सहमति जुटाउन सकस पर्ने निश्चित छ।
रावललाई एमालेबाट निकालेपछि उनको गृहजिल्लामा पहिलो पटक हुन लागेको अधिवेशनलाई निकै चासोका साथ पनि हेरिएको छ।
०००
Shares

प्रतिक्रिया