कैलालीमा प्रहरी नियन्त्रणमा रहेकी एक महिला हतकडीसहित भागेकी छन्।
मानव बेचबिखन कसुरमा म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्याएका बेला अभियुक्त ५० वर्षीया मिना शाही दमाई हतकडीसहित भागेका हुन्।
आइतबार दिउँसो साढे तीन बजे हतकडीसहित अभियुक्त भागेको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय टीकापुर डीएसपी नविन बुढाथोकीले बताए।
अभियुक्त शाहीलाई इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दा चलाएको थियो। वैशाख ४ गते पक्राउ परेकी उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिइन्।
अनुसन्धान गर्न पहिलोपटक ५ गते १० दिनको म्याद थप गरिएको थियो। दोस्रो पटक म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्याइएकी मिना फरार भएकी हुन्। उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग छ।
315
Shares

प्रतिक्रिया